काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थको ढुवानी लागत घटाउने र आपूर्ति प्रणालीलाई थप सहज बनाउने उद्देश्यसहित नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को दुईदिने भारत भ्रमणका क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोटमार्फत भर्चुअल उद्घाटन गरेपछि उक्त परियोजना हस्तान्तरण गरिएको हो।
यसैगरी, भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार र झापामा इन्धन भण्डारणका लागि ग्रिनफिल्ड टर्मिनल निर्माणको शिलान्यास गरिएको छ।
यी दुवै परियोजनाको प्रारम्भिक लागत करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ अनुमान गरिएको छ। यसमध्ये पाइपलाइन निर्माणमा २ अर्ब ७८ करोड भारतीय रुपैयाँ र टर्मिनल निर्माणमा ५ अर्ब भारतीय रुपैयाँ खर्च हुने अनुमान छ।
आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनअनुसार परियोजना सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थको ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ।
नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा अघि बढाइएका यी परियोजनाले नेपालको इन्धन आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
पाइपलाइनमार्फत इन्धन आपूर्ति गर्दा ट्याङ्करमा निर्भरता घट्ने, ढुवानी खर्च कम हुने र आपूर्तिमा हुने अवरोध न्यूनीकरण हुने विश्वास गरिएको छ। साथै झापामा भण्डारण क्षमता विस्तार हुँदा पूर्वी नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन थप सहज हुने अपेक्षा छ।
यी पूर्वाधार निर्माण सम्पन्न भएपछि नेपालको पेट्रोलियम आपूर्ति प्रणालीमा सुधार आउनुका साथै ऊर्जा सुरक्षासमेत मजबुत हुने अपेक्षा गरिएको छ।














प्रतिक्रिया