प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीप्रति सबै सशंकित « Khabarhub

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीप्रति सबै सशंकित

प्रदेश सांसद काठमाडौँमा, फेरि वाम एकताको धून सुनिँदै



काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा भनाइ चर्चित छ- ‘देशलाई संकट पर्‍यो कि म नै अभिभावक भएर उभिनुपर्छ ।’ ०७९ को निर्वाचनपछि बनेको नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनलाई व्यङ्ग्य कस्दा उनले यस्तो भनेका थिए । यस्तै ०८२ फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको प्रतिनिधिसभा बैठकमा पनि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अगाडि राखेर यस्तै कुरा दोहोर्‍याए ।

अहिले केन्द्रमा १८२ सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार भएपनि प्रदेशमा चाहिँ ०८१ असार १७ गते सातबुँदे सहमति गरेर बनेको कांग्रेस-एमाले गठबन्धनबाट निर्मित सरकार नै सञ्चालनमा थिए । यद्यपि पछिल्ला केही सातादेखि प्रदेश सरकार सञ्चालनमा समस्या देखिएको छ ।

कांग्रेस र एमाले दुबै दलले केन्द्रीय तहबाट गठबन्धन फुटको औपचारिक घोषणा चाहिँ गरिसकेका छैनन् । तर, प्रदेशमा नयाँ सरकार र गठबन्धन निर्माणको कसरत भने सुरु भइसकेको छ । सुदूरपश्चिम सरकारको बजेट पारित गर्ने बेलामा समस्या उत्पन्न भएपछि गठबन्धन फुटको संघारमा उभिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले एमालेसँग सहकार्य गरेर नजाने निष्कर्षमा पुगे पनि गठबन्धन फुटेको औपचारिक निर्णय भने नगरिसकेको जानकारी दिए । त्यस्तै, एमालेका उपाध्यक्ष रघुजी पन्तले पनि गठबन्धन फुटेको औपचारिक निर्णय नभइसकेकाले कसरी जाने भन्ने निधोमा नपुगिसकेको बताए ।

नेपाली कांग्रेसमा संस्थापन पक्ष र संस्थापन इतर पक्षको मतभेदका कारण अहिलेसम्म प्रदेश सरकारहरूको विषयमा औपचारिक निर्णय बाहिर आउन नसकेको देखिन्छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रदेश सांसदहरूले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने आवाज उठाइरहेका छन् भने संस्थापन पक्षीय सांसदहरुले चाहिँ नेकपासँग सहकार्य अगाडि बढाउनुपर्ने बताइरहेका छन् ।

यता नेकपा एमालेले पनि वाम गठबन्धनलाई ब्युँताउने प्रयत्न गरिरहेको बताइन्छ । नेकपाका कतिपय सांसदहरु पनि यसैको पक्षमा उभिएका छन् । तर नेकपाका कतिपय नेताहरु भने एमालेभन्दा कांग्रेससँगै सहकार्य गरेर अगाडि बढ्नुपर्ने पक्षमा रहेको स्रोतको भनाइ छ ।

कतिपयले पुनः कांग्रेस-एमाले गठबन्धन नै अगाडि बढ्नसक्ने संकेत गरेपनि त्यसको सम्भावना न्यून रहेको कांग्रेस नेताहरु बताउँछन् । गठबन्धनप्रति एमाले अध्यक्ष केपी शर्मा ओली कहिले पनि इमान्दार नहुने भएकाले नेकपा पनि एमालेसँग सहकार्य गरेर जान सक्ने स्थितिमा नरहेको कांग्रेसी नेताहरुको बुझाइ छ ।

नेकपामा प्रचण्ड र माधवकुमार नेपाल निकट नेताहरू पनि ओलीलाई सोझै रुपमा विश्वास गरी वाम गठबन्धन ब्युँताउने पक्षमा आफूहरू नरहेको बताउँछन् । ‘सिधै एमाले अध्यक्ष ओलीको कुरामा विश्वास गरेर गठबन्धन ब्युताउँ भनेर जाने अवस्था छैन । कांग्रेससँग पनि ल सहकार्य गरेर जाउँ भन्ने बाटो हुँदैन । स्पष्ट रूपमा छलफल निर्णय र सहमतिका खाकाहरू बन्नुपर्छ । अहिले केही भएको छैन । छलफलहरु मात्रै अगाडि बढेका हुन्,’ नेकपा नेता राजेन्द्र पाण्डे भन्छन्, ‘हामी पनि स्पष्ट छौँ । प्रदेश सरकार प्रतिपक्षविहीन बन्नु हुँदैन । लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउने नाममा प्रतिपक्षविहीन भन्दा पुन समस्या उत्पन्न हुन्छ । सबै कोणबाट छलफलहरु भइरहेका छन् ।’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि यसबारे मुख खोलेका छन् । उनी साना दलको हकमा तीन-चार वटा मिल्दा पनि समस्या नहुने तर प्रदेशमा ठूला दलहरु मिलेर जान नहुने पक्षमा छन् । अहिले वाम गठबन्धन ब्युँताउने सन्दर्भमा पनि नेताहरूबीच छलफल भइरहेको देखिन्छ । कांग्रेस नेकपा मिल्ने र एमाले कांग्रेस मिल्ने विषयमा पनि अरु कोणबाट छलफल भइरहेको बुझिन्छ ।

