अमेरिका–चीनबीच ‘एआई संवाद’ को तयारी « Khabarhub

अमेरिका–चीनबीच ‘एआई संवाद’ को तयारी


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र निर्माणका लागि छलफल गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता हुने अपेक्षित शिखर बैठकअघि दुवै देशका आर्थिक अधिकारीबीच न्युयोर्कमा भएको वार्तामा यस्तो प्रस्ताव अघि बढेको हो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको टोलीबीच न्युयोर्कस्थित जेपी मोर्गन चेजको मुख्यालयमा करिब आठ घण्टा वार्ता भएको थियो । वार्तापछि बेसेन्टले व्यापार र एआईका विषयमा दुवै पक्षबीच ‘धेरै सफल संवाद’ भएको बताए।

उनका अनुसार प्रस्तावित ‘अमेरिका–चीन एआई संवाद’ अन्तर्गत एआईसँग सम्बन्धित सम्भावित घटना वा राष्ट्रिय सुरक्षासम्म पुग्न सक्ने जोखिमबारे एकअर्कालाई जानकारी गराउने संयन्त्र निर्माण गरिनेछ । यस विषयमा थप छलफल गर्न दुवै पक्ष सहमत भएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले वार्तालाई ‘स्पष्ट, गहन र रचनात्मक’ भनेको छ । सिन्ह्वाका अनुसार दुवै पक्षले द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र यसअघि भएका सहमति कार्यान्वयनलगायत विषयमा छलफल गरेका छन् । बैठकमा चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङ्गाङ पनि सहभागी हुनुहुन्थ्यो ।

वार्तामा केही वस्तुमा पारस्परिक शुल्क घटाउने तथा ‘गैर–संवेदनशील’ वस्तुलाई व्यापारसम्बन्धी प्रतिबन्धबाट अलग राख्ने विषयमा पनि छलफल भएको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताए। दुर्लभ पृथ्वीका चुम्बक तथा महत्त्वपूर्ण खनिजको आपूर्ति निरन्तर कायम राख्ने विषय पनि अमेरिकी पक्षको प्राथमिकतामा रहेको छ ।

यसअघि चीनले अमेरिकी कृषि सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसको कार्यान्वयन तथा इरानमाथि अमेरिकी आर्थिक दबाबलगायत विषय पनि आगामी वार्तामा उठ्न सक्ने बताइएको छ ।

यसैबीच, अमेरिकी पूर्व उपसचिव कर्ट क्याम्पबेलले ट्रम्प–सी शिखर बैठकबाट तत्काल ठूलो उपलब्धिको अपेक्षा गर्नुभन्दा दुवै देशबीच कायम व्यापार युद्धविराम निरन्तर रहने सम्भावनालाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

ट्रम्प र सीले नोभेम्बरमा चीनको शेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्च तथा डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा भेट गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ३७ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा