घरेलु हिंसामा आठ बालकको ज्यान गयो « Khabarhub

घरेलु हिंसामा आठ बालकको ज्यान गयो


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

श्रेभपोर्ट– संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ ।

घटनामा एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन् । तीन फरक–फरक घरमा फैलिएको यो हिंसा पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा देशकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डका रूपमा दर्ज भएको छ ।

प्रहरीका अनुसार ३१ वर्षीय शामार एल्किन्सले बिहानै तीन स्थानमा आक्रमण गरेका थिए । उनी घटनापछि कारज्याक (बलपूर्वक सवारी साधन कब्जा गर्ने) गरिएको गाडीमा भागेका थिए, तर प्रहरीले पछ्याउँदै जाँदा अन्ततः उनीमाथि गोली चलाएर नियन्त्रणमा लिएको थियो, जसका क्रममा उनको मृत्यु भयो ।

प्रहरी अधिकारी क्रिस बोर्डेलनका अनुसार संदिग्धले गाडीबाट बन्दुकसहित बाहिर निस्किएपछि प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाएको थियो ।

यस घटनामा तीनदेखि ११ वर्ष उमेर समूहका आठ बालबालिकाको ज्यान गएको क्याडो पारिश कोरोनर कार्यालयले पुष्टि गरेको छ । मृतकमध्ये तीन बालक र पाँच बालिका रहेका छन् । सात जना एकै परिवारका दाजुभाइ–दिदीबहिनी थिए भने एक जना उनीहरूको काकाका छोरा (भाइ) थिए । प्रहरीका अनुसार मारिएका आठमध्ये सात जना बालबालिका आक्रमणकारीकै सन्तान थिए ।

घटनामा दुई महिला गम्भीर घाइते भएका छन्, जसमध्ये एक जना मारिएका केही बालबालिकाकी आमा हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू दुवैको टाउकोमा गोली लागेको छ । एक महिलाले अनुहारमा गोली लागेपछि छिमेकीलाई खबर गरिन्, जसको आधारमा बिहान ५ः०० देखि ५ः३० बजेको बीचमा आपतकालीन सेवा ९११ मार्फत प्रहरी घटनास्थल पुगेको थियो ।

एएफपीका एक भिडियोग्राफरले घटनास्थलमा रहेको सानो दुईतले घरको सेतो ढोकामा पाँचवटा गोलीका प्वाल देखिएको जनाएका छन् । घर बाहिर स्थानीयवासीले श्रद्धाञ्जलिस्वरूप फूलहरू राखेका थिए, जसले घटनाप्रति समुदायको पीडा झल्काउँछ ।

प्रहरीका अनुसार आक्रमणकारी दोस्रो घरमा पुगेका बेला त्यहाँ नौ बालबालिका रहेका थिए । तीमध्ये एक जना गम्भीर घाइते अवस्थामा बाँच्न सफल भएका छन् र अस्पतालमा उपचार भइरहेको छ ।

अनुसन्धान अधिकारीहरूले घटनाको कारण अझै स्पष्ट नभएको र तीनै स्थानबाट प्रमाण सङ्कलन कार्य जारी रहेको बताएका छन् । प्रारम्भिक रूपमा यो घटना घरेलु विवादसँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।

मृतक बालबालिकाको पहिचान जीवित रहेका उनीहरूका आमाले गरेका छन् । तीमध्ये जयला एल्किन्स (३), सायला एल्किन्स (५), कायला पुघ (६), लैला पुघ (७), मार्केडन पुघ (१०), सरियाह स्नो (११), खेदेरियन स्नो (६) र ब्रेलोन स्नो (५) रहेका छन्।

प्रहरी अभिलेखअनुसार एल्किन्सलाई सन् २०१९ मा बन्दुकसम्बन्धी मुद्दामा पक्राउ गरिएको थियो र उनले दोष स्वीकार गरेका थिए । तर यसअघि घरेलु हिंसासम्बन्धी कुनै स्पष्ट रेकर्ड नरहेको जनाइएको छ ।

स्थानीय मेयर टम आर्सेनक्सले घटनालाई अत्यन्त पीडादायी र भयावह भन्दै बालबालिका नै निशाना बन्नु अत्यन्त दुःखद रहेको बताए । उनले समाजमा अझै पनि हिंसात्मक प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध सबैले मिलेर सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याए ।

घटनास्थल नजिकै बस्ने ७२ वर्षीय फ्रेडी मोन्टगोमेरीले अघिल्लो दिनसम्म ती बालबालिका आँगनमा खेलिरहेको दृश्य सम्झँदै अचानक यस्तो घटना भएकोमा आफू स्तब्ध भएको बताए । उनले आइतबार बिहान प्रहरीलाई घरबाट शव निकाल्दै गरेको देखेको बताए  ।

राजनीतिक नेतृत्वबाट पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ । लुइसियानाका सिनेटर बिल क्यासिडीले यसलाई ‘भयानक हिंसा’ भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

गभर्नर जेफ ल्यान्ड्रीले आफू हृदयविदारक अवस्थामा पुगेको बताए । भने प्रतिनिधिसभाका सभामुख माइक जोनसनले यसलाई ‘निरर्थक त्रासदी’ का रूपमा टिप्पणी गरे ।

मेयर आर्सेनक्सले पत्रकार सम्मेलनमा भने, ‘यो श्रेभपोर्टका लागि अत्यन्त दुःखद बिहान हो, र हामी सबै पीडित परिवारसँग शोकमा सहभागी छौँ ।’

बन्दुकको पहुँच व्यापक रहेको अमेरिकामा यस्ता हिंसात्मक घटनाहरू बारम्बार दोहोरिने गरेका छन् । विकसित राष्ट्रहरूमध्ये बन्दुकसम्बन्धी मृत्यु दर सबैभन्दा उच्च रहनु पनि यस घटनाले पुनः उजागर गरेको छ । रासस
 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  १२ : ३२ बजे

विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३

विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सन्दीप लामिछानेले

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि