काठमाडौं- फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् । १९ जना पदाधिकारीमध्ये दुई दिनको बैठकमा १४ जना पदाधिकारी बोल्दा १२ जनाले केपी ओलीको विकल्प खोज्नुपर्ने संकेत गरेका छन् ।
१२ नेतामध्ये ५-७ जना नेताहरूले त सोझै ओलीको राजीनामा नै मागेको बैठकमा सहभागी नेताहरूको दाबी छ । विगतमा ओली निकट मानिने पार्टी महासचिव शंकर पोखरेल पनि शनिबारको बैठकमा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा खुलेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार महासचिव पोखरेलले पनि यथास्थितिमा एमाले अगाडि बढ्न नसक्ने भएकाले सबैले आत्मसमीक्षा गर्दै नयाँ दिशाबाट पार्टीलाई अगाडि बढाउनुपर्ने मत राखेका थिए । अध्यक्षसहित अरु पदाधिकारी पनि कुन विषयमा कति सच्चिनुपर्ने वा के कति त्याग गर्नुपर्ने हो, त्यसको लागि तयार हुनुपर्ने महासचिव पोखरेलको धारणा थियो । त्यसो नभए अर्को निर्वाचनसम्म एमालेका आधाभन्दा बढी नेता तथा कार्यकर्ताले विकल्प खोज्ने महासचिव पोखरेलले दाबी गरेका थिए ।
बैठकमा ओलीविरुद्ध नेताहरू उत्रिदा पनि ओली अझै मजबुत नै महसुस गरिरहेको नेताहरु बताउँछन् । बरु उनले सचिवालयमा शक्ति बढाउनका लागि विभिन्न प्रपञ्च रचिरहेको स्रोतको दाबी छ । ‘मेरो कारणले पार्टी र देशलाई क्षति भयो भनेर गल्ती स्वीकार्ने पक्षमा उहाँ अझै हुनुहुन्न ।’ सचिवालयका एक नेताले खबरहबलाई भने, ‘उहाँ आफ्नो कारण नभइ षड्यन्त्रका कारण एमाले हारेको भन्नुहुन्छ । एमाले मात्रै होइन अरु पार्टी पनि हारेका छन् । मलाई मात्रै दोष नलाउनुहोस् भन्ने किसिमको कुरा गर्नुहुन्छ ।’
विश्वासपात्र शंकरका कारण संकट
विगतमा अध्यक्ष ओलीको साथ लिएर पार्टीमा दुई पटक महासचिव बनेका शंकर पोखरेल पनि विपक्षमा खुलेपछि ओलीलाई संकट देखिएको छ । महासचिवले एमाले नेतृत्व अब हस्तान्तरण र पुस्तान्तरणमा जानुपर्ने संकेत गरेपछि ओली सशंकित भएका हुन् । बीचबीचमा ओलीले दिशानिर्देश गर्दै आफूलाई बचाउ गर्ने प्रयास भने गरेका थिए । बैठकको सुरुवातमै बोलेका महासचिव पोखरेलले यथास्थितिमा एमाले जनतामा जान नसक्ने र पार्टी बचाउन नसक्ने टिप्पणी गरेपछि ओलीको मुहारमा चमक नदेखिएको बैठकमा सहभागी एक सचिवालय सदस्यको भनाइ छ ।
‘महासचिवज्यूले एमाले अब नयाँ शीराबाट अगाडि बढ्नुपर्छ भनेर कडा रूपमा बोलेपछि अध्यक्षज्यूको मुहारमा चमक थिएन ।’ ती नेताले भने, ‘हिजो विष्णु कमरेड र पृथ्वीसुब्बा कमरेडले बोल्दा पनि उहाँको मुहार त्यस्तै देखिएको थियो । आज महासचिवले बोल्दा पनि उस्तै गर्नुभयो ।’
बहुमत सचिवालय सदस्य ओलीको विपक्षमा
अहिलेसम्मको अवस्था हेर्दा बहुमत सचिवालय सदस्य ओलीको विपक्षमा खुल्ने अवस्था देखिन्छ । बरु उनले सचिव रहेका महेश बस्नेत र उपाध्यक्ष रामबहादुर थापा बादललाई हतियार बनाएका छन् । आज बोल्ने अधिकांश पदाधिकारी ओलीको विकल्प खोज्ने पक्षमा उभिएपछि अरु पदाधिकारीलाई रोकेर ओलीले शनिबार पनि बैठक सक्न दिएनन् ।
भोलि बोल्ने पदाधिकारीमध्ये केही ओलीको पक्षमा बोल्नेमा देखिन्छन् । भोलि बोल्ने नेताहरू भानुभक्त ढकाल, शेरधन राई, खगराज अधिकारी र राजन भट्टराई ओलीनिकट नेता मानिन्छन् । तर उनीहरूमध्ये केही नेता समेत ओलीको विकल्प खोज्नुपर्ने लाइनमा आउने स्रोतको दाबी छ ।
‘पार्टी जोगाउन सबै नेताहरूको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण भोलि बोल्ने नेताहरुले पनि पार्टीलाई पुनर्गठन गर्दै नयाँ शीराबाट अगाडि बढाउनुपर्छ भन्ने पक्षमा देखिनुभएको छ ।’ बैठकमा सहभागी ती नेताले भने, ‘आज बोल्ने सचिव पद्मा अर्याल, उपमहासचिव लेखराज भट्ट, सचिव छविलाल विश्वकर्माले डाइरेक्ट रूपमा ओलीले नेतृत्व छोड्नुपर्छ नभनेपनि उहाँहरुको संकेत यथास्थितिमा एमाले चल्न सक्दैन भन्ने नै थियो ।’
योगेशसँग थप चिढिए ओली
आजको सचिवालय बैठकमा योगेश भट्टराईसँग ओली थप चिढिएका छन् । योगेशले बोल्दा ओलीले नाक खुम्च्याउँदै उनीलाई बोलि सक्न समेत नदिएको बताइएको छ ।

‘योगेश कमरेड बोल्दा मर्यादित रूपमा प्रस्तुत हुनुहोस् र छोटो समय बोल्नुहोस् भनेर अध्यक्षज्यूले बारम्बार भन्नुभयो ।’ बैठकमा सहभागी एक नेताले खबरहबलाई भने, ‘अध्यक्षज्यू सकेसम्म योगेशले थोरै बोलोस् र उसको बोली सुन्न नपरोस् भन्ने हिसाबले प्रस्तुत हुनुभयो । इरिटेट मानेजस्तो गरी योगेश कमरेडको बोलीलाई बेवास्ता गरेजस्तो उहाँको अनुहार देखिन्थ्यो ।’
महेश ओलीको बचाउमा
ओलीलाई गुण्डुमा सुरक्षा दिएर राखिरहेका सचिव महेश बस्नेत भने ओलीको बचाउमा निस्किएका छन् । संकटका बेलामा नेतृत्वलाई प्रहार गर्नु पार्टीको नीति सिद्धान्त विपरीत रहेको भन्दै अध्यक्षका कारण मात्रै पार्टी यो हालतमा नपुगेको बस्नेतको तर्क छ । उनले आफ्नै नेताहरुले पार्टीविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएका छन् ।
योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरूलाई संकेत गर्दै बस्नेतले आफ्नै पार्टीका नेताहरूले खुट्टा तानेका कारण सम्मानजनक मत परिणाम निर्वाचनमा ल्याउन नसकेको उल्लेख गरेका थिए । उनले पार्टीलाई नयाँ शीराबाट अगाडि बढाउनुपर्ने विषयमा आफ्नो विमति नरहेपनि नेतृत्वलाई हटिहाल्, राजीनामा दिइहाल्, निस्किहाल् भन्ने प्रवृत्ति प्रतिगामी रहेको उल्लेख गरेका थिए ।
नेताहरू भन्छन्- ओलीको राजीनामा मागिएको छैन
बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले पत्रकारमाझ ओलीको राजीनामा कुनै पनि नेताले नमागेको दाबी गरे । उनले बाहिर मिडियामा अतिरञ्जित तरिकाले कुराहरू आएकाले यसबारे पनि बैठकमा अध्यक्षले ध्यानाकर्षण गराएका थिए । ‘पार्टीको अनुशासन र जिम्मेवारीभन्दा बाहिर गएर मिडियामा नेताहरू छरपष्ट भएपछि यसलाई अध्यक्षज्यूले ध्यानाकर्षण गराउनुभयो ।’ भट्टले भने, ‘पार्टी बैठकको कुरा त्यहीँ सीमित हुनुपर्छ । बाहिर छरपष्ट भएर अतिरञ्जित गर्नु हुँदैन ।’
त्यसो त एमाले सचिव पद्मा अर्याल पनि पार्टी बैठकमा अध्यक्षको राजीनामा नमागिएको दाबी गर्छिन् । उनी मिडियामा अनेक कुराहरू आएको बताउँदै भित्री रूपमा नामै तोकेर अध्यक्षको राजीनामा कसैले नमागेको दाबी गर्छिन् ।
‘अध्यक्षको राजीनामा मागेको मलाई जानकारी छैन । नेताहरुले पार्टीलाई नयाँ शीराबाट अगाडि बढाउँ, सबैको भावना समेटेर जाउँ चाहिँ भन्नुभएको हो,’ उनी भन्छिन्, ‘अध्यक्षले छाडिहाल्नुपर्छ, राजीनामा दिइहाल्नुपर्छ, आजै दिनुपर्छ, भोलि दिनुपर्छ भनेर कसैले पनि कुरा राखेको छैन । मिडियामा कसरी आयो, म अचम्ममा छु ।’
सचिवालय बैठकमा मात्र होइन एमाले केन्द्रीय कमिटीका नेताहरू पनि ओलीको बहिर्गमन खोजिरहेका छन् । युवा पुस्ताका नेताहरु चाहिँ ओली मात्रै होइन, ओलीसहित पहिलो पुस्ताले अब नेतृत्वबाट बिदा लिएर अभिभावकत्व ग्रहण गर्नुपर्ने र दोस्रो अथवा तेस्रो पुस्ताले एमालेको नेतृत्व सम्हाल्नुपर्ने पक्षमा छन् ।
अब बस्ने केन्द्रीय कमिटी बैठकमा पनि नेताहरूले यो कुरा राख्ने बताइन्छ । तर ओली भने केन्द्रीय कमिटीमा आफ्नो बहुमत पुर्याउनका लागि अनेक हिसाबले लागिरहेको स्रोतको दाबी छ ।
ओलीले भने : भोलि मेरो पालो
शनिबारको बैठक सक्दै अध्यक्ष ओलीले भोलि आफ्नो पालोमा कुरा राख्ने बताएका छन् । सबैको कुरा सुनेको भन्दै उनले अफ्ठ्यारो पर्दा नेतृत्वमाथि खनिने नेताहरूलाई पनि आफूले हेरेको बताए ।
उनले सबैको धारणा सुनेर भोलि आफ्नो पालो रहेको बताउँदै भने, ‘पार्टी अप्ठ्यारो पर्दा नेताहरू कहाँ के गर्दै हुनुहुँदो रहेछ भन्ने अहिले बल्ल थाहा भयो । भोलि मेरो पालो ।’














प्रतिक्रिया