भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत गीतामा कृष्णले भनेका छन्-
दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च ।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् ।।
दम्भ, घमण्ड, अहङ्कार, क्रोध, कठोरता र अज्ञान आसुरी स्वभावका लक्षण हुन् भन्ने यसको अर्थ हुन्छ। अथवा, कामभन्दा प्रदर्शनलाई प्राथमिकता दिनु दम्भको एक रूप हो।
चाणक्य भन्छन्- ‘रूपलाई गुणले सुशोभित बनाउँछ, कुललाई शीलले, विद्यालाई सफल प्रयोगले र धनलाई सदुपयोगले सफल बनाउँछन्।’
अर्थात् प्रचार होइन, परिणामले मानिसको मूल्य निर्धारण गर्छ।
महाभारतमा दुर्योधनले आफ्नो शक्ति र वैभव बारम्बार प्रदर्शन गर्थ्यो। तर इतिहासले उसको वैभव होइन, अहङ्कार सम्झियो। अर्कोतर्फ, युधिष्ठिरले प्रचारभन्दा धर्मलाई प्राथमिकता दिए। अन्ततः इतिहासले युधिष्ठिरलाई सम्मान गर्यो।
रावण अत्यन्त विद्वान् र शक्तिशाली थियो। तर उसमा दम्भ र आत्मप्रदर्शन अत्यधिक थियो। रामले भने आफ्नो पराक्रमको प्रचार कहिल्यै गरेनन्। विजयपछि पनि विनम्र रहे। यही कारण राम आदर्श बने, रावण खराब रूपमा चित्रित भए।
रावण अत्यन्त विद्वान् र शक्तिशाली थियो। तर उसमा दम्भ र आत्मप्रदर्शन अत्यधिक थियो। रामले भने आफ्नो पराक्रमको प्रचार कहिल्यै गरेनन्। विजयपछि पनि विनम्र रहे। यही कारण राम आदर्श बने, रावण खराब रूपमा चित्रित भए।
विदुरले राजालाई सधैँ सम्झाउँछन् कि राजाको मूल्य उसको वचन वा प्रदर्शनले होइन, प्रजाले पाएको न्याय र सुखले हुन्छ। अर्थात् शासनको मापन प्रचारबाट होइन, परिणामबाट गरिनुपर्छ।
नेपालको राजनीतिमा पछिल्ला वर्षमा एउटा नयाँ प्रवृत्ति आइरहेको छ। कामभन्दा दृश्य, परिणामभन्दा प्रचार र नीतिभन्दा भाइरल बन्ने होड देखिएको छ।
कुनै बेला ऊर्जामन्त्री हुँदा गोकर्ण विष्ट विद्युत् चुहावट नियन्त्रणको सन्देश दिन स्वयं बिजुलीको स्विच तान्दै हिँडे। त्यसपछि सञ्चारमन्त्री हुँदा मोहन बस्नेत भर्याङ चढेर अवैध तार काट्दै सार्वजनिक चर्चामा आए। अहिले गृहमन्त्री सुदन गुरुङ होटेलमा छापा मार्दै प्रत्यक्ष रूपमा देखिन थालेका छन्। यी सबै घटनाको उद्देश्य आ-आफ्नै हुन सक्छ, तर एउटा समानता भने देखिन्छ, त्यो हो- कामसँगै क्यामेराको उपस्थिति।
आजको युगमा सामाजिक सञ्जालले राजनीतिलाई पनि बदलिदिएको छ। एउटा तस्वीर, केही सेकेन्डको भिडियो वा प्रत्यक्ष प्रसारणले धेरै चर्चा कमाइदिन्छ। त्यसैले धेरै नेताहरूलाई नीतिगत सुधारभन्दा पनि ‘भिजुअल’ प्रभाव पार्ने गतिविधि बढी आकर्षक लाग्न थालेको देखिन्छ।
राज्य सञ्चालन दृश्यले हुन्छ कि प्रणालीले ? मन्त्री आफैँ छापा मार्दै, तार काट्दै वा स्विच तान्दै हिँड्नुपर्ने अवस्था किन आउँछ ? यदि राज्यका निकाय प्रभावकारी छन् भने उनीहरूले आफ्नो नियमित काम गर्नुपर्ने हो। मन्त्रीको भूमिका नीति बनाउने, प्रणालीलाई उत्तरदायी बनाउने र परिणाम सुनिश्चित गर्ने हो । हरेक घटनास्थलमा पुगेर क्यामेराअगाडि देखिनु होइन।
यसो भन्दैमा यस्ता गतिविधि सबै गलत हुन् भन्ने पनि होइन। कहिलेकाहीँ मन्त्रीको प्रत्यक्ष सक्रियताले सम्बन्धित निकायलाई जिम्मेवार बनाउन, जनतालाई सन्देश दिन र तत्काल समस्या समाधान गर्न सहयोग पुर्याउन सक्छ। तर यदि त्यो सक्रियता प्रचारमा सीमित हुन्छ र दीर्घकालीन सुधार हुँदैन भने त्यो क्षणिक चर्चाको विषय मात्र बन्छ।
राजनीतिमा मात्र होइन, समाजमा पनि भाइरल संस्कृतिको प्रभाव गहिरो छ। सामाजिक सञ्जालमा चर्चित हुनका लागि मानिस जे पनि गर्न तयार देखिन्छन्। कसैले सिंहदरबारको गेटमा सुतेर ध्यान तान्छ, कसैले अनैतिक वा जोखिमपूर्ण काम गरेर केही समयको प्रसिद्धि खोज्छ। अहिले चर्चा आफैँमा उपलब्धि जस्तो मानिने अवस्था सिर्जना भएको छ।
हुन त हाम्रो मूल्याङ्कन गर्ने दृष्टिकोण पनि निष्पक्ष देखिँदैन। आफूले गरेको प्रदर्शनलाई ‘साहसी कदम’ भन्ने, तर विपक्षीले उस्तै काम गर्दा ‘नाटक’ वा ‘स्टन्ट’ भन्ने प्रवृत्ति बढ्दो छ। व्यक्ति फेरिन्छ, तर हाम्रो मापदण्ड फेरिँदैन। यही कारणले समाजमा निष्पक्ष बहसभन्दा पक्षधरताको आवाज बढी सुनिन्छ।
‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान यहाँ सान्दर्भिक देखिन्छ। पात्र बदलिन्छन्, शैली बदलिन्छ, तर प्रचारमुखी राजनीति भने उस्तै रहन्छ। जनता भने हरेक पटक नयाँ दृश्य हेर्छन्, नयाँ आशा राख्छन्, तर परिणाम उही पुरानै भइरहेको छ। यही पाराको भाइरलले देश बदल्दैन।
लोकतन्त्रमा जनताले दृश्यभन्दा परिणाम खोज्नुपर्छ। मन्त्रीले कति होटेलमा छापा मारे, कति तार काटे वा कति स्विच ताने भन्नेभन्दा पनि त्यसपछि प्रणाली कति सुध्रियो, भ्रष्टाचार कति घट्यो, सेवा प्रवाह कति सहज भयो भन्ने प्रश्न महत्त्वपूर्ण हो।
इतिहासले भाइरल भएको दृश्य होइन, परिवर्तन ल्याएको कामलाई सम्झिन्छ। क्षणिक चर्चाले ताली त दिलाउन सक्छ, तर दीर्घकालीन सम्मान भने परिणामले मात्र दिलाउँछ। भाइरल हुने प्रवृत्ति आधुनिक हुन सक्छ, तर मोह, दम्भ र प्रदर्शनको रोग नयाँ होइन।
इतिहासले भाइरल भएको दृश्य होइन, परिवर्तन ल्याएको कामलाई सम्झिन्छ। क्षणिक चर्चाले ताली त दिलाउन सक्छ, तर दीर्घकालीन सम्मान भने परिणामले मात्र दिलाउँछ। भाइरल हुने प्रवृत्ति आधुनिक हुन सक्छ, तर मोह, दम्भ र प्रदर्शनको रोग नयाँ होइन।
गीता, रामायण, महाभारत र चाणक्य नीतिले हजारौँ वर्षअघि नै चेतावनी दिएका छन्। क्षणिक चर्चाले ताली त दिलाउन सक्छ, तर स्थायित्व कर्म र परिणामले मात्र दिलाउँछ। इतिहासले प्रचार गर्नेहरूलाई भन्दा परिवर्तन गर्नेलाई बढी सम्झिएको छ।
श्रीमद्भगवद्गीताको दोस्रो अध्यायमा भगवान् श्रीकृष्णले अर्जुनलाई भनेका छन्- ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।’ यसको सामान्य अर्थ मानिसको अधिकार कर्म गर्नमा छ, त्यसको फलमा होइन भन्ने हुन्छ। यो शिक्षा धार्मिक वा आध्यात्मिक सन्देश मात्र होइन; नेतृत्व, राजनीति, प्रशासन र सार्वजनिक जीवनका लागि पनि उत्तिकै सान्दर्भिक जीवनदर्शन हो।
आजको समयमा धेरै मानिस कामभन्दा प्रचारमा, परिणामभन्दा भाइरल हुनमा र सेवाभन्दा चर्चामा बढी केन्द्रित देखिन्छन्। सामाजिक सञ्जालले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ। क्यामेराअगाडि गरिने साना-साना कामले तत्काल चर्चा त पाउन सक्छ, तर त्यसले दीर्घकालीन परिवर्तनको ग्यारेन्टी गर्दैन।
गीताको यो श्लोकले मानिसलाई कर्तव्य इमानदारीपूर्वक गर, तर त्यसको बदलामा प्रशंसा, ताली, पद वा लोकप्रियताको अपेक्षाले आफ्नो कर्मलाई निर्देशित नगर भन्ने सन्देश दिएको छ। कामको उद्देश्य सेवा र जिम्मेवारी हुन्छ, प्रचार आफैँ पछि लाग्छ। तर उद्देश्य प्रचार मात्र हुन्छ भने कर्म नै प्रदर्शनमा सीमित हुन्छ।
राज्य सञ्चालनमा पनि यही सिद्धान्त लागू हुन्छ। कुनै मन्त्रीले क्यामेराअगाडि छापा मार्दै हिँड्नु, तार काट्नु वा स्विच तान्नु क्षणिक रूपमा भाइरल हुन सक्छ। तर इतिहासले त्यस्ता दृश्य होइन, उनीहरूले बनाएका नीति, गरेका सुधार, दिएको सुशासन र जनजीवनमा परेको सकारात्मक प्रभावलाई सम्झन्छ।
त्यसैले कर्तव्यलाई प्रदर्शन होइन, धर्म ठान, परिणामलाई प्रचार होइन, समाजको हितसँग जोड, अनि प्रसिद्धिलाई लक्ष्य होइन, कर्मको स्वाभाविक फलका रूपमा स्वीकार भनेर नैतिक दृष्टान्तमा पनि भनिएको छ। यही सोचले व्यक्तिलाई प्रचारमोहबाट मुक्त गर्छ र नेतृत्वलाई क्षणिक लोकप्रियताभन्दा स्थायी सम्मानतर्फ डोर्याउँछ।












प्रतिक्रिया