राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता « Khabarhub

राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता



काठमाडौं । पहिले–पहिले राजनीतिमा जेलनेल खाएको व्यक्ति प्राथमिकतामा पर्थ्यो । विभिन्न आन्दोलन र विद्रोहमा सहभागी व्यक्तिलाई राजनीतिज्ञको रुपमा हेरिन्थ्यो । तर, २०७२ पछि संशोधित संविधानले विभिन्न क्षेत्र र समुदायबाट समावेशी हुनुपर्ने सुनिश्चित गर्‍यो । त्यसपछि पनि राजनीतिक योगदान गरेकै र निकटकै व्यक्तिहरु छनौटमा पर्ने अभ्यास कायम रह्यो ।

त्यसपछि भने असन्तुष्ट समूहको जन्म भयो । विभिन्न क्षेत्रबाट राजनीतिमा भित्रिने क्रम जारी रह्यो । दलबिना स्वतन्त्र निर्वाचनमा होमिएर र्‍यापर तथा इन्जिनियर बालेन शाहले काठमाडौंको मेयरमा निर्वाचित भएपछि अन्य क्षेत्रबाट राजनीतिमा आउन प्रेरणा मिल्यो । त्यसैको फलस्वरुप वैकल्पिक पार्टीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भयो ।

जेन–जी आन्दोलनपछि परिस्थिति झनै धेरै परिवर्तन भएको छ । अब राजनीति गर्न कुनै आन्दोलनमा सहभागी हुन वा त्याग गरेकै हुनुपर्छ भन्ने रहेन । अन्तरिम सरकारको मन्त्रिपरिषदमा कर्मचारी, पत्रकार र समाजसेवा क्षेत्रबाट आए । त्यसैगरी, अब फागुनमा हुने निर्वाचनमा आन्दोलनबाट जन्मिएको पात्रभन्दा धेरै अन्य क्षेत्रका व्यक्तिहरु निर्वाचनमा होमिँदैछन् । केहीको हामीले चर्चा गरेका छौँ ।

सुशीला कार्की : पहिलो महिला प्रधानमन्त्री–प्रधान न्यायाधीश

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की २००८ सालमा मोरङको शंखरपुरमा जन्मिएकी हुन् । कार्कीले विराटनगरको महेन्द्र मोरङ कलेजबाट बीए र बनारसको हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । ०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि०३५ मा वकालत सुरु गरेकी हुन् । उनले वकालत थाल्दा विराटनगरमा महिला कानुन व्यवसायी थिएनन् ।

मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी उनी डिल्लीबहादुर कार्कीका पाँच छोरी र दुई छोरामध्ये सबैभन्दा जेठो सन्तान हुन् । कार्कीले तत्कालीन अञ्चल अदालतदेखि पुनरावेदन अदालतसम्मको वकालत गरिन् । वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बनेकी उनी ०६५ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । ०६७ मा न्यायाधीश नियुक्त भइन् ।

त्यसको सात वर्षपछि १ वैशाख ०७३ मा कामु प्रधानन्यायाधीश बनिन् । त्यसको तीन महिनामा प्रधानन्यायाधीश नियुक्त उनले १५ महिना सर्वोच्च अदालतको नेतृत्व गरिन् । तर, उनले सर्वोच्चको नेतृत्वको कार्यकाल पूरा गर्न पाइनन् । पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी उनी फेरि पहिलो महिला प्रधानमन्त्री बनेर अर्को इतिहास रच्न सफल भएकी छिन् ।

बालेन शाह : न पार्टी न नारा, पाए महानगरको अभिभारा

२०४७वैशाखमा काठमाडौंको नरदेवीमा जन्मिएका हुन् । डा. रामनारायण साह र धुव्रादेवी साहका सन्तानका रुपमा जन्मिएका उनको पुर्ख्यौली थलो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो । उनको प्रारम्भिक अध्ययन त्यहीको ‘जल्जला’ स्कूलबाट भएको हो । उच्च माध्यमिक शिक्षा भीएस निकेतनबाट गरेका हुन् । साथै, स्नातक ‘ह्वाइट हाउस’ कलेजबाट गरेका हुन् ।

उनले भारत कर्नाटकबाट स्टकचरल स्नातकोत्तरइन्जिनियरिङ गरेका हुन् । २०७२ मा नेपालमा गएको महाभूकम्पपश्चात् देशको विभिन्न स्थानमा पुनःनिर्माणको काममा संलग्न रहेको उनको दाबी छ। बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका उनी सञ्चालक हुन् । शाह र्‍याप ब्याटल गायक पनि हुन् । नेपाली र्‍याप ब्याटल दोस्रो लिगका विजेता हुन् ।

उनी विगत लामो समयदेखि संगीतको यो विधामा संलग्न रहँदै आएका छन् । काठमाडौंलाई स्वीजरल्यान्ड र सिंगापुर बनाउनु पर्दैन काठमाडौं नै बनाए पुग्छ भन्ने लोकप्रिय नारासहित उदाएका शाह यतिबेला भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दैछन् । काठमाडौं महानगरपालिको मेयरबाट तीन वर्षको अवधिमै छाडेर उनी झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।

ऋषि धमला : पत्रिकाको हकरदेखि चुनावी मैदान

धादिङमा जन्मिएका धमला तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा आबद्ध छन् । सामान्य किसान परिवार जन्मिएका उनी पत्रकारितामा निकै खटिने पात्रका रुपमा चिनिन्छन् । काठमाडौंमा पत्रिका बेच्दै सुरु भएको उनको पत्रकारिता हाल प्राइम टेलिभिजनका सञ्चालक र रिपोर्टस क्लबका अध्यक्ष समेत हुन् ।

राजनीतिक, सामाजिक, मनोरञ्जन हरेक विषयमा उनले अन्तर्वार्ता लिँदै आएका छन् । अन्तर्वाता लिइदै गरेको व्यक्ति र विषयमा जानकारी नलिई वा अध्ययन नगरी प्रश्न सोध्ने उनको बानीले धेरैजसो उनी आलोचनामा पर्छन् । अर्को उनको पाहुनालाई बोल्नै नदिने शैलीको पनि आलोचना हुने गर्छ । तर काम गर्नेले गल्ती गर्ने भन्दै धमलाले आलोचना सहर्ष स्वीकार गर्छन् । पेशाप्रतिको जाँगर र प्रतिवद्धताका लागि धेरैले धमलालाई उदाहरण मान्छन् ।

पत्रकारहरुले धमाधम पेशा छोडेर राजनीतिमा होमिएका बेला उनले पनि यही समयलाई उचित मान्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट चुनाव लड्ने भएका छन् । उनी रौतहट–४ बाट चुनाव लड्न लागेको हुन् । ऋषिपत्नी एलिजा गौतम त्यस पार्टीकी उपाध्यक्ष छिन् । उनी केही समयअघि पार्टी प्रवेश गरेकी थिइन् ।

जगदीश खरेल – हटसीटले दिलाएको सगुन

२०४० सालमा दोलखामा जन्मिएका उनी साढे दुई दशकदेखि सक्रिय पत्रकारितामा थिए । सञ्चारमन्त्री बन्दासम्मको उनको ‘इमेज’ तयार गर्ने पछिल्लो कार्यक्रम थियो–हटसीट । इमेज टेलिभिजनका निवर्तमान प्रधानसम्पादक समेत रहेका उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नेपालको अन्तरिम मन्त्रिपरिषदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बने ।

समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित त्यही टक शो ‘हटसीट’ बाट उठेर उनी सञ्चारमन्त्रीको सीटमा पुगेका हुन् ।उनी टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासक देखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा र कडा र चोटिला प्रश्न गर्थे ।

त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । साथै, उनले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा विद्यावारिधि गरिरहेका छन् । खरेल रास्वपाबाट निर्वाचन लड्ने तयारीमा मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

कुलमान घिसिङ– उज्यालोले डोहोर्‍याएको राजनीति

४७ वर्षकै उमेरमा विद्युत् प्राधिकरणको एमडी बनेका कुलमान उज्यालोका देवताकै रुपमा लोकप्रिय रहे । पेशाले उनी इलेक्ट्रिकल इन्जिनीयर हुन् । अन्तरिम सरकारको उर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालय सम्हाल्दै आएका उनले आगामी प्रतनिधिसभाको चुनाव लड्न पुस २३ गते मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

रामेछाप जिल्लामा जन्मिएका उनी सामान्य किसानका सन्तान हुन् । ५ कक्षासम्म गाउँमै पढेर उनी पछि दाइहरुसँग काठमाडौं आए । उनी पढाइमा सधैं फस्ट हुन्थे । भारतको जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि ०५१ मा स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरमा जागिरे भएका हुन् ।

काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे । कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका छन् ।कुलमान इन्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा एमबीए पनि गरेका छन् ।

डा. महावीर पुन – किताब बेच्दाबेच्दै सेलिब्रटी

२०१२ सालमा म्याग्दी जिल्लाको अर्मला गाउँमा जन्मेका हुन् । उनका पिता ब्रिटिश गोर्खा सैनिक थिए । समाजसेवी, नवप्रवर्तनकर्ता, वैज्ञानिक र शैक्षिक अभियन्ता हुन् । उनले ग्रामीण विकास, सूचना प्रविधि र विज्ञान प्रवर्द्धनमा योगदान दिएका छन् । साथै, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् ।

उनले अमेरिकाको नेब्रास्का युनिभर्सिटिमा स्कलरसिप सहित विज्ञान शिक्षा विषयमा स्नातक गरेका थिए । अमेरिमा अध्ययनकै बसाईमा उनले सन् २००१ मा शैक्षिक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका थिए । विदेशमा उच्च शिक्षा हासिल गरेपछि उनी नेपाल फर्किए र विकट गाउँहरूमा सूचना प्रविधिको माध्यमबाट परिवर्तन ल्याउने अभियान सुरु गरे ।

उनले ‘नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट’ सुरु गरे । यस परियोजनाले हिमाली गाउँहरूमा इन्टरनेट सेवाको पहुँच पुर्‍यायो । महावीरलाई ‘ग्लोबल कनेक्टर’ पनि भन्ने गरिन्छ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएका उनी पनि राजीनामा दिएर चुनावको तयारीमा जुटेका छन् ।

बब्लु गुप्ता – जेन-जी मन्त्रीको उपाधि

अन्तरिम सरकारका सबैभन्दा कान्छा मन्त्री हुन् । उनी २६ वर्षको उमेरमा युवा तथा खेलकुद मन्त्री बने । सिरहाको लाहान घर भएका गुप्ता परोपकारी संस्था ‘हन्ड्रेड्स ग्रुप’का संस्थापक हुन् । उक्त संस्थाले प्रयोगमा आइसकेका कपडाहरू संकलन गर्ने र असहाय, दिन–दुःखीहरूलाई वितरण गर्दै आएको छ।कपडा बैंक र किताब बैंकको अवधारणा उनैले ल्याएका हुन् ।

सुरूमा उनले काठमाडौंको अनामनगरबाट सुरू गरेका थिए। उनले हाल काठमाडौंमा १११ जना विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा, आवास र भोजनको सुविधा प्रदान गरिरहेका छन् । बाढी–पहिरोजन्य प्रकोप र विपत्तिमा परेकाहरूका लागि यो सेवा निकै प्रभावकारी बनेको थियो । पछि यो सेवा कर्णाली प्रदेश लगायत अन्यत्र पनि विस्तारित भएको थियो ।

रिमा विश्वकर्मा – रिलदेखि रियलको भोक

२०४५ सालमा बर्दियाको गुलरियामा जन्मिएकी रिमाको ग्ल्यामर यात्रा सानै उमेरमा सुरु भएको हो । सात कक्षामा पढ्दादेखि नै टेलिशृंखला ‘जाँदाजाँदै’ सञ्चालन गरेकी उनी नेपाल आइडल र कमेडी च्याम्पियनजस्ता चर्चित रियालिटी शोकी प्रस्तोता बनेपछि घर–घरमा चिनिइन् । सुन्दर प्रस्तुति, आत्मविश्वासी शैली र स्पष्ट बोलीका कारण उनले फ्यान बेस बढाउँदै लगिन् ।

कार्यक्रम प्रस्तोताबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी रिमाले स्वरबाट डेब्यु गर्दै भिजा गर्ल, ऋतु, भाले फाइट, बाटोमुनिको फूल–२, कोहलपुर एक्सप्रेसलगायत दर्जनौँ फिल्ममा अभिनय गरिन् । उनले काम गरेका कुनै पनि फिल्मले अपेक्षित व्यापार नगरे पनि उनको चर्चा भने कहिल्यै सेलाएन । उनको नाम क्षमतावान् र परिपक्व प्रस्तोताका रूपमा अग्रपङ्क्तिमा आउने गर्छ ।

२०८० साउन १९ मा बालकोट पुगेर ओलीसँग टेबुलटेनिस खेलेको तस्वीर भाइरल बनेपछि उनलाई ‘एमाले ट्याग’ लाग्यो । तर उनले कुलमान घिसिङलाई कर्मले प्रमाणित नेतृत्व ठानेर उज्यालो नेपाल पार्टी रोजिन् । तर रास्वपासँग एकताभँग गरेपछि उनले कुलमानको साथ छोडिदिएकी छिन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : ०४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै