‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’ « Khabarhub

अन्तर्वार्ता

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

असन्तुष्टि बोकेर बस्ने होइन, निर्वाचनपछि समीक्षा गरौँला



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै आएका नेताहरूलाई टिकट रोकेको विषय सबै बाहिरिइसकेको छ । नेताहरू सुरेन्द्र पाण्डे, बिन्दा पाण्डे, योगेश भट्टराई, कर्ण थापा, अग्नि खरेललगायतलाई ओलीले टिकट दिएनन् । यति मात्रै होइन, आफूनिकट नेता छविलाल विश्वकर्मालाई समेत ओलीले पत्याएनन् ।

एमाले उपमहासचिव भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङमा ओलीले आफूनिकट युवा संघका अध्यक्ष क्षितिज थेबेलाई टिकट दिएका छन् । ओलीका हरेक निर्णयहरूमा साथ दिँदै आएका थेबेलाई टिकट दिएपछि योगेश कुनै क्षेत्रबाट उम्मेदवार भएका छैनन् । तर, उनी थेबेलाई सघाउन ताप्लेजुङ पुगेका छन् ।

किन टिकट पाउनुभएन ? भन्ने प्रश्नमा उनी आफूलाई यसबारे जानकारी नभएको बताउँछन् । बरू एमाले अध्यक्ष ओलीलाई टिकट नदिएको प्रश्नको उत्तर रहेको बताउँछन् । उनी टिकट नपाउँदा आफ्नो चित्त नदुखे पनि नेतृत्वले गम्भीर आत्मआलोचना गर्नुपर्ने बताउँछन् । टिकट नपाएको विषय आफूलाई अध्यक्ष ओलीले नबताएको उनको दाबी छ ।

एमालेका चर्चित नेता भट्टराई टिकट नपाए पनि नेताहरूलाई जिताउन खटिने तयारीमा छन् । पार्टीको इमान्दार कार्यकर्ता भएकाले नेताहरू जिताउन जुनसुकै ठाउँमा खट्ने तयारी रहेको भट्टराई बताउँछन् । मङ्गलबार ताप्लेजुङ पुगेका भट्टराईसँग टिकट खोसिएको र चुनावी सेरोफेरोमा केन्द्रित रहेर खबरहबले छोटो कुराकानी गरेको छ ।

यस पटक यहाँले किन टिक पाउनु भएन ?

यो सबै कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्नुपर्छ । उहाँले के चाहनुभएको थियो ? के गर्न खोज्नुभएको हो ? मलाई कुन कारणले टिकट दिइएन ? पार्टी नेतृत्वको कुरा मलाई थाहा छैन । यसबारेमा अध्यक्ष ओलीलाई मात्रै थाहा छ । मलाई टिकट किन दिइएन भन्ने प्रश्नको उत्तर म आफैंसँग छैन ।

यहाँलाई टिकट नदिएपछि चित्त दुख्यो होला नि ?

चित्त त्यति सजिलै दुख्दैन । मेरो मन त्यति सानो पनि छैन । राजनीति गर्ने मान्छेले विभिन्न परिस्थितिलाई सामना गर्नुपर्ने रहेछ । यो एउटा परिस्थिति हो भनेर मैले सामना गरिरहेको छु । म पार्टीको इमान्दार कार्यकर्ता हो । र, पार्टीको नीति मान्छु भनेर हिँडेको छु । आफूले टिकट पाइनँ भन्ने सम्झेर बसेको छैन । मेरो पार्टी र मेरा नेता कार्यकर्ताहरूलाई जिताउन म उहाँहरूभन्दा धेरै खट्नेछु ।

अझ मलाई पार्टीका गतिविधिमा बढी सक्रिय हुन मलाई यो समयमा मौका मिल्नेछ । यो सबै कुरा अध्यक्ष ओलीलाई नै थाहा होला । टिकट नपाएको प्रश्नको जवाफ म आफैँले पनि मागिरहेको छु । अध्यक्षज्यूले नै भनिदिनुहोस्, मैले किन टिकट पाइनँ ?

उठ्ने इच्छा छ छैन भनेर यहाँलाई सोधिएको थियो ?

हामीसँग कुनै संवाद भएको छैन । कुनै राय मागिएको थिएन, एकैचोटि निर्णय यस्तो आएको हो । तर यो निर्णयले नेतृत्वमा रहेका व्यक्तिहरू कुनै न कुनै रूपमा पछुताउनु हुनेछ भन्ने लागेको छ ।

तर, तपाईंहरूले टिकट नपाउँदा विद्रोह गर्न नचाहेको भन्ने पनि छ नि ?

हामी एमाले हौँ । एमाले हुनुको नाताले पार्टीलाई निर्वाचनको मुखमा हानी हुने कुनै काम गर्नु हुँदैन । एमाले हुनुको नाताले आफ्ना क्षेत्रका नेताहरूलाई जिताउनु मेरो कर्तव्य र जिम्मेवारी मान्छु । हामी एमाले हुनुको नाताले यो अनिवार्य भूमिका हुन्छ । हाम्रो पार्टीलाई जिताउने, सूर्य चिन्हलाई भोट हाल्ने मिसन हो । हामीले बोल्ने ठाउँमा बोलेका छौँ, भन्ने ठाउँमा भनेका पनि छौँ । हामीले बोलेको, भनेको कति सुनियो, कति सुनिएन, त्यो आफ्नो ठाउँमा छ, समीक्षा हुँदै जान्छ ।

यहाँहरू के गर्नुहुन्छ, इमानपूर्वक पार्टीलाई जिताउन लाग्नुहुन्छ कि परिस्थिति हेर्नुहुन्छ ?

