आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष « Khabarhub

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी ठगी मुद्दामा ३० लाख रुपैयाँ धरौटी जमानत बसिदिएका डा. मनोहर प्रधानलाई पार्टीको कोषाध्यक्ष बनाएका छन्।

शुक्रबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमार्फत् रविले गृहजिल्ला चितवनका प्रधानलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन्। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने थुनामुक्त हुँदा प्रधानले २०८२ साउनमा ३० लाख रुपैयाँको जमानत दिएका थिए।

प्रधान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमडीजीपी (डक्टर अफ मेडिसिन इन जनरल प्राक्टिस एन्ड एमर्जेन्सी मेडिसिन) गरेका चिकित्सक हुन्।

उनी हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। चितवन निवासी प्रधान रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय थिए।

लामिछानेलाई चितवनबाट निर्वाचित गराउन पनि प्रधानले महत्त्वपूर्ण भूमिका खेलेको रास्वपाका एक नेताले दाबी गरेका छन्।

ती नेताका अनुसार लामिछानेका राजनीतिक तथा कानुनी संकटमा सहयोग गर्दै आएका प्रधानले त्यसैको प्रतिफलस्वरूप पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन्।

‘रविजी सहकारी ठगी मुद्दामा जेल पर्दा उहाँ (मनोहर प्रधान)ले जमानत बस्नुभएको थियो। चितवनबाट जिताउनदेखि रविका हरेक संकटमा सहयोग गर्नुभएको छ। त्यसैको गुन तिर्नुभयो होला,’ ती नेताले भनेका छन्।

रास्वपाको १८ सदस्यीय पदाधिकारीमा चितवनबाट मात्रै चार जना पुगेका छन्। चितवनमा असार ७ देखि १२ गतेसम्म भएको पार्टीको प्रथम महाधिवेशनबाट लामिछाने सभापति, सोविता गौतम उपसभापति र हरि ढकाल सहमहामन्त्री निर्वाचित भएका थिए।

मनोहरले दिएका थिए ३० लाख

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालतले धरौटी माग गरेको थियो। अदालतको आदेशअनुसार लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका थिए।

त्यसपछि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशपछि लामिछाने पक्राउ परेका थिए। आफ्नो निवेदनमा उनले आफूलाई कानुनी प्रक्रियाअनुसार थुनामा बस्न तयार हुँदाहुँदै पनि घरबाट पक्राउ गरिएको दाबी गरेका छन्।

कारागारमा रहँदा आफूलाई शारीरिक तथा मानसिक रूपमा यातना दिइएको दाबीसमेत लामिछानेले अदालतमा गरेका छन्। उनले रुपन्देही जिल्ला कारागारको आफ्नो कोठा अत्यन्त साँघुरो, गर्मी र हावा नचल्ने अवस्थामा रहेको भन्दै त्यसलाई ‘कालकोठरी’सँग तुलना गरेका छन्।

रविले बुझाएका थिए पौने तीन करोडको बैंक ग्यारेन्टी

लामिछानेले सुप्रिम सहकारीसम्बन्धी मुद्दामा आफ्नो भागमा कायम गरिएको भनिएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको बैंक ग्यारेन्टी अदालतमा पेस गरेका थिए।

उनका अनुसार उक्त रकम आफ्ना शुभचिन्तक तथा आफन्तमार्फत प्राप्त भएको थियो। सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकून् भन्ने उद्देश्यले बिगो बराबरको रकम सुनिश्चित गर्न बैंक ग्यारेन्टी बुझाएको उनको दाबी थियो।

उनले आफूले सहकारीको रकम अपचलन नगरेको र आफू निर्दोष रहेको दाबी गर्दै बैंक ग्यारेन्टी बुझाउनु अपराध स्वीकार गर्नु नभएको स्पष्ट पारेका थिए ।

‘मेरो यो निवेदन ममाथि लागेको झुटा आरोप र अपराधको स्वीकारोक्ति कदापि होइन। मबाट कुनै अपराध भएको छैन, म निर्दोष छु,’ लामिछानेले निवेदनमा भनेका थिए।

लामिछानेले सहकारी पीडितको बचत फिर्ता हुनु नै समस्याको मुख्य समाधान भएको उल्लेख गर्दै आफूविरुद्ध कायम गरिएको बिगो बराबरको बैंक ग्यारेन्टी स्वीकार गरी आफूलाई थुनामुक्त गर्न माग गरेका थिए।

मनोहरसहित तीन जनाले दिए बैंक ग्यारेन्टी

लामिछानेले अदालतमा पेस गरेको कागजातअनुसार उनको बिगो बराबरको बैंक ग्यारेन्टी तीन जनाबाट जुटाइएको थियो।

शंकरप्रसाद श्रेष्ठले १ करोड ५० लाख रुपैयाँ, रामानन्द घिमिरेले ९४ लाख ८४ हजार रुपैयाँ र डा. मनोहर प्रधानले ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी दिएका थिए।

यसरी लामिछानेको रिहाइका लागि ३० लाख रुपैयाँको जमानत बसिदिएका प्रधानलाई केही समयपछि रास्वपाले कोषाध्यक्षको जिम्मेवारी दिएको हो।

लामिछानेले भने आफ्नो निवेदनमा बैंक ग्यारेन्टीमार्फत सहकारी पीडितको रकम सुनिश्चित गर्न खोजिएको दाबी गरेका छन्। उनले अदालतबाट आफूलाई थुनामुक्त गरी साधारण तारिखमा मुद्दाको पुर्पक्ष गर्न पाउने आदेश माग गरेका थिए।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ७ : २१ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको