काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा पठाउने अनुहारबारे गहिरो अध्ययन गरिरहेको छ ।
रास्वपा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको समूहको टीमका सदस्यले सरकारमा पठाउने व्यक्तिका विभिन्न पक्षबारे अध्ययन गरिरहेका हुन्।
पार्टीमा अहिले मन्त्रिपरिषद्सँगै सभामुख, प्रमुख सचेतक र सचेतक लगायतका पदहरूका लागि विभिन्न सांसदहरूको नाम आएको छ ।
हालसम्मको गृहकार्यअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले फाइनल भए पनि अन्य मन्त्रालयका मन्त्रीहरूबारे टुङ्गो लागिसकेको छैन। गृह र परराष्ट्रसहिता शक्तिशाली मन्त्रालयमा एकभन्दा धेरै आकांक्षी हुँदा कुरा मिल्न सकेको छैन।
५० भन्दा बढीको दौडले चुनौती
आगामी चैत १३ गते प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्न लागेका बालेन्द्रले मन्त्रिपरिषद्को आकार १८ सम्मको बनाउने अवस्था छ । नेपालको संविधानले तीन राज्यमन्त्रीसहित २५ सदस्यीय संघीय सरकारको क्याबिनेट बनाउने अधिकार दिएको छ।
उता सभामुख, प्रमुख सचेतक र सचेतक लगायत पदमासमेत ५० जना भन्दा बढीले आकांक्षा देखाएका छन्। अहिले ती आकांक्षीबारे दुवै नेता उचित जिम्मेवारी तय गर्न अध्ययनमा जुटेका हुन् ।
पार्टी स्रोतका अनुसार बालेनले अगाडि सारेका अनुहारलाई सभापति लामिछानेनिकट नेताहरू क्रस चेक गरिरहेका छन्। उता रविले सरकारमा पठाउन भनेका नामहरूलाई बालेनको सचिवालय र उनी पक्षीय नेताहरूले क्रस चेक गरिरहेका छन्।
गत साता सभापति लामिछाने, वरिष्ठ नेता शाह, दुई उपसभापति वाग्ले र डीपी अर्यालबीच दरबारमार्गस्थित होट रोयल सिंगीको स्वीट रुममा भेट हुँदा पनि मन्त्रिपरिषदका सम्भावित सदस्यहरू पारदर्शी, इमान्दार र विवादरहित हुनुपर्नेमा कुरा भएको थियो ।
अहिले शीर्षस्थ तहमा बालेन्द्र र रविले छुट्टाछुट्टै अध्ययन गरिरहेका छन् ।
‘नेताहरूले ५० जनाभन्दा बढीको नाममा छुट्टाछुट्टै अध्ययन गरिरहनुभएको छ। बालेन पक्षका नेताहरूबारे सभापतिज्यू लगायतले अध्ययन गर्नुभएको छ । सभापतिनिकट नेताहरूबारे बालेनको सचिवालय र सहयोगीले अध्ययन गरिरहेको अवस्था छ’, स्रोत भन्छ, ‘विवादरहित व्यक्ति र स्वार्थ समूहको पहुँच नभएकालाई क्याबिनेटमा पठाउन यस्तो विधि अपनाइएको हो। सरकारमा जान सक्ने अनुहारको व्यक्तिगतसँगै समग्र सामाजिक जीवनकै अध्ययन भइरहेको छ।’
होटल रोयल टुलिपमा भएको अभिमुखीकरण समापनमा सभापति लामिछानेले पदका लागि नेताहरूका पछि नधाउन भनेका थिए । तर पनि सरकारमा भाग माग्दै शीर्षस्थको ढोका ढकढक्याउने अवस्था अझै अन्त्य भएको देखिँदैन ।
‘स्वाभाविक रूपमा पदका लागि धेरैले आकांक्षा राख्नुभएको छ । तर पद पाउनै पर्ने दाबी थोरैको छ’, पार्टी सचिवालयका एक सदस्यले भने, ‘एकल बहुमतीय सरकार बन्न लाग्दा परिणाममुखी काम गर्न सकिने भनेर धेरैको इच्छा छ। देशको पहिलो शक्तिसँग एक से एक सक्षम नेता भएकाले यस्तो हुन गएको हो ।’

विषय विज्ञको खोजी
रास्वपाले सरकारमा पठाउने सांसदहरूलाई मन्त्रालय दिनुअघि सम्बन्धित विषयको विज्ञ हुनुपर्ने बताएको छ । सम्बन्धित विषय विज्ञ, त्यही विषय अध्ययन गरेको र स्वार्थ नबाझिनेलाई मन्त्रालय दिने पार्टीको तयारी छ।
अहिलेसम्म एक मन्त्रालयमा दुईदेखि चार नेताले दाबी गरेका छन्। सभामुख र प्रमुख सचेतक पदमा पनि धेरैको दाबी छ । तर दुवै शीर्ष नेता परिपक्व व्यक्तिको खोजीमा छन् ।