हाम्रो भनाइ एउटा र गराइ हुँदैन । हामी इमान्दारपूर्वक एमालेलाई जिताउन लाग्छौँ । हाम्रो इमान्दारितामा कुनै प्रश्न छैन । पार्टी एमाले नराम्रो होइन, यसलाई चलाउने व्यक्तिमा भर पर्ने कुरा हो । हाम्रो निष्ठामा प्रश्न छैन । हामी निष्ठापूर्वक पार्टीका लागेका हौँ । त्यसकारण हामीले पार्टीमा खराब कुराविरुद्ध आवाज उठाउँछौँ । बोल्न सक्छौँ । हामी पार्टीका विद्रोही पक्ष होइनौँ ।

विद्रोह गर्न चाहनुभएन ?

अहिले विद्रोह होइन, एकताको खाँचो छ । नेतृत्वले गलत गरेको छ । कुनै मौकामा नेतृत्वले त्यो कुरा बुझ्छ र बुझ्नुपर्छ । हामी गलत कामविरुद्ध आवाज उठाइरहन्छौँ । तर, मैले यहाँ मलाई टिकट दिएन र नेतृत्वले गलत काम गर्यो मात्रै भनेको होइन । अन्य थुप्रै काममा हामीबाट गल्ती भएका छन्, त्यसलाई करेक्सन गर्नुपर्छ ।

तर कहिले भन्ने पनि त प्रश्न छ नि ?

समय बलवान हुन्छ, समयलाई पर्खिनुपर्छ। समय सबै सधैँ एकनास हुँदैन र समय कसैको वशमा पनि हुँदैन । जसले गलत गर्न खोजेको छ, त्यसले सच्चिनुपर्छ । टिकट वितरणको विषय मात्रै होइन, अन्य विषयहरूमा पनि हामीले आवाज उठाउँदै आएको हो । यसलाई हामीले कुनै हिसाबले रोक्ने छैनौँ, निरन्तर पार्टीका समस्याहरू उजागर गरेर प्रश्न गर्छौँ ।

अहिले सबैभन्दा अलोकप्रिय एमाले र केपी ओली हो भनिएको छ, साँच्चै हो ?

होइन, पार्टीलाई कुनै पनि हिसाबले ठीक छैन भन्न मिल्दैन । व्यक्तिका कार्यशैली माथिको प्रश्न पार्टीमा लगेर खन्याउनु उचित हुँदैन । हाम्रो पार्टी एमाले कुनै पनि हिसाबले बेठीक छैन । हाम्रो पार्टी प्रगतिशील पार्टी हो जनपक्षीय पार्टी हो । बहुदलीय जनवाद जस्तो उत्कृष्ट विचार बोकेको पार्टी हो । हाम्रो पार्टी ठीक छ । हाम्रो पार्टीका निर्णय कहिलेकाहीँ ठीक नहुन सक्छन् तर हाम्रो पार्टी विचारका दृष्टिले, नीति सिद्धान्त र कार्यदिशाका दृष्टिकोणले ठीक छ ।

तर जेन-जीहरूले एमालेलाई निर्वाचनमा पख्लास् भनेर औंला उठाएको देखिन्छ नि ?

हरेक कुराको समय आउँछ, त्यसलाई पर्खिनुपर्छ । यो चुनावमा एमाले बलियो र सशक्त भएर आउँछ । कसैको व्यक्तिगत रिसइबीलाई पार्टीभित्र खन्याउनु उचित हुँदैन । म फेरि पनि भन्छु, एमाले आफैँमा गलत होइन, व्यक्तिको विषयलाई लिएर पार्टीलाई त्यही दृष्टिकोणले हेर्नु उचित हुँदैन ।

कांग्रेसले आफूलाई परिमार्जन गर्यो, नयाँ नेतृत्व ल्यायो । एमाले पुरानै ढरामा हुँदा त समस्या पर्ला नि ?

नेकपा एमाले यो निर्वाचनपछि बलियो र सशक्त पार्टी भएर आउँछ । तर, त्यसका लागि केही कुरा हामीले पनि करेक्सन गर्नु जरुरी छ । मेरो पार्टीप्रति जनताको अथाह भरोसा र माया छ । यसलाई टुट्न नदिनका लागि हामीबाट भएका गल्तीहरू सच्याउनुपर्छ र सच्चिनुपर्छ ।

तर, यहाँहरूले नेतृत्वका गलत अभ्यासबारे प्रश्न उठाउँदै आएका व्यक्तिलाई टिकट नदिएपछि एमाले कमजोर भएको संकेत देखियो नि ?

उचित बेला र समयमा त्यसको समीक्षा हामी गर्छौँ । अहिले यसको समीक्षा गर्ने बेला होइन भनेर हामीले बुझेका छौँ । किनकि सम्पूर्ण शक्ति अहिले निर्वाचन केन्द्रित हुनुपर्नेछ । हामी त्यसैमा अगाडि बढिरहेका छौँ । अब साथीभाइलाई भोट माग्ने, उहाँहरूलाई जिताउन अपिल गर्ने लगायत तयारीमा लागेको छु ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : २० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा