‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ भन्दै मोदीले गरे बहुआयामिक सहकार्यको घोषणा (पूर्णपाठ) « Khabarhub

‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ भन्दै मोदीले गरे बहुआयामिक सहकार्यको घोषणा (पूर्णपाठ)


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहकार्य प्याकेज घोषणा गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले अगस्ट महिनामा नेपालमा आएको भीषण बाढीका कारण भएको जनक्षतिप्रति समवेदना प्रकट गर्दै उक्त प्याकेजको घोषणा गरेका हुन्। प्रभावित परिवारको जीवन पुनः लयमा फर्काउने, नयाँ अवसर सिर्जना गर्ने र भविष्यका विपद्‌सँग जुध्न नेपालको क्षमता बलियो बनाउने उद्देश्यले प्याकेज ल्याइएको उनले बताए।

सम्बोधनका क्रममा मोदीले नेपालसँगको कनेक्टिभिटी, ऊर्जा, व्यापार, शिक्षा, कृषि र खेलकुद क्षेत्रमा अघि बढाइएका विभिन्न पहलहरूको विवरण प्रस्तुत गरे।

उनले उत्तराखण्ड र नेपालबीचको धार्चुला सडक पुल उद्घाटन तथा बनबसामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको जानकारी दिँदै नेपालतर्फ दोधारा चाँदनी एकीकृत जाँच चौकीको काम तीव्र गतिमा अघि बढाइने बताए। साथै, नेपालको पारवहन व्यापार सहज बनाउन काण्डला र पारादीप बन्दरगाहको पहुँच उपलब्ध गराइने उल्लेख गरे।

ऊर्जा क्षेत्रमा भारतको विशाल बजारले नेपालका नदीहरूको स्वच्छ ऊर्जा सम्भावनालाई समृद्धिको आधार बनाउन सक्ने बताउँदै मोदीले तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण–३ समयमै पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए। इन्धन तथा अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर राखिएको उल्लेख गर्दै उनले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण उद्घाटन र झापा पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको जनाए।

यसैगरी, नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब तथा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को अफसोर क्याम्पस स्थापना गर्ने, नेपाली विद्यार्थीलाई कानुन र प्रविधि विषयमा छात्रवृत्ति बढाउने तथा कृषि–औद्योगिक पार्क विकासमा सहयोग गर्ने मोदीले बताए। ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु गरिएको, रामायण तथा साझा सम्पदा प्रवर्द्धनका लागि ‘वेभ्स’ शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डललाई स्वागत गरिने र क्रिकेटलगायत खेलकुद पूर्वाधार तथा प्रशिक्षणमा सहयोग बढाइने पनि उनले उल्लेख गरे।

द्विपक्षीय भेटवार्तामा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रतिको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताउँदै मोदीले ‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ का सङ्कल्प साकार पार्न संयुक्त दृष्टिकोण दस्ताबेज जारी गरिने जानकारी दिए।

मोदीले गरेको सम्बाेधनको पूर्णपाठ

प्रधानमन्त्री बालेन्द्र शाहज्यू,

दुवै देशका प्रतिनिधिमण्डलका सदस्य र सञ्चारकर्मी मित्र, नमस्कार।

नेपालको प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो द्विपक्षीय भ्रमणमा आउनुभएका बालेन्द्र शाहज्यूलाई भारतमा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागिरहेको छ। केही महिनाअघि जब उहाँले विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघ (युएन) लाई सम्बोधन गर्नुभएको थियो, तब हामीले उहाँको दूरदर्शिताको स्पष्ट झलक देखेका थियौँ। अनि आज, पछिल्ला केही घण्टाको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रतिको उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धतालाई महसुस गरेको छु।

यस वर्ष नेपालका जनताले उहाँलाई जुन ऐतिहासिक जनादेश दिएका छन्, त्यसले नेपालको नयाँ पुस्ताको आकाङ्क्षा र अपेक्षाहरूलाई दर्साउँछ। भारत एक सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ साझेदार रहँदै आएको छ। यही भावनाका साथ आज हामीले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन धेरै महत्त्वपूर्ण निर्णयहरू लिएका छौँ।

मित्रहरू, भारत र नेपालको सम्बन्ध केवल छिमेकीको मात्र होइन, बरु आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो। हाम्रा खुसीहरू साझा छन्, हाम्रा चुनौतीहरू पनि साझा छन्। हामी एक–अर्काको प्रगतिमा साथी हौँ र कठिन समयमा एक–अर्काको सहारा पनि हौँ।

अगस्ट महिनामा नेपालमा आएको भीषण बाढीका कारण भएको जनक्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ। र आज, नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ मजबुती प्रदान गर्नका लागि हामी २४ हजार करोड नेपाली रुपैयाँको विकास सहकार्य प्याकेज (डेभलपमेन्ट कोअपरेसन प्याकेज) को घोषणा गर्दछौँ। प्रभावित परिवारहरूको जीवन पुनः लयमा फर्कियोस्, नयाँ अवसरहरू सिर्जना होउन् र भविष्यका विपद्‌हरूसँग जुध्न नेपालको क्षमता अझ बलियो होस् भन्ने हाम्रो सङ्कल्प रहनेछ।

मित्रहरू, भारत र नेपालको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र गहिरो जनस्तरको सम्बन्ध (पिपल-टु-पिपल टाइज) को धागोले उनिएको छ। भगवान् राम र माता सीता हाम्रो साझा सभ्यता र आस्थाका पहिचान हुनुहुन्छ। सन् २०१८ मा जनकपुरको पावन भूमिमा मैले भनेको थिएँ- नेपालबिना हाम्रा धाम अधुरा छन्, नेपालबिना हाम्रा राम पनि अधुरा छन्।

सन् २०२४ मा अयोध्यामा रामललाको प्राणप्रतिष्ठा भयो। यस ऐतिहासिक अवसरले हाम्रो साझा आस्थालाई नयाँ ऊर्जा दियो। त्यसयता करोडौँ श्रद्धालुहरू रामललाको दर्शनका लागि अयोध्या पुगिरहेका छन्। सन् २०२५ मा मात्रै देश र दुनियाँबाट करिब ३० करोड श्रद्धालुहरूले अयोध्याको यात्रा गरे।

आज सुरु गरिएको रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मार्फत हामी यस पवित्र सम्बन्धलाई एक नयाँ आयाम दिइरहेका छौँ। यसबाट अयोध्या आउने श्रद्धालुहरूका लागि अब जनकपुर गएर माता सीताको दर्शन गर्न पनि सहज हुनेछ। हामी लुम्बिनी र बोधगया लगायत दुवै देशका बौद्ध र शिव–शक्तिसँग जोडिएका पवित्र स्थलहरूबिचको कनेक्टिभिटी बढाउन पनि मिलेर काम गर्नेछौँ।

मित्रहरू, आज हामीले उत्तराखण्ड र नेपालबिचको धार्चुला सडक पुलको उद्घाटन र बनबसामा एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेकपोस्ट) को शिलान्यास गरेका छौँ। यसका साथै हामी नेपालतर्फ दोधारा चाँदनी एकीकृत जाँच चौकीको कामलाई पनि तीव्र गतिमा अगाडि बढाउनेछौँ। यी पहलहरूबाट उत्तराखण्ड र नेपालबिचको व्यापार र मानिसहरूको आवतजावत अझ सुविधाजनक हुनेछ। साथै, हामी बिहार, उत्तर प्रदेश तथा भारतका अन्य राज्यहरू र नेपालबीचका सडक, रेल र सीमा कनेक्टिभिटीका परियोजनाहरूलाई पनि नयाँ गति दिनेछौँ। नेपालको पारवहन व्यापारलाई अझ सहज बनाउन हामी काण्डला र पारादीप बन्दरगाहको पहुँच उपलब्ध गराउनेछौँ। मलाई विश्वास छ कि उन्नत व्यापारिक कनेक्टिभिटी र लगानीका यी सबै प्रयासहरूबाट नेपालको आर्थिक विकासले नयाँ गति लिनेछ।

मित्रहरू, नेपालका नदीहरूमा स्वच्छ ऊर्जाको अपार सम्भावनाहरू छन्। भारतको विशाल ऊर्जा बजारले यी सम्भावनाहरूलाई नेपालको आर्थिक समृद्धिको एक बलियो आधार बनाउन सक्छ। आज तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण–३ लाई समयमै पूरा गर्ने हाम्रो प्रतिबद्धता यही दृष्टिकोणको हिस्सा हो।

मित्रहरू, भारत धेरै वर्षदेखि नेपालका लागि पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुहरूको विश्वसनीय आपूर्तिकर्ता रहँदै आएको छ। हाम्रो ‘छिमेकी पहिले’ (नेबरहुड फर्स्ट) नीतिको भावनाअनुरूप, यस वर्ष तेल आपूर्तिसँग जोडिएका गम्भीर चुनौतीहरूका बाबजुद हामीले नेपाललाई इन्धन, रासायनिक मल र अन्य अत्यावश्यक वस्तुहरूको आपूर्ति निरन्तर राख्यौँ। आज मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको उद्घाटन र झापा पेट्रोलियम टर्मिनलको शिलान्यासले यो साझेदारीलाई अझ बलियो बनाउनेछ।

मित्रहरू, नेपालको युवा पुस्ता प्रतिभा, ऊर्जा र ठूला सपनाहरूले भरिएको छ। उनीहरूका सपनाहरू साकार पार्न भारत पूर्ण प्रतिबद्धताका साथ साझेदार बन्न चाहन्छ। यस सङ्कल्पलाई साकार पार्न हामी नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को एक अफसोर क्याम्पस स्थापना गर्नेछौँ। हामी नेपाली विद्यार्थीहरूका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसरहरू बढाउनेछौँ। र खाद्य प्रशोधन तथा मूल्य अभिवृद्धिलाई प्रवर्द्धन गर्न हामी नेपालमा कृषि–औद्योगिक पार्क (एग्रो–इन्डस्ट्रियल पार्क) विकास गर्न पनि सहयोग गर्नेछौँ।

मित्रहरू, रामायणको कथा आज चलचित्र र आधुनिक प्रविधिको माध्यमबाट नयाँ पुस्ता र पूरै विश्वमाझ पुगिरहेको छ। हामी चाहन्छौँ कि भारत र नेपालका युवा सिर्जनाकर्ताहरू (क्रिएटर्स) ले मिलेर आफ्नो साझा सम्पदालाई नयाँ माध्यमहरूबाट विश्वसामु पुर्‍याऊन्। यसै दिशामा आगामी ‘वेभ्स’ शिखर सम्मेलनमा हामी नेपालको एक ठूलो प्रतिनिधिमण्डललाई स्वागत गर्नेछौँ। खेलकुद, विशेषगरी क्रिकेटमा पनि हामी नेपालमा पूर्वाधार विकास र खेलाडीहरूको प्रशिक्षणमा सहयोग बढाउनेछौँ।

महामहिमज्यू, आज हामी हाम्रो साझा भविष्यलाई नयाँ दिशा दिनका लागि एक संयुक्त दृष्टिकोण दस्ताबेज जारी गर्दै छौँ। यो ‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ का आ–आफ्ना सङ्कल्पहरूलाई मिलेर साकार पार्ने खाका हो। हामीसँग स्पष्ट लक्ष्य छ, आपसी विश्वास छ र तिनलाई साकार पार्ने सामर्थ्य पनि छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीसँग माता सीता, भगवान् राम र भगवान् बुद्धको आशीर्वाद छ।

मलाई विश्वास छ कि यही भावनाका साथ हामी हाम्रो साझा दृष्टिकोणलाई ठोस उपलब्धिहरूमा बदल्नेछौँ र साथ मिलेर भारत–नेपाल सम्बन्धको एक नयाँ स्वर्णिम अध्याय लेख्नेछौँ।

भारत–नेपाल मैत्री अमर रहोस्। धेरै–धेरै धन्यवाद।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ३ : ०७ बजे

‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ भन्दै मोदीले गरे बहुआयामिक सहकार्यको घोषणा (पूर्णपाठ)

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन

पेट्रोलियम पूर्वाधारमा नेपाल–भारत सहकार्य विस्तार, इन्धन ढुवानी खर्च ५० प्रतिशतसम्म घट्ने

काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थको ढुवानी लागत घटाउने र आपूर्ति प्रणालीलाई थप

बालेन–मोदीले गरे तल्लो अरुणको शिलान्यास, जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन

नयाँ दिल्ली- नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र

प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै मोदीले भने- ‘शाहमा नेपालको भविष्यको स्पष्ट दृष्टिकोण छ’

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनको सम्बोधनको पूर्णपाठ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपाल र भारतबीच भएका समझदारी