काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता बिदा हुनुपर्ने आवाज उठिरहेको छ । ०७९ को निर्वाचनपछि पार्टीको प्रमुख सचेतक रहेका महेश बर्तौला पनि अध्यक्ष ओलीसहित पहिलो पुस्ताले स्वेच्छिक रुपमा सम्मानजनक बिदा भएर र अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउँछन् ।
ओलीको विकल्प पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नरहेको संकेत गर्दै बर्तौला पहिलो पुस्ता र जिम्मेवारी पाएका नेताहरूका लागि एक्जिट ढोका खुल्ला रहेको बताउँछन् । बर्तौलाको विचारमा नेतृत्वलाई गलहत्याएर फाल्ने अथवा हट्नुस् भनेर खेदो खन्ने प्रवृत्तिभन्दा पनि उनीहरु आफैँले स्वेच्छिक रुपमा राजीनामा दिनुपर्छ ।
बर्तौलासँग एमालेमा नेतृत्व परिवर्तनको विषय, अबको नेतृत्व र भावी योजनालगायतका विषयमा खबरहबले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको संक्षिप्त अंश-
अहिले एमालेमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनको बहस चलिरहेको छ, यसबारे यहाँको धारणा के छ ?
एमाले सचिवालय बैठकमा विभिन्न कोणबाट छलफल भइरहेका छन् । हरेक जीवन्त पार्टीमा यस्तो बहस हुनु स्वभाविक हो । एक प्रकारले भन्ने हो भने निर्वाचनको परिणाम असामान्य र क्षति नै हुने किसिमको आयो । हामी यो ठाउँमा कसरी आइपुग्यौँ भन्ने कारणको पहिचान गर्नुपर्छ । यसको आन्तरिक र बाह्य कारण कति प्रधान छ विश्लेषण गरौँ ।
आज राजनीतिको केन्द्रीय प्रश्न के हो ? यो परिणामसम्म आइपुग्नका लागि परिस्थितिहरू के हुन् ? हाम्रो समस्या के हो भन्ने कुरा चाहिँ नेकपा एमालेको यो सचिवालय बैठकले पहिचान गर्नुपर्छ। पात्र, व्यक्ति र प्रवृत्तिहरूमा जे चर्चा गरिरहेका छौँ, यो गौण कुरा हो ।
ठ्याक्कै फागुन २१ को निर्वाचनसँगै जोडेर नेतृत्व परिवर्तन हस्तान्तरण पुस्तान्तरण पुनर्गठन प्रश्न जे आएपनि त्यहाँसम्म पुग्नका लागि पहिचान गर्नुपर्ने केही स्टेपहरू छन् । आजको राजनीतिमा आन्तरिक र बाह्य कारण पहिचान गरेर नेकपा एमाले कहाँ छ ? यसले दिनुपर्ने समाधान के हो र बोक्नुपर्ने एजेन्डा के हो ? नेकपा एमालेले कस्ता राष्ट्रिय समस्या आफ्नो अगाडि देखिरहेको छ ? त्यो कुरा चाहिँ उसले भन्नुपर्छ ।
यसका लागि के गर्नुपर्यो ?
यसका लागि तीन वटा कुरामा विशेष ख्याल गर्नुपर्छ । एउटा हामीले के के कुरामा महसुस र रियलाइजेसन गर्नुपर्ने हो, त्यसको पहिचान गरौँ । दोस्रो- त्यसपछि सुधारमा कसरी लानुपर्ने हो ? कार्यक्रम नीति या पात्र केमा सुधार गर्नुपर्ने हो ? त्यसलाई अगाडि बढाउँ ।
तेस्रो- हामीले हिजो सरकारमा हुँदा भनेका कतिपय कुरा गरेनौँ होला । पार्टीको आन्तरिक जीवनमा पनि नीति सिद्धान्तबाहिर लाग्यौँ कि नीति सिद्धान्तमै हिँड्यौँ ? कम्युनिस्ट आचरणबाट चुक्दै पो गयौँ कि ? राजनीतिक निष्ठामा प्रश्न आउने स्थिति बन्यो कि ? यसबारे बहस आवश्यक छ ।
एमालेमा नेतृत्व परिवर्तनको कुरा ठिक छ होइन ?
