झापा ५ : केपी, बालेन र रञ्जितले कस्तो ल्याए चुनावी घोषणापत्र ? « Khabarhub

झापा ५ : केपी, बालेन र रञ्जितले कस्तो ल्याए चुनावी घोषणापत्र ?


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा ५ चर्चाको एउटा केन्द्र बन्न पुगेको छ । 

सो क्षेत्रबाट लामो समयदेखि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले लगातार निर्वाचन जित्दै आएकोमा उनलाई हराउनकै लागि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धाका लागि गएका छन् । जसका कारण पनि सो निर्वाचन क्षेत्र चर्चाको केन्द्र बन्न पुगेको छ ।

२४ जना उम्मेदवार रहेको झापा ५ मा सामाजिक सञ्जाल र जनपरिचालनको हिसाबले हेर्दा भने पछिल्लो समयमा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रास्वपाको उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुन सक्ने देखिएको छ ।

झापा ५ का उम्मेदवारहरूमध्ये एमालेका अध्यक्ष केपी ओली, कांग्रेसकी मन्धरा चिमरिया र रञ्जित तामाङले यस अघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका थिए । तर, बालेन्द्र शाहले भने आज सोमबार मात्रै आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

मुख्य प्रतिस्पर्धी दलका चारै जना उम्मेदवारले आफ्नो घोषणापत्रमा स्थानीय मुद्दादेखि केन्द्रीय मुद्दासम्मलाई समेटेका छन् । जसमध्ये एमालेका केपी ओलीले ४२ बुँदामा र कांग्रेसकी मन्धरा चिमरियाले ४ वटा विषय र २ वटा गाउँपालिकाको विषयमा आफ्नो धारणा घोषणापत्रमा उल्लेख गरेकी छन् ।

त्यस्तै, नेकपाका रञ्जित तामाङले ७ भिजन, ३५ भिजन र २१ लक्ष्य र रास्वपाका बालेन्द्र शाहले संघीय सांसदको हैसियतले गर्ने र ११ वटा विषयमा आफ्ना धारणा घोषणापत्रमा उल्लेख गरेका छन् ।

घोषणापत्रमा कसको मुद्दा कस्तो ?

यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका एमालेका केपी ओलीले बजेट विनियोजित भएर अधुरा रहेका विकासका काम पूरा गर्ने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा दिने, जनता आवास र विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिने, आदिवासी–जनजाती–दलित लगायत पछाडि पारिएका सबै नागरिकको जीवस्तर उकास्ने जस्ता कार्यक्रम घोषणापत्रमा उल्लेख गरेका छन् ।

स्वास्थ्य बिमालाई थप व्यवस्थित गर्ने, सबै ग्राभेल सडकलाई कालोपत्रे गर्ने, प्रत्येक पालिकामा एक सुविधासम्पन्न खेलमैदान, सबै सामुदायिक क्याम्पस र विद्यालयलाई सक्षम बनाउने, कृषिलाई आधुनिकीकरण गर्ने, खाद्यान्नमा आत्मनिर्भर बनाउने लगायतका राष्ट्रिय विषय ओलीले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

स्थानीय मुद्दामा ओलीले गौरादह बजारलाई स्मार्ट सिटी, स्थानीय खोलाको तटबन्धन, स्थानीय सडकहरूको निर्माण, नेपाल चीनमैत्री औद्योगिक पार्क, रंगशाला, आयुर्वेदिक शिक्षण अस्पताल, खोलामा वृक्षारोपण लगायतका विषय समेटेका छन् ।

कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले भने राष्ट्रिय मुद्दालाई आफ्नो घोषणापत्रमा उठाएकी छैनन् । उनले स्थानीय आवश्यकता र समस्यासँग जोडिएका शैक्षिक क्षेत्र, भौतिक पूर्वाधार र सहरी विकास, कृषि तथा आर्थिक विकास, स्वास्थ्य तथा सामाजिक सुरक्षा र सो निर्वाचन क्षेत्रमा पर्ने पालिकाका मुद्दा उठाएकी छन् ।

