बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै « Khabarhub

बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वालिङ– विद्यालय बिदाको समयलाई सदुपयोग गर्दै यहाँका बालबालिकालाई सारङ्गी बजाउन सिकाइँदै छ । जिल्लाको पुतलीबजार नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई ज्येष्ठ नागरिकले मौलिक बाजा सारङ्गी बजाउन सिकाउन थालिएको हो । 

गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप र अनुभव अन्तरपुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत बालबालिकालाई सीप सिकाउन थालिएको हो । 

एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले विशेष गरी गन्धर्व जातिको मौलिक बाजाका रूपमा रहेको सारङ्गी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए । 

‘आधुनिकतासँगै परम्परागत र मौलिक बाजाको रूपमा रहेको सारङ्गीप्रति नयाँ पुस्ताको आकर्षण घटिरहेको देखिन्छ’, उनले भने, ‘त्यसैले नयाँ पुस्तालाई सारङ्गीको महत्त्वबारे जानकारी दिएर यसको संरक्षण गर्ने उद्देश्यले सीप हस्तान्तरण अभियान अगाडि बढाएका हौँ ।’

स्थानीय सूर्यमान गन्धर्व सारङ्गी बजाउने सीप हस्तान्तरण गर्नु कला सिकाउनु मात्र नभई संस्कृति, पहिचान र मूल्यलाई जोगाउने महत्त्वपूर्ण कार्य भएको बताउँछन् ।

पुरानो पुस्तामा रहेको सीप, कलाबारे नयाँ पुस्ताले चासो नदिए लोप भएर जाने जोखिमका कारण आफूले पनि बालबालिकालाई प्रशिक्षित गरिरहेको उनको भनाइ छ ।

गन्धर्वले भने, ‘हाम्रो मौलिकता र पहिचानसँग जोडिएको बाजाको संरक्षण गर्ने दायित्व सबैको हो । मौलिकता, कला संस्कृति अनि पहिचानको संरक्षणका लागि पनि सारङ्गी बजाउने सीप हस्तान्तरणले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’

स्याङ्जा उच्च माविमा कक्षा ७ मा अध्ययनरत जीविका परियार पनि यति बेला सारङ्गी बजाउने सीप सिक्दै छन् । विद्यालय बिदाको समयको सदुपयोग गर्दै आफूले ज्येष्ठ नागरिकबाट मौलिक साङ्गीतिक बाजा सारङ्गी बजाउन सिकिरहेको उनले बताइन् । 

‘पहिला–पहिला अरूले बजाएको बेला सारङ्गी धुन सुन्ने गरेको थिए, हाल आफैँले सिकेर विभिन्न थरीका धुन निकाल्न पाउँदा  निक्कै खुसी लागेको छ’, परियारले भनिन्  ।

यस्तै, स्याङ्जाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत सुशान्त गन्धर्व सारङ्गीमा विभिन्न धुन बजाउन सिक्दै छन्। आफ्नो मौलिक बाजा बजाउने सीप सिक्न पाउँदा रमाइलो र खुसी लागेको उनले सुनाए । 

पुतलीबजार नगरपालिकाको लाम्पाटामा सञ्चालन भइरहेको भइरहेको १० दिने सीप हस्तान्तरण अभियानमा २० जना बालबालिका सहभागी छन् । उनीहरूले गन्धर्व जातीका कर्खा, सवाई, चरित्त, चाँचरी, मङ्गलधुन, बाह्मासे र घटनाप्रधान गीतमा सारङ्गी बजाउन सिकिरहेका छन् ।
 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : १९ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व