नेपालगञ्ज- बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी सेवा लिने महिलाको सङ्ख्या निरन्तर बढ्दै गएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै घरमै सुत्केरी गराउने परम्परा घट्दै गएको गाउँपालिकाले जनाएको छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार केही वर्षअघिसम्म अधिकांश महिलाले घरमै सुत्केरी गराउँथे। प्रसूति सेवा लिन अस्पताल जानुपर्दा सीमापारि भारतका अस्पताल वा नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो। अहिले गाउँमै सञ्चालनमा रहेका बर्थिङ सेन्टरका कारण उक्त समस्या समाधान भएको उनले बताए।
अध्यक्ष शाहले गणतन्त्र स्थापनापछि नरैनापुरमा कालोपत्रे सडक, विद्युत् र स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै विभिन्न वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको उल्लेख गरे। उनका अनुसार यसले सुरक्षित मातृत्व सेवामा उल्लेखनीय सुधार ल्याएको छ।
पहिले प्रसूति सेवाका लागि करिब ५० किलोमिटर टाढा नेपालगञ्ज पुग्नुपर्ने अवस्था रहे पनि अहिले प्रत्येक वडामा सञ्चालनमा रहेका बर्थिङ सेन्टरबाट सहज रूपमा सेवा उपलब्ध भइरहेको उनले बताए।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा बर्थिङ सेन्टरमार्फत एक हजार १५१ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या एक हजार १२३ रहेको थियो। यस वर्ष सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले घरमै सुत्केरी गराउने र अस्पताल जान नमान्ने महिलाहरू पनि पछिल्लो समय बर्थिङ सेन्टरमा पुगेर सुरक्षित प्रसूति सेवा लिन थालेको बताए। उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म सञ्चालनमा रहेका छवटा बर्थिङ सेन्टरमा चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध छ।
प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत चौबीसै घण्टा सेवा प्रदान गरिनुका साथै सुत्केरी महिलालाई बर्थिङ सेन्टरसम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवासमेत सञ्चालन गरिएको उनले जानकारी दिए।
स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले बर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी सेवा लिएका छन्।















प्रतिक्रिया