एक पालिका एक नमुना विद्यालयको स्थापना, दमकमा चक्रपथ, ढल व्यवस्थापन, कृषि क्षेत्रमा फार्म टु मार्केट कार्यक्रम, दमक सरकारी अस्पताको स्तरोन्नती लगायका मुख्य कार्यक्रम चिमरियाको घोषणापत्रमा उल्लेख छ । त्यस्तै, चिमरियाले घोषणापत्रमा पालिका भित्र रहेका झोलुंगे पुल, रंगशाला, कोल्ड स्टोर, तटबन्धन, कृषि थोक बजार, सडक कालोपत्रे, अर्गानिक मल कारखाना, सडक पुल, लगायतका विषय समावेश गरेकी छन् ।

नेकपाका उम्मेदवार रञ्जित तामाङले पनि केही राष्ट्रिय र अधिक स्थानीय विषयलाई आफ्नो घोषणापत्रमा समावेश गरेका छन् । उनले गुणस्तरीय, सुलभ र रोजगारमुलक शिक्षा, पहुँचयोग्य, भरपर्दो र जनकेन्द्रित स्वास्थ्य सेवा, पारदर्शी, जवाफदेही र जनमैत्री शासन लगायतका विषय आफ्नो मिसन रहेको उल्लेख गरेका छन् । 

साथै, उनले घोषणापत्रमा ०४६ साल यताका अनियमितताको छानबिन गर्ने, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय व्यवस्था, विज्ञ सम्मिलित मन्त्रिमण्डल, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका राष्ट्रिय राजनीतिक विषय पनि समावेश गरेका छन् ।

त्यस्तै, तामाङले स्थानीय रूपमा सो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल, आयुर्वेदिक शिक्षण अस्पताल, सुकुम्बासीलाई धनी पुर्जा वितरण, सडक, कृषिबजार, थिएटर लगायतका कार्यक्रम घोषणापत्रमा अघि सारेका छन् ।

चर्चामा रहेका अर्का बलिया उम्मेदवार रास्वपाका बालेन्द्र शाहले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा पनि अन्य उम्मेदवारको जस्तै राष्ट्रिय राजनीतिसँग जोडिएका र स्थानीय मुद्दा अघि सारेका छन् । शाहलाई रास्वपाले आगामी प्रधानमन्त्रीको रूपमा समेत अघि सारेको कारण उनले घोषणापत्रमा रास्वपाको घोषणापत्र कार्यान्वयनको नेतृत्व गर्ने कुरा समावेश गरेका छन् ।

राष्ट्रिय रूपमा शाहले संविधानले सुनिश्चित गरेका गास, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण नागरिकसम्म पुर्याउन आवश्यक कानुन, बजेट र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रहित विपरित काम नगर्ने, नागरिकको विश्वासलाई काममा रुपान्तरण गर्ने र राजनीतिलाई सेवाको रूपमा लिने उनको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, शाहले शिक्षा, पूर्वाधार, स्वास्थ्य, कृषि तथा रोजगारी, भूमि व्यवस्थापन र वातावरण, महिला तथा बालबालिका, सुशासन, पर्यटन तथा उद्योग, कला एवं संस्कृति र खेलकुदको विषयमा स्थानीय मुद्दाहरूलाई घोषणापत्रमा समेटेका छन् ।

बुँदागत रूपमा हेर्दा कांग्रेसकी उम्मेदवार चिमरिया र रास्वापाका उम्मेदवार शाहको चुनावी घोषणापत्रमा स्थानीय मुद्दा बढी देखिएका छन् । तर, अधिकांश स्थानीय मुद्दामा भने चारैजना उम्मेदवारको समानता रहेको पनि देखिएको छ ।

राष्ट्रिय मुद्दामा भने कांग्रेसकी उम्मेदवारले धेरै ठूलो आकांक्षा राखेका देखिँदैन भने एमालेका उम्मेदवार ओलीले अनुभवका आधारमा आफ्नो विषय घोषणापत्रमा उल्लेख गरेको देखिन्छ ।

प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका उम्मेदवार तामाङ र रास्वपाका उम्मेदवार शाह नयाँ भएका कारणले उनीहरूले सोही अनुसार आफ्नो आकांक्षा घोषणापत्रमा समावेश गरेका छन् । जुन विषयमा कतिपय कुरा समान पनि देखिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : ५७ बजे

आफ्ना नागरिकलाई इरान छोड्न भारतको आग्रह

नयाँदिल्ली– तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकाबीच भारत सरकारले आफ्ना

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट

इनड्राइभले आयोजना गर्‍यो ‘काठमाडौं क्लिन एयर डायलोग’

काठमाडौं– इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग आयोजना गर्दै उपत्यकामा बढ्दो