नयाँ दिल्ली : भारतको राजधानी दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको ‘संसद् मार्च’का क्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपले तनाव चुलिएको छ।
प्रहरीका अनुसार झडपमा ५० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने राजधानीका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
प्रहरीका अनुसार घाइते सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल पठाइएको छ। हिंसापछि स्थिति नियन्त्रणमा लिइएको दाबी गर्दै झडपमा संलग्न व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रदर्शनपछि आक्रोशित केही प्रदर्शनकारीहरूले नेपालमा २०८२ भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को उदाहरण दिँदै संसद् भवनमा पनि त्यस्तै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

संसद् मार्चमा प्रहरी धरपकडपछि आक्रोशित प्रदर्शनकारीहरूले नेपालमा जस्तै भारतको पनि संसद् भवन तहसनहस पारिदिने चेतवानी दिएका छन्।
राष्ट्रिय योग्यता परीक्षा (नीट) प्रश्नपत्र लीक प्रकरणलाई लिएर भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन चर्काइएको हो । ‘यदि धर्मेन्द्र प्रधानको राजीनामा नआए संसद् भवन उखेड्दिन्छौँ (उखेलेर फाल्छौँ)। नेपाल बनाइदिन्छौँ नेपाल।’
प्रदर्शनकारीले गत वर्ष नेपालमा भएको जेन-जी आन्दोलन स्मरण गर्दै कडा अभिव्यक्ति दिएपछि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यसैबीच, दिल्ली उच्च अदालतले आन्दोलनका अगुवा सोनम वाङचुकको स्वास्थ्य अवस्था सम्बन्धी प्रतिवेदन माग गरेको छ। गीताञ्जली आङ्मोले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले अर्को सुनुवाइ जुलाई २१ का लागि तोकेको छ।
सफदरजंग अस्पतालबाट वाङचुकले हस्तलिखित सन्देश सार्वजनिक गर्दै युवा प्रतिनिधिहरूलाई सांसदहरूसँग भेट्ने अनुमति नदिएसम्म वा आफूलाई अस्पतालमै सांसदहरूसँग भेट्ने व्यवस्था नगरिएसम्म आमरण अनशन जारी राख्ने बताएका छन्।
उनले सरकारले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने माग दोहोर्याउँदै प्रदर्शनका क्रममा युवाहरूले संयम र शान्ति कायम राखेको भन्दै प्रशंसा गरेका छन्। साथै सरकारले विद्यार्थीहरूलाई संसदअगाडि आफ्ना माग राख्ने अवसर दिए विवाद समाधान हुन सक्ने उल्लेख गरेका छन्।
यता सीजेपीले सामाजिक सञ्जाल एक्समार्फत अभिजीत दीपके, सौरभ दास, आशुतोष रांका र गीताञ्जली आङ्मो अझै पनि जन्तर–मन्तरमा धर्नामा रहेको जनाएको छ।

पार्टीले प्रहरीको बल प्रयोगका बाबजुद आन्दोलन जारी रहने र समर्थकहरूलाई जन्तर–मन्तर पुगेर आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। साथै धर्मेन्द्र प्रधानको राजीनामा अनिवार्य रहेको दोहोर्याएको छ।
यद्यपि दिल्ली प्रहरीले संसद मार्चका लागि अनुमति दिएको थिएन। त्यसबीच विभिन्न स्थानबाट प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको भिडियो सार्वजनिक भएको छ। समाचार एजेन्सी पीटीआईले सार्वजनिक गरेको भिडियोमा केही प्रदर्शनकारी मेट्रो स्टेशनभित्र देखिएका छन् ।
यस घटनापछि दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले राजीव चौक, जनपथ, पटेल चौकलगायत केही मेट्रो स्टेशनको सेवा प्रभावित भएको जानकारी दिएको छ। राजधानीका विभिन्न क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।













प्रतिक्रिया