अहिले पार्टीमा पदाधिकारीको पहिलो पुस्ताका लागि एक्जिट ढोका खुल्ला भयो भन्ने कुरामा उहाँहरु ढुक्क हुनुपर्छ । पहिलो पुस्ताका लागि एमालेमा अब पनि इन्ट्रान्सका ढोकाहरू खुल्ला छैनन् । अवसरहरू खुला हुँदैनन् ।
केपी ओलीको मात्रै होइन, नेतृत्वमा रहेका पहिलो पुस्ता सबै बिदाइ हुनुपर्छ भन्ने हो ?
हो । यहाँ व्यक्ति विशेषको कुरा छैन । अब एमालेको पहिलो पुस्ता सबै बिदा हुनुपर्छ । पदाधिकारी र सचिवालयमा रहेका धेरै जना नेताका लागि अब एमालेमा अवसरको बाटो बन्द हुनुपर्छ । नयाँ ढोकाहरू उहाँहरूका लागि पूरै बन्द भए । सबै सिनियर नेताहरूले विचार गरेर स्वेच्छिक रुपमा अवकाश लिँदै पार्टीको अभिभावकत्व ग्रहण गरिदिनुपर्छ ।
बिदाइको ढोका पहिलो पुस्तालाई खुल्दै गर्दा जबरजस्ती तिमी निस्क भन्ने कुरा पनि नेचुरल हुँदैन । पहिलो पुस्ताका नेताहरूको गियर डाउन भयो । अब गर्ने पछिल्लो पुस्ताले हो । उहाँहरूकै रेखदेख र उपस्थितिमा पछिल्लो पुस्ताले पार्टीलाई ड्राइभ गर्नुपर्छ ।
एक जना अध्यक्षमाथि मात्रै आजको भोलि नै तिमी निस्केर गइहाल भन्ने भार बोकाइदिएर अरु सबै ठिक छ भन्ने ढंगबाट बहस भयो भने फेरि त्यो पार्टी निर्माण र सुधारको तहमा होइन गुटबन्दीको श्रृङ्खलामा जान्छ । यो पाटोलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।
उसो भए सिनियर नेताहरू आफैँले राजीनामा दिनुपर्छ ?
त्यो मात्रै समस्याको समाधान चाहिँ होइन । पार्टी नेतृत्व, सचिवालयका पदाधिकारी र शीर्ष नेताहरूमाथि अब बिदा लिनुपर्छ भन्ने परिस्थितिको विकास भएको कुरा यथार्थ हो । नेकपा एमाले लामो उतारचढाव, संघर्ष, उकाली ओरालीबाटै आएको पार्टी हो । यसको नेतृत्व पनि सोही अनुसार आएको हो । त्यसो भएको हुनाले कोही मान्छेलाई अपमानजनक ढंगले जिम्मेवारीबाट हटाउनुपर्छ भन्ने कुरा चाहिँ हुँदैन ।
आज बस्ने सचिवालय बैठक र आगामी बस्ने केन्द्रीय कमिटी बैठकबाटै यो कामको सुरुवात नभएर विस्तारै अगाडि बढाउँदै लैजानुपर्छ । नेताहरू आफैँ हामीले हात उठायौँ भन्ने ठाउँबाट स्वेच्छिक रुपमा उठिदिनुहोस् । अध्यक्ष एक्लैको कुरा होइन, सिङ्गो सचिवालयका शीर्ष टिमको कुरा हो । सचिवालयमा भएका धेरै नेताहरू पटक पटक मन्त्री र सांसद भएकै व्यक्तिहरू हुनुहुन्छ ।
विद्या भण्डारीले पार्टी चलाउनुपर्छ भन्ने लाइन पनि रहेछ नि एमालेमा ?
पटक-पटक आग्रह गरेपछि एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रिन्यु गरेको छ । उहाँ कसरी अगाडि बढ्नुहुन्छ भन्ने कुरा शीर्षस्थ नेतृत्वहरूबीचकै समझदारीको कुरा हो । सचिवालयको बैठकमा जे बहस भइरहेको छ, जीवन्त पार्टीमा यस्ता बहसहरु हुन्छन् ।
यो बहस चाहिँ आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर पार्टी निर्माणको तहबाट हुनुपर्छ । यो बहसलाई राजनीतिक र प्राकृतिक बनाउनुपर्छ । हामी तीन वटै कुरामा चुक्यौँ भने पार्टी निर्माण हुँदैन । अनन्तः गुटबन्दीको श्रृङ्खलामा पार्टी जाने र पार्टीमा थप क्षति हुने अवस्था हुन्छ । फेरि पनि भन्छु पटक पटक अवसर पाएका पहिलो पुस्ता सबैले स्वेच्छिक रुपमा अवकाश लिनुपर्छ ।
अब कस्ता व्यक्ति एमालेको नेतृत्वमा आउनुपर्छ ?
हाम्रो विचार नीति सिद्धान्तलाई निष्ठाका रूपमा कार्यान्वयन गर्ने सक्ने नेतृत्व चाहिन्छ । जनताको बहुदलीय जनवाद मार्गनिर्देशक सिद्धान्तका आधारबाट मुलुक र जनताको हित चाहने र काम गर्न सकिने सामर्थ्य भएको नेतृत्व चाहिएको छ ।
त्यस्ता व्यक्ति हाम्रो पार्टीमा प्रशस्त छन् । उहाँहरुले यो आन्दोलनको नेतृत्व गर्ने र जनताको बीचमा विजयी शक्तिका रूपमा लैजाने गर्नुपर्छ । एमाले भविष्य र वर्तमान भएको पार्टी हो । सबैलाई समेटेर लाने पङ्क्ति हाम्रो पार्टीमा छ, उहाँहरुले नि लिड गर्नुपर्छ ।
यो भनेको दोस्रो या तेस्रो कुन पुस्ता हो ?
हामीले पुस्ता-पुस्ताबीच अन्तरविरोध गराउन खोज्यौँ भने फेरि पनि हाम्रो समाज र आन्दोलनहरू विखण्डित हुन्छ र एकीकृत ढंगले अगाडि बढ्न सक्दैन । त्यस कारण यो पुस्ताबीचको अन्तरविरोध होइन । उमेर समूहहरूबीचको संयोजनबाट सहकार्यबाट अगाडि बढाउने हो ।
निष्कर्षमा के भन्न सकिन्छ भने पटक पटक पार्टीको सचिवालयमा र सरकारमा पुगेका व्यक्तिहरूले एक्जिट डोरलाई सजिलो बनाउँदै लैजानुपर्छ । पार्टी पुननिर्माणमा पहिलो, दोस्रो, तेस्रो, चौथो सबै पुस्ताको संयोजन गर्दै जानुपर्छ । कसले कहाँ कस्तो भूमिका खेल्छ भन्ने विषय महत्वपूर्ण होइन ।
सबै पुस्ता मिलेर पार्टीलाई सञ्चालन गर्नुपर्छ तर महत्वपूर्ण जिम्मेवारीमा पहिलो पुस्ता र अवसर पाएका व्यक्तिहरुलाई दिइनु हुँदैन । त्यो स्थिति बनाउन हामीले खोजिरहेका छौँ । सबै पुस्ताहरूको संयोजनबाट एमाले अगाडि बढाउनुपर्छ ।
पहिलो पुस्ता सबै बिदा हुनुपर्छ भन्नुभयो, यसको सुरुवात कहिले र कोबाट गर्नुपर्छ ?
अब पनि हामी धेरै पर्खिने अवस्थामा पुग्यौँ भने पार्टीलाई अझ घाटा लाग्छ । बाटोमा हिँड्दाहिँड्दै कसैलाई नेता बनाइहालौँ भन्ने अवस्था पनि छैन । नेतृत्वमा भएको व्यक्तिलाई बिदा भइहाल् भन्ने अवस्था पनि छैन । वैधानिक संरचनाहरूले दिएको विधिबाट नै निष्कर्ष निकाल्ने हो ।
त्यो भयो भने राजनीति पनि हुन्छ र स्वभाविक पनि हुन्छ । अर्ली अथवा विशेष महाधिवेशन के गर्ने भन्नेमा पनि छलफल होला ।पछिल्लो पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने भावना विकास भएको छ । त्यसको लागि तयारी पनि गर्नुपर्छ । च्यालेन्जको समाधान गर्न सक्ने गरी सिनियरहरूले बिस्तारै बिदाइ हुनुपर्छ ।














प्रतिक्रिया