‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’ « Khabarhub

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि वाम एकताको वकालत गर्दै आएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपा विभाजन हुँदा समेत उनी एकताकै पक्षमा उभिएका थिए । तर, त्यसयता गल्ती स्वीकार नगर्ने प्रवृत्तिका कारण केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच सम्बन्ध सुमधुर हुन नसकेको उनको स्वीकारोक्ति छ ।

फागुन २१ को निर्वाचनअघि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नयाँ नेकपा बनेको थियो । सुरुमा बृहत् वाम एकताको पक्षमा रहेका खनालले त्यसबेला अपरिपक्व ढंगले एकता गरिएको भन्दै असहमति जनाएका थिए । वाम एकताका लागि उनले एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेको तर ओली आफ्नो अडानमा अडिग रहेपछि आफू निराश हुँदै प्रचण्ड र माधव नेतृत्वको नेकपामा मिसिएको उनले बताए ।

नयाँ नेकपा बनेपछि खनालको भूमिका पार्टीभित्र सीमित देखिएको छ । यसै सन्दर्भमा हामीले वामपन्थी नेता झलनाथ खनालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

वाम गठबन्धन ब्युँतिने सम्भावना कति छ ?

वाम गठबन्धन त ब्युँताउनुपर्छ । तर अहिलेका नेताहरूबाट त्यो सम्भव देख्दिनँ । त्यसका लागि आवश्यक परिस्थिति अझै बनेको छैन ।

के भयो भने ब्युँतिन्छ ?

सबैभन्दा पहिले वाम आन्दोलन किन पराजित भयो भन्ने विषयको गहिरो समीक्षा हुनुपर्छ । पराजयका कारण पत्ता लगाउनुपर्छ । त्यसको मुख्य जिम्मेवार को हो भन्ने स्पष्ट हुनुपर्छ । जो जिम्मेवारीमा रहँदा वाम आन्दोलन पराजित भयो, उहाँहरूले आत्मालोचना गर्नुपर्छ । जिम्मेवारीमा रहेका नेताहरूले पद छोडेर नयाँ र सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ । अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकताअनुसार समाजवादतर्फ जाने नयाँ कार्यदिशा ल्याउनुपर्छ । त्यही कार्यदिशाले मात्रै सबैलाई एकताबद्ध गर्न सक्छ ।

अहिलेका नेतृत्वमा रहेका ओली, प्रचण्ड र माधव नेपालबाट सम्भव छैन ?

अहिलेको नेतृत्वबाट जनताले आशा गर्न छोडिसके । म पनि वाम एकताका लागि आवश्यक त्याग गर्न तयार छु । तर सबैले आफ्नो भागको जिम्मेवारी स्वीकार गर्नुपर्छ ।

अहिले प्रदेशमा वाम सरकार बन्ने चर्चा छ । त्यो सम्भव छ कि छैन ?

वामपन्थीहरू मिलेर सरकार बनाउनु आफैँमा नराम्रो होइन । तर, सही नीति, कार्यक्रम र लक्ष्यका आधारमा बन्नुपर्छ । केबल कुर्सीका लागि, सत्ता पाउन वा फेरि भ्रष्टाचार गर्नका लागि वाम एकता गर्ने हो भने त्यसको आवश्यकता छैन ।

अहिले प्रदेशमा पनि मिलेर जाने अवस्था बनिसकेको छैन, हो ?

अहिले नै त्यसबारे निष्कर्ष निकाल्ने बेला भएको छैन । यदि राम्रो प्रयत्न भयो, सही नीति र कार्यदिशाका आधारमा एकताको वातावरण बन्यो भने त्यो सकारात्मक हुन्छ । म त जहिले पनि वाम एकताकै पक्षमा छु । तर अब युवा पुस्ता अगाडि आउनुपर्छ । नयाँ सोच भएका नेताहरूले मात्रै प्रभावकारी एकता गर्न सक्छन् ।

अहिले वाम एकताको कुरा गरिरहेका नेताहरूलाई के सुझाव दिनुहुन्छ ?

भर्खरै बेलायतमा स्थानीय निर्वाचनमा पार्टी पराजित भएपछि प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए । पार्टीसँग संसदमा बहुमत हुँदाहुँदै पनि उनले पद छोडे । एउटा पुँजीवादी पार्टीले त यस्तो नैतिकता देखाउँछ भने यति ठूलो राजनीतिक पराजय बेहोरेका हाम्रो नेतृत्वले किन जिम्मेवारी लिँदैन ?

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले मार्ग प्रशस्त गर्नुपर्छ । नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ नेतृत्वबाट मात्रै वाम आन्दोलन पुनर्जीवित हुन सक्छ । अहिलेको नेतृत्वलाई जनताले पर्याप्त रूपमा देखिसकेका छन् ।

तपाईंको विश्लेषणमा प्रदेशमा वाम सरकार बन्दैन ?

शतप्रतिशत बन्दैन भन्न सकिँदैन । तर धेरै कठिनाइ छन् । केवल राजीनामा दिएर मात्र होइन, नयाँ नीति, कार्यदिशा र कार्यक्रमका साथ नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरियो भने धेरै कुरा सुधार हुन सक्छ ।

प्रदेश सरकारको विषयमा ओली, प्रचण्ड वा माधव नेपालसँग कुनै छलफल भयो ?

उहाँहरूले पनि गर्नुभएन, मैले पनि गरिनँ । नीति, विचार र कार्यदिशाबिनाको छलफलको अर्थ हुँदैन । उहाँहरू तीन जनाबीच पनि यस विषयमा गम्भीर छलफल भएको छैन भन्ने मलाई लाग्छ । आफू–आफू लचिलो नभएसम्म सहमति सम्भव हुँदैन ।

सुरुमा ओलीजीले देखाएको अडानकै कारण वाम आन्दोलन कमजोर भएको हो । सबैले आफ्नो भागको गल्ती स्वीकार गरेर अगाडि बढे मात्रै एकता सम्भव छ । अहिले त्यो परिस्थिति बनेको छैन । धेरै ढिलो भइसकेको छ । वाम नेताहरूबीचको आपसी संघर्षकै कारण अन्य राजनीतिक शक्तिहरू बलियो बन्ने अवसर पाएका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : २५ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया