निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली « Khabarhub

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

१०० दिन नपुग्दै सरकारका गतिविधि विवादित



काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र थिए । ज्ञवाली पार्टीको एघारौँ महाधिवेशनमा महासचिवका आकांक्षी थिए । तर अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई महासचिवमा दोहोर्‍याए । त्यसबेला ‌ओलीले उपाध्यक्ष बनाउन खोजेपनि अस्वीकार गरेका उनी पार्टीको केन्द्रीय सदस्यको मात्र जिम्मेवारीमा छन् ।

ओलीले एमालेमा एकात्मकता हावी गर्न खोजेपछि प्रदीपले खबरदारी गरेका कारण उनलाई किराना लगाइएको सन्दर्भ उठ्ने गरेको छ । ओली र प्रदीपको सम्बन्ध चिसिएकै कारण पनि अहिले प्रदीपले एमाले समयानुकूल परिवर्तन हुनुपर्छ भन्ने धारणा बनाउन थालेको अरु नेता दाबी छ ।

अध्ययनशील र तार्किक क्षमता भएका ज्ञवाली अहिले एमालेमा पुस्तान्तरण र रूपान्तरण जरुरी रहेको बताउँछन् । उनी एमालेसहित अरु दलहरूले पनि पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने सुझाव दिन्छन् । ज्ञवालीको धारणामा पार्टीले गम्भीर आत्मसमीक्षा नगरेसम्म बाम एकताबारे खुट्टो उचाल्नु उचित हुँदैन ।

२०७४ मा भएको बाम एकता र विभाजनको नमिठो चोट सम्झँदै ज्ञवाली परिपक्व र पुस्तान्तरणसहितको वाम एकतालाई मात्रै जनताले स्वीकार गर्ने तर अहिले त्यो उपयुक्त छ कि छैन भनेर विश्लेषण गर्नु जरुरी रहेको बताउँछन् । एमालेमा नेतृत्व पुस्तान्तरण हस्तान्तरण वाम एकता र पछिल्लो सरकारका गतिविधिको विषयमा केन्द्रित रहेर ज्ञवालीसँग खबरहरुले छोटो कुराकानी गरेको छ-

एमालेले अहिले के गर्दैछ ?

भर्खरै एमाले अध्यक्ष केपी शर्मा ओली हस्पिटलबाट डिस्चार्ज हुनुभएको छ। अब संगठनका कामहरूलाई अगाडि बढाउँछौँ । निर्वाचनको गम्भीर आत्मसमीक्षा गर्दै पछिल्लो राजनीतिक परिवर्तनबारे पनि छलफल र समीक्षा गर्छौँ ।

अहिले फेरि वाम एकताको बहस उठेको छ । त्यस्तो महसुस भएको हो ?

वाम एकताको सन्दर्भमा संस्थागत छलफल भएको निर्णय भएको मलाई जानकारी छैन । नेकपा एमालेमा त्यो ढङ्गले कुनै संस्थागत निर्णय गरेको छैन । संस्थागत निर्णयभन्दा बाहिर भएका कुराकानी ती व्यक्तिगत सम्पर्क, सम्बन्ध र रुचिका कुराहरू भए ।

वाम एकताको निम्ति परिस्थिति धेरै अनुकूल छ जस्तो पनि मलाई लाग्दैन । पार्टीहरू अहिले विगतका निर्वाचनको समीक्षाको क्रममा छन् । यो अवस्थामा कम्युनिस्ट आन्दोलनले धक्का किन खानुपर्‍यो ? समीक्षापछि त्यो कुराको निष्कर्ष निस्किन्छ ।

कसरी अगाडि बढ्ने भन्ने कुराको बाटो तय भएपछि मात्रै त्यो अगाडिको बाटोमा जाने भनेर विभिन्न शक्तिहरूको बीचमा मिलन हुन्छ । मलाई दलहरूले आफ्नो समीक्षा पनि नसक्दै र अगाडिको बाटो पनि तय नगर्दै गरिने एकता अर्थहीन हुन्छ जस्तो लाग्छ ।

वाम एकताको नाममा २०७४ सालमा पनि हाम्रो पार्टीले ठूलो धक्का महसुस गरेको छ । यी सबै कुराहरूलाई विश्लेषण गरेर मात्रै अगाडि बढ्नुपर्छ । हतारमा गरिएको एकताले हामीलाई पाठ सिकाइसकेको छ । त्यसकारण अहिले वाम एकता भनेर खुट्टो उचाली हाल्नुपर्ने जरुरी नेताहरूले ठान्नु हुँदैन भन्ने मलाई लाग्छ ।

अहिले जुन किसिमले नेतृत्व परिवर्तनको कुरा उठेको छ, यो ठीक हो ?

यहाँले भनेजस्तै नेतृत्व परिवर्तन र हस्तान्तरणको कुराहरू छलफलमा छन् । ती कुराहरू क्रमश पार्टीले ध्यान दिँदै पनि गएका छन् । क्रमशः ती विषयहरू अगाडि आउलान् तर त्यसका लागि पनि पार्टीका आफ्नै संस्थागत पद्धति र वैधानिकताहरू छन् ।

त्यो निर्णयमा पुग्ने आफ्नै खालका विधिहरू भएकाले विधिभित्र रहेर छलफल गरिन्छ । मुलुकले ठूलो उथलपुथल देखिसकेपछि त्यसलाई सामना गर्न सक्ने किसिमले नेतृत्वको समय अनुकूल रूपान्तरण जरुरी छ । समयानुकूल नेतृत्व परिवर्तनका विषयहरू सबै पार्टीमा उठ्छन् र निरन्तरता पाउँछन् भन्नेमा विश्वस्त छौँ ।

उसो भए एमालेमा अहिले भएको नेतृत्व समयानुकूल हेर्न सक्ने किसिमको नेतृत्व होइन ?

अहिले हामी समीक्षाकै क्रममा छौं । यहाँहरुलाई थाहा नै छ– निर्वाचन लगत्तै अन्य कुराहरूमा पुगियो । सरकारले प्रतिशोधपूर्ण तरिकाले गिरफ्तारी गर्‍यो । त्यसको सामना गर्नुपर्‍यो । पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार सकेर बाहिर निस्किनुभएको छ ।

हामीले औपचारिक रूपमा यो विषयमा छलफल नै गर्न पाएका छैनौँ । छलफल , समीक्षा गरिसकेपछि हामीले यसको उचित निकास निकाल्छौँ । मैले पुन दोहोर्‍याएँ समयानुकूल एमाले र अरु पार्टीको नेतृत्व पनि परिवर्तन हुनुपर्छ । यो कुरालाई सबैले मनन गरिराखेकै होलान् तर आतिएर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा म छैन । पहिला निर्वाचनको गम्भीर आत्मसमीक्षा गरौं। त्यसपछाडि समयानुकूल अगाडि बढौं ।

अहिलेको निर्वाचनले वाम आन्दोलन र पुराना शक्तिलाई चुनौती थपिदियो होइन ?

अहिलेको निर्वाचनको चुनौती दिएको खाली कम्युनिस्ट आन्दोलनको मात्रै होइन । यो एउटा समग्र लोकतान्त्रिक आन्दोलन खुल्ला समाज र नेपालको संविधानले परिकल्पना गरेको उदार व्यवस्थामाथिकै चुनौती हो भन्ने म ठान्दछु । निर्वाचनमा धक्का कम्युनिष्टहरूले मात्रै खाएका छैनन् । आफूलाई सुधारिएको भन्ने कांग्रेसले पनि खाएको छ ।

०७९ को निर्वाचनमा उदाएका वैकल्पिक मानिने जनमत पार्टीहरू जस्ता पार्टीले पनि धक्का खाएका छन् । कहिल्यै सत्ताको राजनीतिमा नगएका नेपाल मजदुर किसान पार्टी जस्ता पार्टीहरूले पनि खाए । त्यसकारण अहिले कम्युनिस्ट आन्दोलनमाथि मात्रै चुनौती उत्पन्न भएको हो भनेर बुझ्यौं भने त्यो गलत हुन्छ । यसलाई अलिकति फराकिलो ढङ्गले हेर्नुपर्छ । समीक्षा गर्नुपर्छ ।

अहिले युवा पुस्ताको प्रश्न के छ भने यहाँहरुजस्ता वैचारिक नेताले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीका केन्द्रीय कमिटी बैठक र अन्य फोरममा राख्नुहुन्छ कि हुँदैन ?

मुलुक पुरानै हिसाबले अगाडि बढ्दैन । राजनीतिक दलहरू पनि पुरानै हिसाबले अगाडि बढ्दैनन् । नयाँ चुनौतीलाई सामना गर्नको निम्ति बिल्कुल नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने हुन्छ, ती सबै कुराहरू हामी राख्छौँ । यस विषयमा पार्टीको फोरम र बैठकहरूमा बोलिन्छ । स्वाभाविक हिसाबले यी विषयहरू त उठेका पनि छन् ।

अन्तिममा यहाँ त पूर्वमन्त्री समेत भइसकेको व्यक्ति हो । अहिलेको सरकारको काम कस्तो लागेको छ ?

हामीलाई त १०० दिन भित्रमा यो सरकारको कुनै आलोचना गर्नु नपरे हुन्थ्यो जस्तै लागेको छ। सरकारको मौन अवधि भनेर पनि १०० दिनलाई लिने गरिन्छ । सरकारले शपथ ग्रहण गरेको मन्त्रिमण्डल घोषणा भएको केही घण्टाभित्रै कानुनी आधार बिना एउटा राजनीतिक प्रतिशोधको सुरुवात गर्‍यो ।

राजनीति प्रतिशोध र व्यापारीहरूलाई तर्साउने खालका कुराहरू भए । सडक विस्तारको नाममा फुटपाथ क्लियर गर्ने नाममा जुन ढङ्गले तल तलसम्म पनि एक खालको त्रास र ज्यादतीहरु देखिन थालेको छ, सरकार आफ्नो कामभन्दा बाहिर बरालिएको देखिन्छ ।

अहिलेको मूल्य वृद्धि , इन्धनको समस्या लगायत सबै कुराले आक्रान्त भएको मुलुकलाई राज्यले सेवा सुविधाहरू उपलब्ध गराउने कुरामा सरकार फोकस हुनुपर्थ्यो । तर फोकस चाहिँ राजनीतिक प्रतिशोधमा र अरु क्रियाकलापमा देखिन्छ ।

आलोचना गर्नुपर्ने कुराहरू सरकार आफैँले सिर्जना गर्दैछ । ती विषयहरूलाई श्रृङ्खलाबद्ध ढङ्गले नै उठाउँछौँ । सय दिन प्रतिक्षा गर्न पाए हुन्थ्यो भन्ने नै लाइनमा छौँ । तर पहिलो दिनको गतिविधिले नै धेरैलाई आक्रान्त बनाएको छ । थुप्रै निर्णयहरू विवादित छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : ०३ बजे

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा

यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

काठमाडौँ- काठमाडौँको थली (मूलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष