मोरङ-६ मा शेखर र विनोदलाई टक्कर दिँदै रास्वपाकी रुबिना « Khabarhub

मोरङ-६ मा शेखर र विनोदलाई टक्कर दिँदै रास्वपाकी रुबिना

रुबिनाप्रति युवाको ‘क्रेज’ देखेर डराए शेखर



काठमाडौं- औद्योगिक शहरको रूपमा रहेको विराटनगर नेपाली कांग्रेसको आधारभूमि हो । विगतदेखि नै नेपाली कांग्रेसले विराटनगरको आफ्नो आधारभूमि सुरक्षित राख्दै आएको थियो । यस पटक कांग्रेसको विरासत बोकेको कोइराला परिवारका शीर्ष उम्मेदवार डा. शेखर कोइरालालाई मोरङ-६ बाट निर्वाचन जित्न निकै कठिन देखिन्छ ।

यतिसम्म कि उनले आफ्नो पार्टीका तल्लो तहका कार्यकर्तालाई नै ‘कन्भिन्स’ गर्नुपर्ने अवस्था छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा न संस्थापन न त इतर पक्ष, कतै पनि नखुलेका शेखरलाई आफ्नो कित्ता नखुलाएको आरोप पार्टीका नेताहरूले लगाइरहेका छन् । कित्ता नखुलाएकै कारण कोइराला परिवारको विरासत जोगाउन यस पटक शेखरलाई हम्मेहम्मे छ ।

उनलाई दह्रो रूपमा नेकपा एमालेका उम्मेदवार विनोद ढकालले चुनौती दिइरहेका छन् । उनीसँगै नयाँ पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्य पनि कोइरालाका लागि भारी पर्ने अवस्था छ । यता नेपाल कम्युनिष्ट पार्टीका ओपेन्द्र राय पनि चानचुने उम्मेदवार होइनन् ।

त्यहाँका मुस्लिम समुदायहरूको ठूलो हिस्सा ओपेन्द्रको पक्षमा छ । मोरङ-६ मा २० जना उम्मेदवार मैदानमा रहँदा मुख्य गरेर यी चार पार्टीका नेताहरूको चर्चा सुनिन्छ । मोरङ-६ को निर्वाचनमा रोचक के छ भने शेरबहादुर देउवाविरुद्ध संस्थापन इतर गुट चलाएका डा. कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा उभिएका ढकाल ठूला पार्टीका उम्मेदवार हुँदा अरूले उछिन्ने सम्भावना छ ।

फरक कित्ताको असर

नेपाली कांग्रेस शेखर कित्तामा रहेका गगन थापाले विशेष महाधिवेशन गरेर आफै कांग्रेसको सभापति बनेका छन् । आफू कांग्रेसको सभापति बन्ने दौडमा रहेका डाक्टर कोइरालालाई यो विषय अहिले पनि मन परेको छैन । तर, चुपचाप निर्वाचन जितेर उनी पुनः आफ्नो शक्ति आर्जन गर्ने दाउमा छन् । यसै कारण कोइराला नेपाली कांग्रेसले निर्वाचनअघि नै गगन थापालाई प्रधानमन्त्रीको दावेदार बनाएको विषयमा कम्युनिस्टहरूको नक्कल भएको संज्ञा दिन्छन् ।

केही समयअघि खबरहबसँगको अन्तर्वार्तामा कोइरालाले भनेका थिए, ‘कांग्रेसले निर्वाचनपछि बनेका नयाँ सांसदहरूबाट संसदीय दलको नेता चुन्छ । त्यसपछि मात्रै संसदीय दलको नेता प्रधानमन्त्रीको दाबेदार हुन्छ । अहिले कांग्रेसले कम्युनिस्टहरूको नक्कल गरेको छ। यो परिपाटी ठिक छैन ।’

कोइरालाको भनाइ अनुसार उनी विजयी भएको खण्डमा संसदीय दलको नेतामा उम्मेदवारी दिने पक्का छ । त्यसपछि कोइराला पनि प्रधानमन्त्रीका दाबेदार हुनेछन् । त्यसै कारण गगन पक्षका कतिपय नेताहरूले कोइरालालाई साथ नदिएको स्थानीय नेता बताउँछन् । स्रोतले दिएको जानकारी अनुसार कोइरालालाई जिताउन त्यहाँका सांसद तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की मुख्य भूमिकामा खटिरहेका छन् । गगनप्रति कोइरालाको असन्तुष्टि रहे पनि चुप बस्न लगाएर केदारले अहिले माहोल तताइरहेको स्थानीय कांग्रेसका युवा नेताको दाबी छ ।

‘केदार दाइ चुप बसेको अवस्थामा डाक्टर कोइरालालाई गाह्रो थियो । अहिले केही माहोल माथि उकास्न खोज्नुभएको छ । युवा विद्यार्थी लगायतका साथीहरू करिब ५०० भन्दा बढीलाई निर्वाचन क्षेत्रमा परिचालन गर्नुभएको छ ।’ स्रोतले भन्यो, ‘उहाँलाई कांग्रेसका अरू विषयमा अहिले निर्वाचनअघि नबोल्न र कांग्रेसका असन्तुष्ट मतदाताको घरघरमा पुग्न सुझाव दिएका छौँ ।’

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीविरुद्ध निरन्तर प्रश्न उठाउँदै आएका विनोद ढकाल पनि विद्या भण्डारी गुटका नेता हुन् । ढकाललाई एमालेको वैचारिक र संगठनमा भिजेको नेता मानिए पनि ओलीको आशीर्वाद छैन । त्यसकारण ओली पक्ष ६ नम्बर क्षेत्रका नेताहरूले ढकाललाई मतदान गर्दैनन् भन्ने शंका पनि धेरैमा देखिन्छ । यद्यपि एमाले नेता लालबाबु पण्डित लगायतको टोलीले अहिले खटेर ढकाललाई सहयोग गरिरहेको छ ।

२०७४ को निर्वाचनमा शेखरलाई हराएका लालबाबु अहिले ढकाललाई सहयोग गर्दै मतदाताका घरघरमा पुगेका छन् । कतिपयले चाहिँ लालबाबुलाई टिकट दिएको भए मोरङ-६ बाट उनी निर्वाचित हुनेमा कुनै दुई मत नरहेको बताउँदै आएका छन् । अहिले ढकाल पिताको पितृशोकका कारण निर्वाचन प्रचारप्रसारमा निस्किन पाएका छैनन् । लालबाबुजस्तै गरी ढकाललाई ओली पक्षका नेताहरूले समेत साथ दिएको खण्डमा विनोदको पल्ला भारी हुने धेरैले आँकलन गरेका छन् । तर, अहिले विनोदभन्दा त्यहाँ रास्वपा उम्मेदवार रुबिनाको चर्चा धेरै छ ।

कस्तो छ विगत ?

२०६० सालपछि शेखर प्रतिनिधिसभामार्फत सांसद बनेका थिए । गुट, उपगुट, पुस्तान्तरण, परिवारवाद लगायत सबै आलोचना खेपिसकेका शेखर राजनीतिका पोख्त खेलाडी हुन् । विराटनगरमा शेखरको प्रभावलाई सामान्य रूपमा विश्लेषण गर्न सकिँदैन । तथापि विराटनगरको सहरी क्षेत्र कांग्रेस मतदाता पनि अहिले घण्टीतिर आकर्षित भएको देख्दा शेखरले विद्यावारिधिभन्दा ठूलो परीक्षा दिनुपर्नेछ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका नेता विजयकुमार गच्छदारसँग पराजित भएका कोइराला उपनिर्वाचनबाट २०६५ मा विजयी भएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा त्यहीँबाट विजयी भए । तरऽ नेकपा एमालेका नेता लालबाबु पण्डितसँग २०७४ सालमा कोइराला झिनो मतान्तरले पराजित भएका थिए । त्यसबेला पण्डितले ३३,९४१ मत ल्याउँदा कोइरालाले ३३,२६६ मत पाएका थिए ।

२०७९ को निर्वाचनमा भने कोइरालाले त्यस क्षेत्रबाट ३५,२३४ मत पाएर विजयी भए । लालबाबु त्यसबेला कोइरालासँग पराजित भएका थिए । उनले २२,९४६ मत ल्याएका थिए । त्यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानलाई नेकपा एमालेको असन्तुष्टिको मत गएको थियो । प्रधान ९,१४० मत ल्याएर तेस्रो भएका थिए । यसपटक पण्डितलाई एमालेले टिकट नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेको असन्तुष्ट र कांग्रेसको असन्तुष्ट मत क्याप्चर गर्ने धेरैले आँकलन गरेका छन् ।

चलायमान र गतिशील मतदाता भएको हिसाबले गर्दा मोरङ-६ को नतिजा उल्टन सक्ने स्थानीय व्यवसायी मोहम्मद अन्सारी बताउँछन् । अन्सारीका अनुसार यस पटक मोरङको विराटनगर महानगरपालिकाका ४, ६, ७, ९, ११ र १२ का अधिकांश मतदाता घण्टीको पक्षमा खुलेको देखिन्छ ।

