भाइकिङ समाजको नयाँ रहस्य « Khabarhub

भाइकिङ समाजको नयाँ रहस्य


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा उत्पादन केन्द्र फेला परेपछि भाइकिङ समाज अपेक्षाभन्दा धेरै व्यवस्थित, विकसित र आर्थिक रूपमा संगठित रहेको नयाँ प्रमाण प्राप्त भएको छ। 

पुरातत्वविद्हरूले यो खोजले भाइकिङहरू केवल आक्रमणकारी वा योद्धा मात्र नभई उन्नत उत्पादन प्रणाली र व्यापारिक सञ्जाल निर्माण गर्ने समाज रहेको देखाएको बताएका छन् ।

मोएसगार्ड सङ्ग्रहालयका विशेषज्ञहरूले डेनमार्कको जुटल्यान्ड प्रायद्वीपस्थित सोफ्टेन क्षेत्रमा करिब एक लाख वर्गमिटर क्षेत्रमा फैलिएको विशाल बस्ती फेला पारेका हुन् । 

आरहुस सहरबाट करिब १० किलोमिटर उत्तरमा रहेको यो स्थल इस्वी संवत् ६०० देखि ९५० बीचको पछिल्लो फलाम युग र प्रारम्भिक भाइकिङ कालसँग सम्बन्धित मानिएको छ ।

उत्खननको नेतृत्व गरेकी पुरातत्त्वविद् लिभ स्टिडिङ रेहर–ल्याङबर्गले यो बस्तीमा कपडा उत्पादनको स्पष्ट केन्द्र रहेको बताइन्। उनका अनुसार उत्खननबाट धागो कात्ने उपकरण, करघाका तौल, कपडा उत्पादनका संरचना तथा ८० भन्दा बढी पिट हाउस फेला परेका छन् । अर्ध–भूमिगत ती संरचनाहरू भाइकिङ कालमा कार्यशाला र आवासका रूपमा प्रयोग गरिन्थे ।

पुरातत्त्वविद्हरूले चाँदीका सिक्का, काँचका मोती र विभिन्न भाँडाकुँडा समेत फेला पारेका छन् । उत्पादन तथा शिल्पका लागि छुट्टाछुट्टै क्षेत्र र एउटा मात्र आवासीय भवन भेटिएकाले सम्पूर्ण उत्पादन प्रणाली कुनै प्रभावशाली व्यक्ति वा समूहको नियन्त्रणमा रहेको अनुमान गरिएको छ ।

गत तीन दशकमा स्थानीय व्यक्तिहरूले मेटल डिटेक्टरमार्फत यस क्षेत्रमा धेरै चाँदीका सिक्का फेला पारेका थिए । डेढ वर्षअघि सडक तथा औद्योगिक क्षेत्र निर्माणअघि गरिएको परीक्षण उत्खननपछि पुरातत्त्वविद्हरूको विशेष चासो बढेको थियो ।

मोएसगार्ड सङ्ग्रहालयका इतिहासकार कास्पर एन्डरसनले सोफ्टेनको खोजले त्यस समयको स्थानीय अर्थतन्त्र, संस्कृति र राजनीतिक संरचना बुझ्न महत्त्वपूर्ण आधार थपेको बताए। उनका अनुसार त्यतिबेला आरहुस अन्तर्राष्ट्रिय व्यापार तथा शासकीय केन्द्रका रूपमा विकसित भइसकेको थियो ।

गत वर्ष नजिकैको लिस्बर्ज क्षेत्रमा भेटिएको अर्को भाइकिङ बस्ती सम्भवतः उच्च वर्गीय परिवारको आवास रहेको मानिएको छ । एन्डरसनका अनुसार सोफ्टेनजस्ता ग्रामीण बस्तीबाट उत्पादन गरिएका सामग्रीहरू ठूला व्यापारिक केन्द्रमा पुगेर अन्तर्राष्ट्रिय व्यापार सञ्जालमा समावेश हुने गर्थे ।

उनले यति ठूलो उत्पादन केन्द्र केवल स्थानीय आवश्यकताका लागि मात्र नभई फराकिलो बजारलाई लक्षित गरेर सञ्चालन गरिएको बताए। सोफ्टेनमा उत्पादित कपडाले स्थानीय सीमाभन्दा धेरै ठूलो व्यापारिक बजार प्राप्त गरेको उनको भनाइ छ ।

भविष्यमा गरिने कार्बन डेटिङ र पराग विश्लेषणबाट यहाँ कस्तो प्रकारको कपडा उत्पादन हुन्थ्यो भन्ने विषय अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।

सन् ७९३ देखि १०६६ सम्म फैलिएको भाइकिङ युगमा नोर्स समुदायले युरोपका विभिन्न भागमा व्यापार, उपनिवेश विस्तार, युद्ध र समुद्री यात्राहरू गरेका थिए । 

उत्तरी अमेरिकासम्म पुगेका भाइकिङहरूलाई प्रायः आक्रमणकारी समूहका रूपमा चित्रण गरिए पनि सोफ्टेनको यो खोजले उनीहरू व्यवस्थित उत्पादन, श्रम विभाजन र अन्तर्राष्ट्रिय व्यापारमा आधारित उन्नत समाज भएको पुष्टि गरेको पुरातत्त्वविद्हरूले बताएका छन् ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ६ : १३ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय