काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष आशिष गजुरेलले पार्टीको केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै गजुरेलले आफूले पूर्वाधार, यातायात तथा मानवमैत्री सहरी विकासका विषयलाई पार्टीभित्र स्थापित गर्न चाहेको बताएका छन्। उनले नीतिगत तहमा प्रभावकारी हस्तक्षेप गर्दै देशको पूर्वाधार विकासलाई व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको उल्लेख गरेका छन्।
गजुरेलले आफ्नो उम्मेदवारीमार्फत पाँच प्रमुख एजेन्डा अघि सारेका छन्।
उनका अनुसार पहिलो, पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध बनाउने। दोस्रो, यातायात प्रणालीमा सुधार गरी आधुनिक तथा प्रभावकारी बनाउने। तेस्रो, सडक तथा यातायात क्षेत्रलाई सुरक्षित बनाउने। चौथो, पैदलयात्री, साइकलयात्री, सार्वजनिक यातायात प्रयोगकर्ता तथा अपाङ्गता भएका व्यक्तिका लागि सहज आवागमनको वातावरण सिर्जना गर्ने। र पाँचौँ, मानवमैत्री शहर निर्माणलाई प्राथमिकतामा राख्ने।
उनले विकासका योजनाहरू केवल भौतिक संरचनामा सीमित नभई नागरिकको जीवनस्तर सुधारसँग जोडिनुपर्ने धारणा राख्दै समावेशी, सुरक्षित र दिगो सहरी विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।












प्रतिक्रिया