बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दलमा पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीलाई समावेश गरेको हो ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय अली चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रामा सहभागी हुनेछन् । उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन् ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको अन्तरिक्ष मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चारवटा वैज्ञानिक परियोजनामा काम गर्नेछन् । चीन र पाकिस्तानबीचको सहकार्यमा सञ्चालन हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययनसमेत समावेश छ ।
अली शेन्झाउ–२३ अन्तरिक्ष यानमार्फत पृथ्वी फर्कने कार्यक्रम रहेको छ ।
यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्रीले संयुक्त रूपमा सहभागिता जनाउने पहिलो मिसन हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।
मिसनमा सहभागी चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसकेका छन् । सीसीटीभीका अनुसार उनी तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्नेछन् ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । यता अमेरिकाले पनि सन् २०२८ मा आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।














प्रतिक्रिया