भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने क्रममा घरमा भीषण विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ। सीवानका प्रहरी उपरीक्षक भारत सोनीका अनुसार घटनास्थलबाट पाँच जनाको शव फेला परेको पुष्टि नागरिक स्वास्थ्य अधिकारीले गरेका छन्।
घटना हुँदा घरमा सातदेखि आठ जना रहेको अनुमान गरिएको छ। तीमध्ये पाँच जनाको मृत्यु पुष्टि भएको र दुईदेखि तीन जना घरबाहिर रहेको हुन सक्ने बताइएको छ। प्रहरीले उनीहरूको अवस्थाबारे जानकारी जुटाइरहेको छ।
प्रहरी उपरीक्षक सोनीका अनुसार घटनास्थलमा फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) को टोली पुगेर अनुसन्धान गरिरहेको छ। आगो पूर्ण रूपमा निभाइएको छ भने घरको भग्नावशेषमा थप शव हुन सक्ने आशङ्कामा खोजी भइरहेको छ। सम्भावित विस्फोटक पदार्थको पहिचान र निष्क्रिय पार्न बम निरोधक टोलीसमेत परिचालन गरिएको छ। घटनास्थल र आसपासको क्षेत्र निरीक्षण गर्न ड्रोनको प्रयोग गरिएको छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विशेष टोली गठन गरेको छ। घटनाबारे प्रहरीले प्राथमिकी (एफआईआर) दर्ता गरी अनुसन्धान अघि बढाएको छ।
यसैबीच, घटनामा लापरबाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय चौकीदार चन्द्रिका माझीलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ।














प्रतिक्रिया