बर्लिन- युक्रेनमा जारी युद्ध अन्त्यका लागि युरोपेली नेताहरूले रुससँग वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन् । उनीहरूले युक्रेनको समर्थनमा एकजुट रहेको प्रतिबद्धता दोहोर्याएका छन् ।
बर्लिनमा आयोजित युक्रेनका सहयोगी राष्ट्रहरूको सम्मेलन ‘कोएलिसन अफ द विलिङ’मा सहभागी युरोपेली नेताहरूले युद्ध अन्त्यका लागि वार्ताको आवश्यकता औँल्याएका हुन् ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले रुससँगको वार्ताका विषयमा युरोपको धारणा स्पष्ट र एकताबद्ध रहेको बताए। जर्मनीका चान्सलर फ्रिड्रिख मर्त्जले भने रुसले अघि सारेका अधिकांश माग व्यावहारिक नरहेको टिप्पणी गरे।
सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि सहभागी थिए। उनी अमेरिकाका दुई विशेष दूतमध्ये एकका रूपमा सम्मेलनमा उपस्थित भएका हुन् ।
कुशनरले राष्ट्रपति ट्रम्प युरोपलाई समेत सहभागी गराएर रुससँग शान्ति सम्झौता गर्न चाहेको बताए ।
यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको नेतृत्वमा भइरहेको शान्ति वार्तामा युरोपको भूमिकालाई अहिलेसम्म अस्वीकार गर्दै आएका छन्।
बर्लिन सम्मेलनलाई युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक पहल अघि बढाउने तथा युक्रेनलाई सहयोग गर्ने राष्ट्रहरूबीच साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।













प्रतिक्रिया