बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट « Khabarhub

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी भूभागहरू कब्जा गर्ने अभियान तीव्र पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा हुथी समूहविरुद्धको प्रस्तावित अमेरिकी हवाई आक्रमण रद्द गरेको खबर सार्वजनिक भएसँगै विद्रोहीहरूको सैन्य अभियान अगाडि बढेको हो ।

यसै महिना हुथी समूहले सञ्चालन गरेको सैन्य आक्रमणले मध्यपूर्वको जारी द्वन्द्वलाई थप जटिल बनाइदिएको छ । लाल सागरलाई अरब सागरमा जोड्ने बाब अल-मन्देब क्षेत्रमा हुथी समूहको रणनीतिक नियन्त्रण कायम भएसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमाथि थप जोखिम उत्पन्न भएको छ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यमनमा जारी लडाइँमा सामेल हुन पटक-पटक गरेको आग्रहलाई अमेरिकाले हालसम्म अस्वीकार गर्दै आएको छ ।

यसअघि हुथी समूहले शनिबार साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका थिए । उक्त क्षेत्रमा विस्फोटको आवाजसँगै विमानस्थल नजिकै धुवाँको बादल देखिएको थियो । रियादमा भएको हमलाबारे साउदी अरबले भने आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार साउदी युवराजको आग्रहपछि ट्रम्प प्रशासनले आइतबार हुथीहरूविरुद्ध हवाई आक्रमणको तयारी पूरा गरिसकेको थियो । तर, सैन्य विमानहरूमा बम लोड भइसकेको अवस्थामा राष्ट्रपति ट्रम्पले अन्तिम मिनेटमा उक्त आक्रमण रद्द गर्ने निर्देशन दिएको रोयटर्सले जनाएको छ । यद्यपि अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

सन् २०१४ देखि यमनको राजधानी सानामा नियन्त्रण कायम गरेका हुथी विद्रोहीले यसै महिनामा द्रुत सैन्य कारबाहीमार्फत साउदी समर्थित र अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका फौजलाई परास्त गर्दै लाल सागरको तटीय क्षेत्र कब्जा गरेका थिए ।

हुथीहरूका अनुसार साउदी अरबले विगत केही दिनयता पहाडी इलाकामा सयौँ पटक हवाई हमला गरिसकेको छ । यसका बावजुद साउदी समर्थित सरकारी फौजहरू पछि हट्दै गएकाले साउदी हवाई आक्रमण मात्रैले विद्रोहीको अग्रता निस्तेज पार्न सकेको छैन ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्लो हिंसात्मक मुठभेडमा झन्डै ७०० जनाको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । यमनभित्रै १ लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् भने हजारौँले लाल सागर पार गरेर डुङ्गामार्फत अफ्रिकातर्फ शरण लिन पुगेका छन् ।

यमनी सैन्य स्रोतहरूका अनुसार हुथी विद्रोहीहरू अहिले ताइज र लाहिज प्रान्तका रणनीतिक कहबुब पहाडी क्षेत्र कब्जा गर्ने प्रयासमा छन् । द्वन्द्व मुख्यतया ताइज प्रान्तको दुर्गम पहाडी इलाका अल-वाजियियाको बाहिरी क्षेत्र र हिन्द महासागरको तटीय क्षेत्र रस अल-आरा वरपर केन्द्रित छ । हुथीहरूले यी पहाडी भूभागहरू नियन्त्रणमा लिएर बाब अल-मन्देब जलक्षेत्र आसपास सैन्य पकड थप मजबुत पार्न र नयाँ मोर्चा खोल्न चाहेका छन् । जसले धुबाब र पेरिम द्वीपमा उनीहरूको पकडलाई अझ मजबुत बनाउनेछ ।

साउदी अरब र हुथीहरूबीचको यो लडाइँले अमेरिकी राष्ट्रपति ट्रम्पका लागि नयाँ धर्मसङ्कट पैदा गरिदिएको छ । एकातिर अमेरिकाको मुख्य साझेदार साउदी अरबलाई रक्षा गर्न राष्ट्रपति ट्रम्पमाथि दबाब बढेको छ भने अर्कातिर फेब्रुअरीमा इरानविरुद्ध सुरु गरिएको र घरेलु रूपमा अत्यन्त अलोकप्रिय बनेको युद्धलाई अझ व्यापक बनाउन उनी चाहँदैनन् ।

संयुक्त राज्य अमेरिकाले सन् २०२५ को सुरुमा दुई महिनासम्म हुथीहरूमाथि बमबारी गरेको थियो । तर युद्धविराम सम्झौता भएपछि ट्रम्पले हुथीमाथि आक्रमण रोकेका थिए । त्यसयता अमेरिका हुथीविरुद्ध प्रत्यक्ष रुपमा युद्धको अवस्थामा छैन । हुथीहरूले बाब अल-मन्देब जलक्षेत्रमा नियन्त्रण कायम गरेपछि साउदी अरबले हर्मुजको विकल्पका रूपमा प्रयोग गर्दै आएको मुख्य तेल निर्यात मार्ग बन्द हुने जोखिम बढेको छ ।

यसको जवाफमा साउदी अरबले हर्मुजमार्फत तेल ढुवानी बढाएको छ, जहाँ जोखिमका बाबजुद केही ट्याङ्करहरूले ट्रान्सपोन्डर बन्द गरेर तेल बाहिर निकालिरहेका छन् । भूउपग्रहको तथ्याङ्क अनुसार हर्मुजमार्फत साउदीको तेल निर्यात हालैका दिनहरूमा दैनिक २९ लाख ब्यारेल पुगेको छ, जुन अगस्टमा प्रतिदिन ७ लाख ब्यारेल मात्र थियो । यसले लाल सागरको यान्बु बन्दरगाहबाट रोकिएको तेल आपूर्तिलाई केही हदसम्म भर्पाइ गरेको छ ।

यस कदमले विश्वव्यापी कच्चा तेलको मूल्यलाई प्रति ब्यारेल ११० डलर पुग्नबाट रोकेर १०० डलरको वरपर राख्न मद्दत त गरेको छ । तर उपभोगकर्ता र उद्योगहरूले अझै पनि प्रशोधित इन्धनका लागि कीर्तिमानी मूल्य तिर्नुपरिरहेको छ ।

अमेरिकामा मध्यवधि चुनाव आउन छ हप्ता मात्र बाँकी छँदा डिजेलको खुद्रा मूल्य प्रति ग्यालन ६.५१ डलरभन्दा माथि पुगेको छ, जुन फेब्रुअरीमा युद्ध सुरु हुनुअघि ३.७५ डलर मात्र थियो । यस्तै हर्मुजमा भएको पछिल्लो आक्रमणमा एउटा जहाजमा क्षेप्यास्त्र प्रहार हुँदा केही चालक दलका सदस्यहरू घाइते भएको बेलायती समुद्री सुरक्षा एजेन्सी (यूकेएमटीओ) ले जनाएको छ ।

जुन महिनामा अमेरिका र इरानबीच भएको मध्यकालीन सम्झौता भत्किएपछि यस क्षेत्रको कूटनीतिक प्रयास पूर्ण रूपमा ठप्प छ । यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियान संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन मङ्गलबार न्यूयोर्क जाँदैछन् । अमेरिकाले गत फेब्रुअरीदेखि सञ्चालन गरेको ‘अपरेशन इपिक फ्यूरी’ पछि इरानी नेताको यो पहिलो अमेरिका भ्रमण हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ०० बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन