‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’ « Khabarhub

‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’



काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका सुकुम्बासीलाई हटाउने अभियान थालेपछि चौतर्फी चर्चा, प्रसंशा र आलोचना भइरहेको छ । तर, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो तहका नेताहरू भने प्रधानमन्त्री बालेनले काठमाडौं र देशभरका सुकुम्बासी हटाउन लागेको विषयबारे पार्टीको कुनै फोरममा जानकारी आएको बताउँछन् । सरकार गठनपछि मन्त्रिपरिषदले जारी गरेको १०० बुँदे कार्यसूचीमा ६० दिनभित्र लगत संकलन, भूमिहीन/सुकुम्बासी/अव्यवस्थित बसोबासीको समस्या १००० दिनभित्र समाधान गर्ने उल्लेख छ ।

त्यसैलाई टेकेर सरकारले आफ्नो ढंगले काम गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जिकिर गरेका छन् । के पार्टीसँग समन्वय नभइ यी कदम थालिएको हो ? भन्ने प्रश्नमा पार्टीका दोस्रो तहका एक नेताले भने, ‘सभापतिज्यूसँग समन्वय छ भने हामीलाई जानकारी छैन । तर, हामीलाई पार्टीको फोरममा यसबारे कुरा भएको कुनै जानकारी छैन ।’

हामीले पार्टीको फोरममा नै यसबारे जानकारी नभइ बालेनले एक्लै यस्तो निर्णय गरेका हुन् त ? भन्ने प्रश्न पार्टीको दोस्रो तहका केही नेतासामु राखेका थियौँ । उनीहरू कसैले पनि यस विषयमा आफूलाई जानकारी नभएको बताए । पार्टीका एक शीर्ष नेताले भने, ‘वास्तविक सुकुम्बासी पहिचान गरेर उनीहरूलाई जग्गा र बासको व्यवस्थापन गर्नु ठीक छ । तर, अहिले अलिकति लत्याउने काम भयो कि भन्ने धेरैको शङ्का छ । वास्तविक सुकुम्बासी मारमा नपरुन् भन्ने नै हाम्रो चाहना हो ।’

रास्वपा वरिष्ठ नेता बालेनले सरकार र सभापति रवि लामिछानेले पार्टी सञ्चालन गरिरहेका छन् । एकअर्काले सरकार र पार्टी सञ्चालनमा हस्तक्षेप नगर्ने रणनीति लिएको हुँदा सरकारले आफ्नो ढंगले काम गरिरहेको नेताहरूको दाबी छ । तर, पार्टीभित्रै सुकुम्बासी हटाउनेजस्तो संवेदनशील विषयमा छलफल नगरी प्रधानमन्त्री बालेनले एकलौटी गर्नुले पार्टीमा नेताहरु दुई धारमा विभाजित हुन्छन् कि भन्ने लख काट्न सकिने अवस्था छ ।

अर्कोतिर, सरकारको १०० बुदे कार्यसूचीमा यो विषय किटान गरिएका हुनाले पार्टीलाई जानकारी नै छैन भन्नु कतिको सान्दर्भिक हुन्छ भन्ने पनि प्रश्न उठिरहेको छ । पार्टीको दोस्रो तहका नेतालाई यसबारे जानकारी नभएपनि सभापति रवि र बालेन्द्रले समन्वयमा यो काम गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य बताउँछन् । तर अहिलेसम्म पार्टी सभापति रवि मौन बस्नुले भने केही शङ्का उब्जिएको देखिन्छ ।

पार्टी भन्छ : सरकारलाई सोध्नू

पार्टीका महामन्त्री तहका नेता र अन्य शीर्ष नेतृत्व सुकुम्बासी हटाउने विषय आफूहरूको जानकारीमा नभएको बताउँछन् । पार्टी प्रवक्ता र सहप्रवक्ता लगायतका नेताहरूले पनि स्थान्तरणको व्यवस्थापन नगरी सुकुम्बासी बस्ती हटाउने विषयमा कुनै छलफल नभएको दाबी गर्छन् । पार्टीको वाचापत्रमा सरकार प्रतिबद्ध रहेपनि वास्तविक व्यवस्थापन नगरी सुकुम्बासी हटाउँदा कतिको व्यावहारिक हुन्छ, त्यसबारे गम्भीर हुनुपर्ने उनीहरूको मत छ ।

