धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन्।
कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोवासी तथा भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण र समन्वय गर्न सरकार पूर्णरूपमा तयार रहेको बताइन्।
मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरिन्।
यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६०० दिनभित्र लालपुर्जा वितरण गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको जानकारी दिइन्। जिल्लाका सबै पालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न उनले समितिलाई आग्रह गरिन्।
भूमि समस्या समाधानका लागि आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको मन्त्री रावलले बताइन्।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले कैलालीमा चाँडै लालपुर्जा वितरण गर्ने तयारीबारे छलफल भएको जानकारी दिए। उनका अनुसार मन्त्री रावल कैलाली र कञ्चनपुरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।












प्रतिक्रिया