‘यसपटक विषय विज्ञ र सम्बन्धित क्षेत्रमा दख्खल भएको व्यक्तिलाई प्राथमिकता दिने नीति बनाएका छौँ’, पार्टीका सह-महामन्त्री विपिन आचार्य भन्छन्, ‘हामीले नारा नै जान्नेलाई छान्ने लगाएकाले विवादरहित र स्वार्थमा नजोडिने व्यक्ति सरकारमा जाऊन् भनेर अध्ययन भइरहेको छ।’
सहमहामन्त्री आचार्यले खबरहबलाई धेरै सम्बन्धित विषय विज्ञ र जानकार व्यक्ति भएको अवस्थामा राम्रो छान्न ‘सुखद समस्या’ भएको बताए । ‘हामीसँग सक्षम र विज्ञ व्यक्ति धेरै छन् । त्यहाँबाट पनि अझै सक्षम छान्न पार्टीलाई सुखद समस्या छ’, आचार्यले भने, ‘धेरै नेताले व्यक्तिगत इच्छा जाहेर गरे पनि दाबी नगरेकाले धेरै गाह्रो छैन।’
राजनीतिक नियुक्ति खारेज गर्ने
रोयल सिंगीको स्विट रुममा भएको चार नेताबीचको भेटमा यसअघिका सबै राजनीतिक नियुक्तिहरू खारेज गर्न एक्सनमा जाने सहमति जुटेको थियो।
त्यसअनुसार पहिलो चरणमा अघिल्लो सरकारका राजनीतिक नियुक्ति लिएकाहरूलाई पद छाड्न आग्रह गर्ने निर्णय भएको थियो ।
दोस्रो चरणमा औपचारिक जानकारी गराउने र तेस्रो चरणमा नछोडे जिम्मेवारीबाट हटाउने तयारी गरिएको छ।
‘सुशासनको अभ्यास हाम्रै सरकारको पालामा होस् भनेर छरितो मन्त्रिपरिषद् बनाउन लागेका छौँ। सबै राजनीतिक नियुक्तिका व्यक्ति हटाइनेछन्’, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘राजनीतिक भागबण्डाका नियुक्तिमाथि हाम्रो सरकारले छानबिन गर्छ। अघिल्ला सरकारले पद बाँडेका व्यक्तिहरू र हाम्रो सरकारमा जानेहरूबारे पनि गहिरो छानबिन हुन्छ।’
भागबण्डा भएको हो ?
बालेन्द्र शाह गत पुस १३ गते मात्रै रास्वपामा प्रवेश गरे। उनी वरिष्ठ नेताका रुपमा पदभार ग्रहण गर्न एक पटक रास्वपा कार्यालय छिरे । त्यसयता उनी त्यतातिर फर्केर गएका छैनन् ।
रास्वपामा प्रवेश गर्दा भएको ७ बुँदे सहमितकै क्रममा उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको थियो। त्यसपछि उनले आफ्नो समूहका नेताहरूलाई पार्टीमा समायोजन गरेका थिए।
अहिले पार्टीभित्र ‘बालेन’ र ‘रवि’ समूह भनेर दुई गुट चिनिने अवस्था छ। दुवै पक्षका अनुसार अहिलेसम्म अधिकांश मन्त्रालयका अनुहारको टुंगो भएको छैन ।
प्रधानमन्त्रीका रुपमा जान लागेका बालेनले केही मन्त्रालयमा आफूअनुकूल राख्न चाहनु स्वाभाविक भएको बताइन्छ। ‘सभापतिको भागमा यति मन्त्रालय र वरिष्ठ नेताको भागमा यति मन्त्रालय भनेर किटान गरिएको छैन’, एक नेता भन्छन्, ‘पहिला सरकारमा पठाउने व्यक्तिहरूको सूची तयार हुन्छ । त्यसपछि छलफल गरेर टुङ्गो लगाउने सहमति छ। अहिले आएका नामहरूबारे छानबिन भइरहेको छ।’
रास्वपाको दुई गुटमा बालेनले आफूनिकटहरूलाई उपयुक्त मन्त्रालय दिन खोजेका छन् । उता रविले पनि आफ्ना निकटस्थलाई व्यवस्थापन गर्ने कसर गरिरहेका छन् ।
नयाँ पनि सरकारमा
पार्टीभित्र सभापतिनिकट नेताहरूले २०७९ मा सांसद भएका र यसपटक प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी गरेका छन् । तर वरिष्ठ नेता बालेन्द्र स्वयम् २०७९ मा सांसद भएका थिएनन् । उनले नयाँ अनुहारको सहभागितमा जोड दिनेछन् । धेरै अनुहार उनी काठमाडौंको मेयर हुँदा सचिवालयमा रहेका समेतिटन सक्छन् ।
‘प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्मा पनि नयाँ अनुहार आउनेछन्’, बालेनको सचिवालयका एक सदस्य भन्छन्, ‘विषय विज्ञ, काम गर्न सक्ने र विवादरहित व्यक्ति रोज्ने चाहना छ।’
यता पार्टीका नेताहरू पनि सरकारका पुराना र नयाँ अनुहारको सम्मिश्रण देखिने बताउँछन् । यस सरकारमा समानुपातिकबाट आएकाभन्दा प्रत्यक्ष निर्वाचितलाई बढी प्राथमिकता दिने तयारी छ ।













प्रतिक्रिया