पार्टीका सिनियर नेताहरूलाई यसबारे सोध्दा आफूहरूको जानकारीमा नभएको र यो विषय सरकारको काम कर्तव्यभित्र रहेकाले सरकारलाई सोध्न आग्रह गर्छन् । पार्टी सभापति रवि लामिछानेले त यस विषयमा अहिले औपचारिक र अनौपचारिक कुनै फोरममा बोलेका छैनन् । तर उनले केही समयअगाडि सरकारले सुकुम्बासी बस्ती हटाउन खोजे आफू नै छाती थाप्न जाने उद्घोष गरेका थिए । अहिले भने उनी चुपचाप छन् । जेन-जी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा रविलाई कहिले छाती थाप्न जाने हो भनेर व्यङ्ग्य गरेकी छिन् । तर रविले यसबारे अझै मुख खोलेका छैनन् ।

पार्टीका प्रवक्ता समेत रहेका नेता मनिष झाले पनि सरकारसँग सम्बन्धित विषय रहेकाले आफूहरूलाई प्रश्न गर्नुभन्दा सरकारका प्रवक्तालाई प्रश्न सोध्नु उचित रहेको बताए । पार्टी सदस्य लिमा अधिकारी पनि आफूहरुलाई सुकुम्बासी हटाउने विषय जानकारी नभएको बताउँछिन् । उनले भनिन्, ‘मलाई यसबारे कुनै जानकारी छैन ।’ स्रोतले दिएको जानकारी अनुसार पार्टी यस जिम्मेवारीबाट पन्छिएपछि सरकारले आफ्नो ढंगले काम गरेको हो । सरकारको काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने रणनीति अनुरुप बालेनले आफ्नो वाचा पूरा गर्न यो कदम थालेको बताइन्छ । पार्टीका नेताहरू बालेनले थालेको यो कदमपति असहमति भने जनाउन थालेको देखिन्छ । रास्वपाका कतिपय नेताको मत अनुसार सुकुम्बासीको उचित व्यवस्थापन भएपछि मात्रै हटाउनु सरकारको दायित्व हो ।

मन्त्रिपरिषद् बैठकमा छलफल नै भएको थिएन

हामीले मन्त्रिपरिषदका सदस्यहरुलाई पनि यसबारे प्रश्न गर्‍यौँ । तर, मन्त्रीले पनि सुकुम्बासी हटाउने विषयमा मन्त्रिपरिषदको बैठकले निर्णय गरेकोबारे आफूहरुलाई जानकारी नभएको बताए । ती मन्त्री भन्छन्, ‘मन्त्रिपरिषद् बैठकबाट यस्तो कुनै निर्णय भएको जानकारी मलाई छैन । पत्रमा यो कुरा राखिएको हो, तर स्थानान्तरण र व्यवस्थापनको निधो नभइ यो काम सुरु गर्नु कतिको व्यवहारिक हुन्छ भन्ने पनि प्रश्न उठ्ला । मलाई चाहिँ थाहा भएन ।’

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै सुकुम्बासीलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिने दाबी गरे । सरकारको यो निर्णयलाई लिएर मन्त्री र पार्टीले नै अनभिज्ञता जनाएपछि प्रधानमन्त्री बालेनकै जोडबलमै सरकारले यो काम थालेको हो कि भन्ने लख काट्न कठिन छैन ।

सरकार भन्छ : सुरक्षित ठाउँमा सार्छौँ

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी हटाउन बल प्रयोग नगर्ने र सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने उद्घोष गरे । उनले यसो भनेपनि अहिलेसम्म सुकुम्बासीलाई सुरक्षित ठाउँमा सरकारले लगेर व्यवस्थापन गरेको छैन । थापाथलीकी एक सुकुम्बासी मनिषा लकान्द्री भन्छिन्, ‘आफैँ कोठा खोज्नु भनिएको छ । हामी कोठा खोजिरहेका छौँ । कोठा पाइएको छैन ।’ उनी विगत ५० वर्षभन्दा लामो समयदेखि त्यहाँ बस्दै आएको दाबी गर्छिन् । आफूहरूसँग भूमि र पौतृक सम्पत्ति केही नभएको बताउँदै उनले सरकारले मर्नु न बाँच्नु बनाएको दुःखेसो पोखिन् ।

हाल काठमाडौं उपत्यकामा तीन वटा सुकुम्बासी बस्ती छन् । ती सबै हरेक वर्षजसो बाढीको प्रकोपमा पर्छन् । त्यस्तो बेलामा  सामान छाडेर ज्यान जोगाउन भाग्नुपर्छ । अहिले फेरि बर्खा आउँदैछ । त्यसकारण उनीहरूलाई विपदको पूर्वतयारीका लागि सुरक्षित ठाउँमा स्थानान्तरण गर्न खोजेको सरकारको दलील छ । तर, उनीहरुलाई कहाँ स्थान्तरण गर्न खोजिएको हो यसबारे भने सरकारले कुनै जवाफ दिएको छैन । स्रोतका अनुसार सरकारले जग्गा जमिन र केही सम्पत्ति नभएका वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने तयारी भने गरिरहेको छ । प्रवक्ता पोखरेलले पनि सुकुम्बासीलाई अनुरोध गरेरै सुरक्षित ठाउँमा सार्ने बताएका छन् ।

प्रधानमन्त्री भन्छन् : देशभरका सुकुम्बासीलाई जग्गा वितरण हुन्छ

सुकुम्बासी हटाउने अभियानको विषयमा चौतर्फी आलोचना हुन थालेपछि शुक्रबार प्रधानमन्त्री शाहले आधिकारिक रुपमा फेसबुकमा आफ्नो सार्वजनिक धारणा सार्वजनिक गरेका छन् । फेसबुकमा उनले विगतमा आएको बाढी पहिरो र प्रकोपबारे स्मरण गराउँदै सुकुम्बासी बस्ती हटाउने निर्णयको बचाउ गरेका छन् । यद्यपि उनले सुकुम्बासीलाई कहाँ स्थान्तरण गरिने हो र उनीहरुलाई कहाँ बासको व्यवस्था गरिने हो भन्ने चाहिँ किटान गरेका छैनन् । उनले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले लेखेका छन्, ‘काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन् । अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।’

सरकारले सुकुम्बासीलाई स्थानान्तरण गर्ने विषय ठिक रहेपनि सुकुम्बासी र हुकुमबासी छुट्याउनुपर्ने माग अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको छ । सरकारले सुकुम्बासीलाई व्यवस्थापन गर्ने पहल थालेपछि मात्रै हटाउनुपर्ने उनको सुझाव देखिन्छ । यस्तै सुझाव अरु विभिन्न सामाजिक सञ्जाल र विश्लेषकहरुले दिएका छन् । त्यस्तै भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका नेताहरु रक्षा बम, उपार्जुङ राई, मोनिका निरौला, रिजन राणा मगर लगायतले पनि सुकुम्बासीलाई साथ दिँदै सरकारले स्थान्तरणको ग्यारेन्टी नगरेसम्म हटाउनु नहुने माग गरिरहेका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सुकुम्बासी बस्ती हटाउन खोजेका बालेन्द्रले प्रधानमन्त्री हुँदा आफ्नो सपना पूरा गर्न लागेको धेरैले अड्कल काटे पनि वास्तविक सुकुम्बासी पहिचान गरेर लागत र बासको व्यवस्था गर्दै सुकुम्बासीलाई स्थानान्तरण गर्ने काम भने राम्रो रहेको धेरैको टिप्पणी छ । घरजग्गा वितरण गरेर उनीहरूलाई व्यवस्थापन गर्नुपर्ने कुरा वास्तविक आजको आवश्यकता रहेको बताउँदै विश्लेषक रोक्का सरकारले परिपक्क ढङ्गले काम गर्न सुझाव दिन्छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : ०६ बजे

युगकवि सिद्धिचरण श्रेष्ठको ११५आँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी

शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ

जुम्लाका सेवाग्राहीको घरमै पुग्यो राहदानी

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन

झापामा एक कैदीबन्दीको मृत्यु

झापा– जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना

सोलेडाँडामा ‘जडीबुटी पार्क’ निर्माण

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण