पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या « Khabarhub

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो ।

मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार लामो समयदेखि वर्षा नहुँदा तिनाउ र दानव नदीमा पानीको सतह घट्दै गएपछि समस्या भएको हो । नदीमा पानीको सतह पम्पले पानी तान्न मिल्ने न्यूनतम स्तरभन्दा तल झरेपछि नियमित सिँचाइ सेवा पुर्‍याउन कठिनाइ भएको उनले बताए ।

अध्यक्ष यादवले भने, ‘रोपाइँ सुरु भइसकेको छ । किसान सिँचाइका लागि मर्चवार लिफ्ट आयोजनामा निर्भर छन् । तर, नदीमा पर्याप्त पानी नहुँदा पम्प नियमित सञ्चालन गर्न समस्या भइरहेको छ । पाँच वटा पम्प जडान भए पनि पानीको अभावका कारण हाल तीन वटा पम्प मात्र सञ्चालनमा छन् ।’ 

उनका अनुसार दानव नदीबाट बग्ने पानीलाई रोक्न कम्तीमा पाँच फिट उचाइको बाँध (ड्याम) निर्माण गर्न सके नियमित रूपमा पानी आपूर्ति गर्न सहज हुनेछ ।

पम्पस्टेसन प्रबन्धक अकरम खानले नदीको पानी आयोजनाको डिजाइनअनुसार तोकिएको न्यूनतम स्तरभन्दा करिब एक दशमलव पाँच मिटर तल झरेको जानकारी दिए । यस्तो अवस्थामा पम्प सञ्चालन गर्दा मोटर तथा अन्य उपकरणमा क्षति पुग्ने जोखिम बढेकाले चलाउन नसकिएको उनको भनाइ छ । 

‘विद्युत् आपूर्ति र उपकरणको अवस्था राम्रो छ । तर, पानीको अभावका कारण लामो समयसम्म मोटर चलाउँदा उपकरण बिग्रिन सक्ने सम्भावना भएकाले सावधानी अपनाउनुपरेको हो’, खानले भने । 

हाल तिनाउ नदीका विभिन्न भागमा पानी सुकेर घाँस उम्रिन थालेको छ । नदी किनारका जमिन चिरा पर्न थालेका छन् भनेबीच भागमा बालुवा र माटो देखिन थालेको छ । यस्तो अवस्थाले सिँचाइमा मात्र नभई समग्र कृषि उत्पादनमा समेत गम्भीर असर पार्ने सङ्केत देखिएको उनले बताए ।

यसैबीच, रोपाइँका समयमा पर्याप्त पानी नपाउँदा किसान चिन्तित बनेका छन् । कतिपय किसानले रोपेको धान सुक्ने डर व्यक्त गरेका छन् भने केहीले अझै रोपाइँ सुरु गर्न सकेका छैनन् । आकाशे पानीको भरमा बसेका किसानहरू दिनहुँ वर्षा हुने आशामा आकाशतिर हेर्न बाध्य छन् ।

मर्चवार क्षेत्रको कृषि उत्पादन मुख्यतः उक्त सिँचाइ आयोजनाको पानीमा निर्भर छ । यदि पानीको अभाव हुँदै गएमा धान उत्पादनमा कमी आउने र किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्ने स्थानीय हृदयराम गुप्ताले बताए ।

स्थानीय बासिन्दाका अनुसार मर्चवार लिफ्ट सिँचाइ आयोजनाले खेतीपातीका साथै भू–जलको सतह सन्तुलित राख्न समेत महत्त्वपूर्ण भूमिका खेलेको छ । आयोजनाबाट पर्याप्त पानी आपूर्ति हुन नसके भविष्यमा खानेपानीको स्रोतमा समेत असर पर्नसक्ने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ७ : ५७ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको