जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालनको विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।
जनकपुरधाममा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका जनकपुरधाम र अयोध्याबीच हवाई सेवा सञ्चालन गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।
उनका अनुसार हवाई सेवा सञ्चालनले नेपाल र भारतका नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै दुवै धार्मिक सहरमा आउने पर्यटकको आवागमन सहज हुनेछ ।
नेता निधिले जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने पहललाई पनि सकारात्मक कदमका रूपमा लिएका छन् । उनले उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले भ्रमणको सफलताको शुभकामनासमेत व्यक्त गरे।














प्रतिक्रिया