यसअघि नेकपा एमालेसँग निकट रहेका अन्सारी सुन्दरहरैँचा नगरपालिका २ र ७ का स्थानीय पनि कांग्रेसभन्दा एमालेसँग नजिक र एमालेभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिक रहेको दाबी गर्छन् । बुढीगङ्गा गाउँपालिकामा भने नेपाली कांग्रेस र नेकपा एमालेको संगठनमा सहरी क्षेत्र जति नबिग्रिएको अन्सारीको दाबी छ । बुढीगङ्गा र सुन्दरहरैँचाबाट ढकालको पक्षमा राम्रो मत आउने आँकलन गरिएको छ ।

रुबिनाका कारण विनोद र शेखरलाई संकट

हुन त कांग्रेसको मत यहाँ ३५,२१४ छ । नेकपा एमालेको मत २२,९४६ र राष्ट्रिय स्वतन्त्र पार्टीको मत ९,१४० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह कोशीका विभिन्न जिल्ला घुमेपछि मोरङमा पनि उनले आफ्नो पकड बढाएका छन् । विराटनगर माइती भएकी रुबिनालाई मोरङका स्थानीयले घण्टी मोहका कारण राम्रै मत दिने आँकलन गरिन्छ । नेपाली कांग्रेसको असन्तुष्ट पक्ष, शेरबहादुर देउवा र गगन पक्षको मत क्याप्चर गरेको खण्डमा रुबिनालाई चिठ्ठा पर्ने विश्लेषण गरिन्छ ।

स्थानीय सरु गुरागाईंका अनुसार यहाँका मतदाताले रुबिना भन्दा पनि घण्टी अथवा बालेन्द्र–रवि पार्टीलाई मत दिने बताउँछिन् । ‘यहाँ रुबिनालाई धेरैले चिन्दैनन्, तर बालेन्द्र, रवि सहित घण्टी चुनाव चिन्हलाई धेरैले चिनेका छन् । त्यसको असर स्वाभाविक रूपमा परेको देखिन्छ । रुबिनालाई नचिन्नेहरू पनि घण्टी, घण्टी भनेर स्वतःस्फूर्त रूपमा बाहिर निस्किएको धेरै देखेका छौँ ।’ उनले भनिन्, ‘शेखर दाइलाई धेरै जिताइयो, अब किन जिताउने ? भन्ने प्रश्न छ । विनोद ढकाललाई विगतमा अर्को निर्वाचन क्षेत्रमा निर्वाचन लडेको र यसपटक फेरि निर्वाचन क्षेत्र बदलेको आरोप छ । फेरि उहाँ त यहाँका धेरै जनतामाझ पुग्न सक्नुभएन, किनकि उहाँ बुबाको स्वर्गारोहणले शोकमा हुनुहुँदो रहेछ ।’

हिन्दू समुदायको मत यहाँ शेखरलाई गए पनि ओपेन्द्र राय लगायतले मुस्लिम समुदायको मत क्याप्चर गर्ने देखिन्छ । स्थानीयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मुस्लिम समुदाय त्यति आकर्षित देखिँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले मुस्लिम र हिन्दूलाई मिलाएर अघि बढाएको खण्डमा यहाँ निकै राम्रो सम्भावना रहेको बताइन्छ । हुन त शेखरले मुस्लिम र हिन्दू कुनै पनि समुदायलाई चिढ्याउने काम भने गरेका छैनन् ।

त्यसकारण आफू विजयी हुने कुरामा ढुक्क रहेको दाबी खबरहबसँग गरेका छन् । ‘मेरो जित सुनिश्चित छ। यहाँका जनताले तपाईंप्रति ठूलो आशा राखेका छौँ । हामी त तपाईंलाई देशकै नेतृत्व गर्ने तहमा पुर्‍याउँछौँ भन्नुहुन्छ।’ शेखर भन्छन्, ‘यहाँले भनेजस्तो विगतको भन्दा धेरै खट्नुपर्ने अवस्था छ । तर बाहिर प्रचारमा आएजस्तो माहोल बिग्रिएको छैन । युवा, विद्यार्थी, महिला सबै संगठन परिचालन भइसके ।’

विनोद पनि यहाँका स्थानीय जनताको घरदैलोमा विगतमा आफू पुगेको र समस्यासँग जुदेकाले आफूलाई जित्न कठिन नभएको बताउँछन्। युवा उम्मेदवार र तार्किक स्वभावका कारण रुबिनालाई पनि यहाँका स्थानीयले रुचाएको देखिन्छ । मोरङकी छोरीलाई जिताउने अभियानका साथ यहाँका स्थानीय उत्साहित भएर उनको पक्षमा मत मागिरहेका छन् । पिता पुस्तासँग रुबिना आफूलाई प्रमाणित गर्ने दाउमा देखिन्छिन् । ‘नयाँ छानौँ’ भन्ने लहरका साथ यहाँका मतदाताले पनि रुबिनालाई असन्तुष्टिको मत दिन सक्ने देखिन्छ । आक्रामक शैलीमा प्रचारप्रसारमा देखिएकी रुबिना शेखरलाई ढालेर प्रतिनिधिसभामा पुग्न चाहन्छिन् ।

कतिपयले मोरङ-६ को भूगोल समेत जानकारी नभएको आलोचना गरिरहे पनि सामाजिक सञ्जाल लगायत मतदाताको घरघर पुग्दा उनको ‘क्रेज’ शेखरको भन्दा कम देखिएको छैन । युवा मतदाता रुबिनाप्रति ढल्किँदा शेखरले आफ्नो युवा संगठन र विद्यार्थी परिचालन गरेको स्थानीयको दाबी छ । ‘रुबिनाप्रति युवाको क्रेज बढेका कारण शेखरले पनि युवा विद्यार्थी खटाउनुभएको छ ।’ विराटनगरका व्यवसायी भन्छन्, ‘घण्टीको त धेरै हल्लाखल्ला छ। पूर्वमा बालेन आएपछि त अझ यहाँ जुरुक्कै उठाएका छन् ।’

ओपेन्द्रलाई पनि मुस्लिम समुदायसँगै युवाहरूको ठूलो साथ छ । युवाको दस्ता र कम्युनिस्टको विचार बोकेर उनी पनि मतदातासँग पुगिरहेका छन्। धार्मिक र जातीय भोटले समेत प्रभावित गर्ने मोरङ-६ मा विगतको निर्वाचन जस्तो सहज अवस्था यसपटक ठूला दललाई देखिएको छैन । अन्य निर्वाचनभन्दा शेखर पनि यसपटक डराएको कांग्रेसका नेताहरू स्वयं स्वीकार गर्छन् ।

रोजगारको स्थायित्व र पारिश्रमिकको विषय उठान

औद्योगिक सहरका रूपमा रहेको विराटनगरमा मत माग्न जाँदा स्थानीयहरू रोजगारी स्थायित्व र पारिश्रमिकको मुद्दा उठाउँछन् । ‘हामी बेरोजगार भएर विदेश जान नपरोस् । हाम्रो माग भनेकै स्वरोजगार हुनु हो र यहाँ पारिश्रमिक पनि सुहाउँदो हुनुपर्छ भन्ने हो ।’ स्थानीय अमृत तामाङ भन्छन्, ‘जुनसुकै नेता आए पनि यहाँ हामीलाई रोजगारी दिने, पारिश्रमिक बढाउने, शुद्ध खानेपानी दिने, सुकुम्बासी समस्या समाधान गर्ने भन्नुहुन्छ, तर उहाँहरू भोट सकिएपछि कता लुक्नुहुन्छ थाहा हुँदैन ।’

तामाङजस्तै सुन्दरहरैचा २ की मतदाता जस्मिन राजवंशी पनि युवाले नेपालमै केही गरी खान खोज्दा ठाउँ नपाएकाले यस पटक गरी खान दिने व्यक्तिलाई मत दिने बताउँछिन् । ‘पल्लो घरमा भोट माग्न आउनुभयो, हाम्रो घरमा आउनुभएको छैन । मेरो कुरा के हो भने, गरी खान पाउनुपर्छ । नेपालमै व्यवसाय, पेशा गरेर स्वतन्त्र हिसाबले काम गर्न पाउनुपर्छ ।’ उनले भनिन्, ‘हामीले उत्पादन गरेको वस्तु कतै बिक्री हुँदैन । खाली अरूबाट किनेर खानुपर्ने अवस्था छ । बजारको पनि सुविधा चाहिन्छ । जसले हामीलाई यी सबैको ग्यारेन्टी गर्छ, हाम्रो बस्तीमा उहाँहरूलाई मतदान गर्ने भन्नुहुन्छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ५० बजे

कालिञ्चोकमा अझै हिउँ परेन (तस्बिरहरू)

दोलखा – जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा फागुन पहिलो

गायक कृष्ण बिकको होरीमा राजेश हमाल र उषा खड्कीको अभिनय

काठमाडौं – गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर

मिचेल मार्श चम्केपछि ओमानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु

बैतडी – बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने

काठमाडौं – नेपाल बास्केटबल सङ्घ (नेबा)को आयोजनामा हिमालयन जाभा नेसनल