प्रदेश सांसद काठमाडौंमा

अहिले सबै पार्टीका प्रदेश सांसदहरू काठमाडौं आएका छन् । उनीहरुले काठमाडौं आएर आफ्ना पार्टीका अध्यक्ष र संयोजकसँग प्रदेशको स्थितिको विषयमा जानकारी गराइरहेको बताइन्छ । कोशी प्रदेशबाट काठमाडौंमा आफ्ना नेता भेट्न पुगेका नेकपा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सबै कोणबाट छलफल भइरहेको बताउँछन् ।

‘हामीलाई केन्द्रको निर्णय नै अन्तिम हुने कारण त्यो निर्णयको पर्खाइमा छौँ । सबै कोणबाट छलफल भइरहेको छ,’ आङ्बोले भने, ‘नेताहरूबीच पनि संवाद भइरहेको बुझेका छौँ ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाही, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल लगायतका सबै नेताहरु अहिले काठमाडौंमै छन् । बागमती, कर्णाली, मधेस, गण्डकी लगायतका सांसदहरू पनि काठमाडौंमा आएर केन्द्रका नेताहरुलाई प्रदेशको अवस्थाको विषयमा जानकारी गराइरहेको एमाले, कांग्रेस र नेकपाका शीर्ष नेताहरू बताउँछन् ।

‘सबै कोणबाट छलफल भइरहेको छ के गर्ने भन्ने विषयमा पक्कै पनि छलफलपछि निर्णय होला । अहिलेलाई कसरी जाने भन्ने निष्कर्षमा पुगिसकेको अवस्था छैन ।’ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले भने, ‘कांग्रेस– एमालेको गठबन्धन औपचारिक रूपमा फुटेको छैन । त्यसकारण अहिले यसै हो भन्ने अवस्था रहँदैन । हामीलाई त सकभर उहाँहरूकै गठबन्धन मिलोस् भन्ने छ नि ।’

यता नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे पनि प्रदेशका सांसदहरू केन्द्रमा आएर निर्णयबारे छलफल गरिरहेको स्वीकार गर्छन् । कांग्रेसले उपयुक्त निर्णय लिने बताउँदै कांग्रेसमा कुनै समस्या नरहेको उनले स्पष्ट पारे ।

ओलीको लचकता पर्खिँदै प्रचण्ड– माधव

नेकपा एमालेका अध्यक्ष ओली पनि अहिले कतापट्टि गठबन्धन गर्ने भन्नेबार‍े खुलिसकेका छैनन् । कांग्रेससँगको गठबन्धन तोडेर वाम गठबन्धन ब्युँताउने च्याँखे दाउ थापिरहेका ओलीले आफ्ना गल्तीहरू स्वीकारेर आएको खण्डमा मात्रै प्रचण्ड-माधवले स्थान दिने बताइन्छ ।

सोमबारमात्रै सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले कांग्रेस-एमाले गठबन्धन फुटे पनि अरु पार्टीसँग मिलेर जानसक्ने संकेत दिएका थिए । ‘गगनले के भन्नुभएको छ थाहा छैन, तर कांग्रेससँग एमालेको गठबन्धन फुट्यो भने अरु पार्टी पनि हुनुहुन्छ नि !’ उनले भनेका थिए, ‘तीन दलको नबनाउने भन्या कुनकुन तीन दलको नबनाउने हो ? दुई दलको त गठबन्धन बन्ला नि ?’

पछिल्लो समय ओली र प्रचण्डको सम्बन्ध सुधार भएपनि माधव नेपालसँग ओलीले भेटवार्ता गरेका छैनन् । सोमबार बिहान माधव नेपाल र प्रचण्डबीच भएको भेटवार्तामा दुवै पार्टीसँग छलफल अगाडि बढाउने तर अन्तिम निर्णय गर्ने बेलामा सल्लाह गर्ने सहमति जुटेको थियो ।

अहिले माधवकुमार नेपाल बिरामी भएकाले प्रचण्डले त्यही अनुसार कांग्रेस-एमाले दुवैसँग संवाद बढाएको देखिन्छ । कांग्रेसले एमालेसँग गठबन्धन फुटेको औपचारिक जानकारी नगराएकाले गगनसँग अहिले उनले भेट गरेका छैनन् । एमाले अध्यक्ष ओलीसँग आजभोलिमै प्रचण्डले भेट गर्ने सम्भावना छ ।

एमाले अध्यक्ष ओलीको सचिवालय पनि कुनै न कुनै रूपमा प्रचण्डसँग भेटवार्ता हुन सक्ने संकेत दिन्छ । ‘सोमबार, मङ्गलबार बुधबार पनि आउँदैछ । यो बीचमा कहीँ त कुनै ढंगबाट भेटवार्ता होला । अरु किसिमले छलफल भइरहेको बुझेको छु ।’ ओलीको सचिवालय सदस्य निरु पालले भनिन्, ‘अनौपचारिक रूपले उहाँहरूबीच कुराकानी पक्कै भएको होला । भेटवार्ता हुन पाएको छैन हुन पनि सक्छ ।’

यता प्रचण्डको सचिवालय सदस्य आचार्य पनि ओलीसँग अहिलेसम्म भेट नभएको तर कुनै मौकामा भेट हुनसक्ने बताउँछन् ।

प्रदेशमा वाम एकताको आवाज चर्को

सुदूरपश्चिम, कोशी, लुम्बिनी, कर्णाली, लगायत प्रदेशका सांसदहरूले स्थानीय र प्रदेशको निर्वाचन आएकाले वाम गठबन्धन महत्वपूर्ण हुनसक्ने सुझाव दिएको बताइन्छ । नेकपाका सांसदहरुले एमालेसँग मिल्दा काइदा हुने बताएपनि ओलीको कार्यशैलीलाई लिएर भने असन्तुष्टि जनाइरहेका छन् ।

एमालेसँग मिल्दा पनि ओलीलाई गठबन्धनप्रति लचक हुन र कार्यशैली सुधार्न दरिलो ढङ्गले बाध्य पार्नुपर्ने उनीहरूको मत छ । एमाले अध्यक्षमा ओलीको विकल्प खोजिएकाले त्यस्तो अवस्था आए वाम गठबन्धन ब्युँताउन समस्या नरहेको प्रदेश सांसदहरुले ब्रिफिङ गरेका छन् ।

ओलीसँग कुरा लुकाएपनि एमालेकै प्रदेश सांसदहरूले समेत अरु नेतासँग यस्तै गुनासो राखेका छन् । एमाले प्रदेश सांसदहरुले अरु नेतासँगको कुराकानीमा ओलीका कारण वाम गठबन्धनमा समस्या हुन सक्ने सूचना दिएका छन् । उनीहरुले कांग्रेससँग गठबन्धन अगाडि बढाउँदा पनि युवाको भावना अनुसार जानुपर्ने मत राखिरहेका छन् ।

गगन थापाका कारण गठबन्धनमा समस्या उत्पन्न नभएपनि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूका कारण समस्या हुनसक्ने एमाले प्रदेश सांसदहरुको मत छ । ‘प्रदेशहरूबाट विभिन्न तरिकाले सुझावहरू आइरहेको बुझेका छौँ, वाम गठबन्धन ब्युँझिहाल्ने अवस्था नरहे पनि संवादका ढोकाहरु भने केही खुल्ला भएको देखिन्छ,’ ओलीको सचिवालयका अर्का एक सदस्यले भने, ‘अध्यक्षसँग विभिन्न प्रदेशका सांसदहरूले छलफललाई तीव्र बनाउनुभएको छ । धेरै जनाले वाम गठबन्धनको विषयमा पनि कुरा उठाउनुभएको छ रे ।’

नेपाली कांग्रेसका नेताहरु भने वाम गठबन्धन ब्युँतिने कुनै सम्भावना नरहेको बताउँछन् । प्रचण्डले नेताहरूसँगको ब्रिफिङमा वाम गठबन्धनको सम्भावना न्यून रहेकाले कांग्रेस-नेकपा गठबन्धन अगाडि बढ्ने संकेत दिएको कांग्रेस नेताको दाबी छ ।

तर, माधव-प्रचण्डले पनि ओली लचिलो भएको खण्डमा वाम गठबन्धन ब्युँताउने संकेत दिएकाले ओलीको हातमा बाम गठबन्धनको चाबी रहेको स्रोत दाबी गर्छ । ‘एमाले ठूलो पार्टी भएकाले ओलीको हातमा बाम गठबन्धन ब्युँताउने/नब्युँताउने चाबी छ,’ एमालेको एक शीर्ष नेताले भने, ‘हामीले त अध्यक्षज्यूलाई छ-सात महिनाभित्रमा सरकारलाई स्थानीय र प्रदेश सरकारको निर्वाचन गर्न दबाब दिन पनि वामहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सुझाव दिएका छौँ ।’

अहिले एमाले नेतृत्वमा रहेका कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकार छ । कांग्रेस नेतृत्वमा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा सरकार छ । वाम गठबन्धन ब्युँतिएको खण्डमा नेकपाले चार ठाउँमा नेतृत्व गर्ने तयारी गरेको देखिन्छ । तर एमाले प्रदेश सरकारमा ठूलो पार्टी भएकाले नेकपालाई चार ठाउँ दिने सम्भावना देखिँदैन ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : ५६ बजे

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि