काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् । पछिल्ला तथ्यांकले सडक दुर्घटना हरेक वर्ष औसत ५.४ प्रतिशतका दरले बढिरहेको देखाएको छ, जसले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले यो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्री डा.गौतमले सडक दुर्घटनालाई देशकै प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक भएको उल्लेख गर्दै विशेष गरी जेन-जी युवा पुस्ता सबैभन्दा बढी प्रभावित भइरहेको बताइन् । उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय र नागरिकस्तरको सचेतना अत्यावश्यक छ ।
नेपालमा हुने सडक दुर्घटनाबाट मृत्यु हुनेमध्ये करिब आधा हिस्सा दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको रहेको तथ्य झन् चिन्ताजनक छ। यही जोखिम घटाउन चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने ‘युनिभर्सल हेल्मेट ल’ तत्काल लागू गर्नुपर्नेमा सरोकारवालाहरू एकमत देखिएका छन् ।
सन् २०२१ को प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब आठ हजार मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाउँछन् । यो सङ्ख्या दक्षिण एसियाली औसतभन्दा झण्डै दोब्बर हो । दुर्घटनाका कारण नेपालले वार्षिक करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्दै आएको छ, जुन कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ७ प्रतिशत बराबर हो ।
हालकै दरमा दुर्घटना बढिरहे सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्युदर आधा घटाउने सरकारी लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ । यद्यपि विज्ञहरूले आशा देखाएका छन्- यदि जिडिपीको मात्र ०.४ प्रतिशत रकम सडक सुरक्षामा लगानी गरियो भने वर्षेनी करिब तीन हजार मानिसको जीवन जोगाउन सकिनेछ ।
सडक सुरक्षामा लगानी, कडाइका साथ कानुन कार्यान्वयन र नागरिक सचेतना-यी तीनै पक्षमा सुधार नगरे नेपालका सडकहरू अझै पनि जोखिमको प्रतीक बन्ने विज्ञहरूको चेतावनी छ।













प्रतिक्रिया