सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।
कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट नै शिक्षामा सुधार सम्भव हुने बताए।
मन्त्री पोखरेलले भने, ‘प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका काम प्रभावकारी रुपमा सम्पादन गर्न सकिँदैन । त्यसैले शिक्षा नियमावलीको १०औँ संशोधन र अन्य ऐन, कानुनले गरेका व्यवस्थाको परिपालना गर्न मिलेर अगाडि बढौँ ।’
शिक्षा ऐन, नीति र कानुन बनाउँदा सबै सरोकार भएकाहरुसँग बढीभन्दा बढी संवाद गर्न आवश्यक रहेको भन्दै मन्त्री पोखरेलले संवादबाटै सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा शिक्षा विभागका निर्देशक णप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रमको कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ (इडिसीयु) बीच समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताए।
अभिमुखीकरणमा आर्थिक वर्ष २०८३-८४ का लागि प्रदेश, ईडीसीयू र स्थानीय तहका शिक्षा कार्यक्रमबारे छलफल तथा अभिमुखीकरण गरिने समन्व एकाइ कैलालीका प्रमुख जीवन न्यौपानेले जानकारी दिए । अभिमुखीकरणमा शिक्षा नीति, कार्यक्रम तथा बजेट, ‘सेक्टर वाइड एप्रोच’ अन्तर्गतका व्यवस्था र कार्यक्रमसँग जोडिएका सूचक तथा बजेट निकासाबारे जानकारी दिइनेछ ।
यस्तै, प्रदेश, इडिसीयु तथा स्थानीय तहका आर्थिक वर्ष २०८३-८४ का कार्यक्रमबारे छलफल, स्थानीय शिक्षा योजनाका आधारमा वार्षिक रणनीतिक कार्यान्वयन योजना तथा वार्षिक कार्ययोजना तथा बजेट विकास गर्ने विषयमा प्रशिक्षण दिइनेछ ।
यसबाट स्थानीय तहले आफ्नो स्वीकृत शिक्षा योजनालाई वार्षिक कार्यक्रम तथा बजेटसँग कसरी जोड्ने भन्ने विषयमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।
साथै, विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा यसबाट प्राप्त तथ्यांकको उपयोगबारे छलफल गरिनेछ ।
शिक्षा क्षेत्रका विभिन्न मापदण्ड तथा नीतिबारे समेत अभिमुखीकरण गरिने जनाइएको छ । कार्यक्रममा प्रदेशका नौ वटै जिल्लााका शिक्षासँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।












प्रतिक्रिया