काठमाडौं- तेहरानका पूर्ववत सातवटा सर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता नहुने इरानी संसद्का सभामुख मोहम्मद बघेर गालिबाफले स्पष्ट पारेका छन्।
इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा सामुद्रिक प्रतिबन्ध उल्लङ्घन गर्ने तीनवटा तेल ट्याङ्करमा बारुदी सुरुङ (माइन) विस्फोट भई आगलागी भएको दाबी गरेको भोलिपल्ट उनको यो भनाइ आएको हो ।
यद्यपि पश्चिमी निकायहरूले उक्त दाबीको स्वतन्त्र पुष्टि नभएको भन्दै प्रश्न उठाएका छन्। करिब नौ महिनादेखि जारी युद्ध रोक्न कतारले मध्यस्थताको प्रयास गरिरहँदा र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कतारी प्रधानमन्त्रीसँग वार्ताका विषयमा छलफल गरिरहँदा दुवै पक्षबीचको तनाव झन् चुलिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेन्टको चेतावनी तथा इरानको छाया बैंकिङ सञ्जालमाथि अमेरिकाले लगाएको नयाँ प्रतिबन्धको जवाफमा गालिबाफले अमेरिकाले गल्ती गरे युद्धको भूगोल नै बदलिदिने चेतावनी दिएका छन् ।
इरानले अघि सारेका मुख्य सर्तहरूमा लेबनानसहित सबै मोर्चामा युद्धविराम, अमेरिकी सामुद्रिक नाकाबन्दी र प्रतिबन्ध फुकुवा, रोक्का गरिएको इरानी सम्पत्ति फिर्ता तथा युद्ध क्षतिको क्षतिपूर्ति समावेश रहेको बताइएको छ ।
जबकि अमेरिका इरानको आणविक कार्यक्रममा सहुलियत चाहन्छ । यसैबीच, अमेरिकाले करिब ५० वटा पानीजहाजमा भएको साइबर आक्रमण र बमको धम्कीमा इरान वा रुसको संलग्नता रहे/नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।
तनाव र वार्ता अवरुद्ध भए पनि कूटनीतिक पहलको आशा र बजारमा आपूर्ति बढ्ने अनुमानका कारण मङ्गलबार ब्रेन्ट कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल करिब ८९ डलरमा झरेको छ ।
जसले केन्या र इजिप्टजस्ता तेल आयातकर्ता अफ्रिकी मुलुकलाई राहत दिए पनि नाइजेरिया, अङ्गोला र लिबियाजस्ता निर्यातकर्ता देशको आम्दानीमा दबाब सिर्जना गरेको छ। अब नोभेम्बर २९ मा हुने ओपेक प्लसको बैठक र कतारको मध्यस्थताले वार्ताको दिशा तय गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया