काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल फागुन २१ गतेको चुनावका प्रतिस्पर्धी र त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहलाई करोडौंको गाडी दिएका व्यापारीको बयानबाट समातिएको खुलेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार शुक्रबार विशेष अदालतमा उपस्थित गराएसँगै यो कुरा खुलेको हो । विशेषको इजलासमा थुनछेक बहसका क्रममा विशेष सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूले विष्णु पौडेलमाथिको अभियोजन र उनीविरुद्धका बयानकर्ताबारे अवगत गराएका हुन् ।
फागुन २१ गतेको चुनावमा रुपन्देही क्षेत्र नम्बर २ मा पौडेलका प्रतिस्पर्धी चुन्नप्रसाद शर्मा पौडेलले दिएको बयान कागजलाई पक्राउको आधार बनाइएको छ। दुवै पौडेल फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग पराजित भएका थिए ।
कांग्रेस उम्मेदवार चुन्नप्रसाले बयानका क्रममा लुकाइएको रकम पूर्वमन्त्री पौडेलकै ‘हो’ भनेर बयान दिएकै भरमा पक्राउ गर्न नमिल्ने तर्क कानुन व्यवसायीको छ। बहसका क्रममा वरिष्ठ अधिवक्ता रमेश बडालले राजनीतिक प्रतिस्पर्धीहरूको बयानलाई विश्वसनीय आधार मान्न नहुने पनि तर्क गरेका छन् ।
सरकारी पक्षले पौडेललाई कमलकिशोर मालपानी र चुन्नुप्रसादको बयानका आधारमा समातिएको बताए । त्यसपछि पौडेलको पक्षमा वकालत गरेका वकिलले उक्त कुराको कडा प्रतिवाद गरे।
‘श्रीराम टोबाकोको सेयर अर्को कम्पनीले किन्यो भनेर विष्णुप्रसाद पौडेललाई दोषी देखाइँदैछ । उक्त सेयर खरिद बिक्री प्रकरणमा पौडेलले निर्देशनसँगै कहीँ कतै संलग्ता हुने प्रमाण छैन’, उनले भने ।
२०८२ फागुन २१ को चुनावअघि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ तथा सुर्तीजन्य उद्योगका सञ्चालक कमलकिशोर मालपानीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहलाई करिब ८ करोडको गाडी दिएका थिए । मालपानीका साझेदार चुन्नुप्रसाद पनि चर्चित व्यवसायीसमेत हुन् ।
‘मालपानी भन्ने व्यक्तिले कसलाई गाडी दिएका थिए ? बालेन शाहलाई होइन र ? मालपानीको गाडी कसले चढ्यो ? प्रयोग कसले गरेको थियो ? ८-८ करोडको गाडी जसले चढ्यो, उसलाई नसमात्ने, उसलाई नछुने अनि सम्पत्ति शुद्धीकरण जस्तो विषयमा यति हचुवा शैलीमा कसैलाई समात्न सकिँदैन’, उनले भने ।
उनले हचुवाका भरमा यो मुद्दा दर्ता भएपछि सार्वजनिक पदका लागि अयोग्य हुने अवस्था हुनेतर्फ पनि चिन्ता जनाए । संयोग कस्तो छ भने पौडेलविरुद्ध बयान दिएका मालपानी र चुन्नु व्यापारिक पार्टनर पनि हुन् ।
दुवैले खैनी र गुट्खा उत्पादन गर्छन् । दुवैजना करेन्ट चाउचाउका मालिक हुन् । उनीहरूले उत्पादन गरेका पान र गुट्खाविरुद्ध बालेनले नै काठमाडौंमा निषेध अभियान चलाएका थिए । दुवैले श्रीराम टोबाकोको शेयर सस्तोमा हाल जेलमा रहेका दीपक भट्टलाई बेच्न बिष्णु पौडेलले सहजीकरण गरेको बयान दिएका छन् ।
‘पछिल्लो समय हाम्रो अदालत पनि टुलुटुलु हेर्दै बसेको छ। मालपानीले जसलाई गाडी दियो, उसलाई कारबाही हुनुपर्ने कसुरमा संलग्न हुने अवस्था पनि छैन’, उनले भने, ‘यो स्टन्ट बाजी हो । कुनै बेला मुसोलिनीले के गरेका थिए ? हिटलरले के गरेका थिए ? पहिला देश कब्जा गरेर संसारभर विध्वंश मच्चाए ।’
उनले विष्णु पौडेलविरुद्ध कसुर स्थापित हुने खालका कुनै पनि प्रमाण सरकारसँग नरहेकाले हिरासतमा नराखी रिहा गर्नुपर्ने पनि माग गरे।
पूर्वमन्त्री पौडेलको पक्षमा उत्रिएका कानुन व्यवसायीहरूले पक्राउ नै गलत भएको बताएका छन् । उनीहरूले सरकारी कदमलाई राजनीतिक प्रतिशोध भन्दै वकिल या परिवारको जिम्मा-जमानीमा छाड्न माग गरेका छन् । वरिष्ठ अधिवक्ता रमेश बडाल, केदार कोइराला, टीकाबहादुर कुवँर र सुजाता केसीसहितका कानुन व्यवसायीहरूले पौडेलविरुद्ध प्रमाण नभेटिएको जिकिर गरे।
वरिष्ठ अधिवक्ता बडालले सरकारले राजनीतिक प्रतिशोधलाई तीव्र बनाउने नियतका साथ पक्राउ गरेकाले उक्त स्वेच्छाचारी कदमलाई अनुमोदन गर्नु गतल हुने बताएका छन् । उनीहरूले मालपानीको गाडी चढ्ने व्यक्ति (बालेन शाह)माथि पनि अनुसन्धान गर्नुपर्ने जिकिर गरेका छन्।









प्रतिक्रिया