काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । यो रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको भिडन्तका रूपमा हेरिएको छ ।
सुदूरपश्चिम लगातार तेस्रो सिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले लुम्बिनीसँगको उपाधि भेट पक्का गरेको हो । उता लुम्बिनी भने मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै सिधै फाइनलमा पुगेको हो ।
सुदूरपश्चिम पहिलो एनपीएल उपाधिको खोजीमा मैदान उत्रँदैछ । यसअघि टोली पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । शनिबारको खेल सुदूरपश्चिमका लागि गत सिजनको फाइनल र यसै सिजनको पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिने अवसरसमेत हुनेछ । अर्कोतर्फ, लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहनेछ ।
दोस्रो क्वालिफायरमा चितवनले दिएको १ सय ३४ रनको लक्ष्य सुदूरपश्चिमले थारिन्दु रथ्नायकेको अविजित ५३ रनको मद्दतमा १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम दुई बलमा जितका लागि २ रन आवश्यक रहँदा रथ्नायकेले विजयी चौका प्रहार गरेका थिए । त्यसअघि इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
कात्तिक ३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलसँगै एनपीएल २०२६ को समापन हुनेछ ।
अलराउन्ड प्रदर्शनमा चम्किएका रोहित र दीपेन्द्र
एनपीएलका तीनवटै सिजनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पौडेल र पूर्वउपकप्तान एवम् अहिलेका टी–२० कप्तान दीपेन्द्रसिंह ऐरीले आ–आफ्नो फ्रेन्चाइज टोलीको नेतृत्व गर्दै उत्कृष्ट अलराउन्ड प्रदर्शनको छाप छोडेका छन् । लुम्बिनी लायन्सका मार्की तथा कप्तान रोहित र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र दुवैले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा निर्णायक भूमिका निर्वाह गरेका छन् ।
पहिलो सिजनमा लुम्बिनी लिग चरणबाटै बाहिरिए पनि रोहितले व्यक्तिगत रूपमा सानदार ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचीमा अग्रस्थान ओगटेका थिए ।
दोस्रो सिजनमा भने रोहितले आफ्नो अलराउन्ड क्षमतालाई निखार्दै ब्याटिङसँगै स्पिन बलिङमा समेत महत्त्वपूर्ण विकेट लिएर लुम्बिनीलाई उपाधि दिलाउन कप्तानी इनिङ्स खेले । जारी तेस्रो सिजनमा पनि रोहितको लय निरन्तर छ । मध्यक्रममा टोलीको इनिङ्स सम्हाल्नुका साथै दबाबको क्षणमा बलिङ र चुस्त फिल्डिङमार्फत उनले लुम्बिनीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्याएका छन् ।
उता, सुदूरपश्चिम रोयल्सलाई लगातार तीन सिजन फाइनल पुर्याउन कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन मेरुदण्ड बनेको छ । पहिलो सिजनमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका दीपेन्द्रले आक्रामक ब्याटिङ, किफायती स्पिन बलिङ र अद्भुत फिल्डिङको नमुना पेस गरेका थिए ।
दोस्रो सिजनमा पनि उनले तल्लो मध्यक्रममा फिनिसरको भूमिका निभाउनुका साथै महत्त्वपूर्ण साझेदारी तोड्न बलिङमा मुख्य हतियार साबित भएका छन् । तेस्रो सिजनमा भने दीपेन्द्रले आफ्नो अनुभवको भरपूर उपयोग गर्दै कठिन परिस्थितिमा संयमित ब्याटिङ र कसिलो बलिङ गरिरहेका छन् । विशेषगरी फिल्डिङमा उनका सिधा थ्रो र उत्कृष्ट क्याचहरूले विपक्षी टोलीलाई सधैँ दबाबमा राख्ने गरेको छ ।
शनिबार हुने तेस्रो सिजनको फाइनलमा यी दुई दिग्गज कप्तान आमनेसामने हुँदा उनीहरूको अलराउन्ड प्रदर्शन नै उपाधि छिनोफानोको मुख्य आधार बन्ने निश्चित छ ।














प्रतिक्रिया