पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू ! « Khabarhub

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !



चिठ्ठी साहित्य

प्रिय बाबु आयान्स,
असीम माया !

तिमी अहिले पाँच वर्षका छौ । यो चिठ्ठी अहिले पढ्न सक्दैनौ । तिमीलाई अहिले अक्षरभन्दा गाडीका आवाज मन पर्छन्, किताबभन्दा खेलौना, र संसारका कठिन प्रश्नभन्दा ‘आमा, आज के पकायौ ?’ भन्ने जिज्ञासा । राति सुत्नुअघि मेरो काखमा टाउको राखेर कथा सुन्ने तिम्रो बानी अझै उस्तै छ । तिम्रा साना हातले मेरो औँला समातेर हिँड्दा मलाई लाग्छ, संसार अझै सुरक्षित छ ।

तर आज म यो चिठ्ठी काँपिरहेको मनले लेख्दै छु । केही दिनअघि तीन वर्षकी एउटी नानीमाथि भएको बलात्कारको समाचारले मेरो मन विक्षिप्त बनेको छ । त्यो समाचार बाहिर आउनासाथ सुरुमा नपढ्ने निर्णय गरेकी थिएँ । पत्रकार भएर पनि कहिलेकाहीँ मनलाई जोगाउनुपर्छ भन्ने पनि लाग्छ । तर सामाजिक सञ्जालले त्यो सम्भव हुन दिएन । हरेक स्क्रोलसँगै उही खबर, उही आक्रोश, उही पीडा ।

त्यो समाचार पढेपछि सबैभन्दा पहिले तिम्री १२ वर्षकी दिदी सम्झिएँ । उसलाई म सधैँ गुड टच र ब्याड टचको बारेमा भन्छु- “कसैले नराम्रो छोए भने चिच्याउनू, भाग्नू, अरूलाई भन्नू, प्रतिकार गर्नू, कहिल्यै चुपचाप नबस्नु ।”

तर त्यसपछि मेरो मन तिमीतिर गयो । किनभने तीन वर्षकी बच्चाले मैले तिम्री दिदीलाई सिकाएको कुन प्रतिकार गर्ने ? त्यसैबेला मैले आफैँलाई एउटा प्रश्न सोधेँ– के मैले तिमीलाई यस्तो संस्कार दिन सकौँला कि तिमी कहिल्यै कसैको ‘डरको कारण’ हुने छैनौ।

बाबु, म तिमीलाई केवल ठूलो बनाउन चाहन्न । म तिमीलाई राम्रो मान्छे बनाउन चाहन्छु । समाजले तिमीलाई ठूलो भएपछि धेरै कुरा सिकाउनेछ । ‘केटामान्छे भएर यस्तो गर्छ, केटामान्छे रुन्छ ? छोरो मान्छे बलियो बन्नुपर्छ ।’ यस्ता वाक्य तिम्रो वरिपरि धेरै सुनिनेछन् । तर म चाहन्छु– ती आवाजभन्दा पहिले तिमीले मेरो यो चिठ्ठी सम्झिनू ।

बलियो हुनु भनेको कसैलाई जित्नु होइन । बलियो हुनु भनेको कमजोरलाई सुरक्षित महसुस गराउन सक्नु हो । तिमी अहिले खेल्दा कहिलेकाहीँ दिदीको क्लिप लगाएर हाँस्छौ । केही गल्ती गरेपछि ‘सरी मामु’ भन्छौ । त्यो ‘सरी’ भन्ने बानी कहिल्यै हराउन नदिनू । किनकि माफी माग्न जान्ने मानिस कमजोर हुँदैन, ऊ जिम्मेवार हुन्छ ।

बाबु, म चाहन्छु, तिमीले सानैदेखि केही कुरा जीवनको नियमजस्तै सम्झिरहनू । कसैको शरीर उसको आफ्नै हो । अनुमतिविना कसैलाई छुन पाइँदैन । ‘हुन्न’ भनेको ‘हुन्न’ नै हो । कसैको हाँसो, लुगा, उमेर वा सम्बन्धले उसको सम्मान घटाउँदैन । सम्मान भनेको मानिस भएको आधारमा दिइने कुरा हो ।

म चाहन्छु, तिमीले घरमै पहिलो पाठ सिक्नू । आमाले भाँडा माझ्दै गर्दा त्यो ‘आमाको काम’ भनेर होइन, ‘हाम्रो घरको काम’ भनेर बुझ्नू । दिदी बोल्दै गर्दा बीचमै नबोल्नू । साथी रोइरहेको देख्दा ‘किन रोएको ?’ भनेर सोध्नु । कसैले कमजोर देखियो भने उसलाई जिस्क्याउनु होइन, साथ दिनू ।

किनकि राम्रो पुरुष अचानक बन्दैन । ऊ सानैदेखि हुर्काइन्छ ।

बाबु,
आज यो चिठ्ठी लेख्दै गर्दा पत्रकारितामा भेटिएका धेरै अनुहारहरू पनि सम्झिरहेकी छु । केही दिनअघि ओरेक नामको संस्थाले सार्वजनिक गरेको सुनसरीको त्रैमासिक प्रतिवेदनले देखायो- शिक्षित मानिने जिल्लामै ८३ प्रतिशत महिला कुनै न कुनै प्रकारको घरेलु हिंसाको सिकार भएका छन् । मैले यस्ता समाचार धेरै लेखेकी छु । समाचारमा तथ्य हुन्छन्, उद्धरण हुन्छन्, शीर्षक हुन्छ । तर एउटा कुरा कहिल्यै अट्दैन- पीडितकी आमाको रातभरको अनिद्रा ।

कुनै आमाले आफ्नो बच्चालाई काखमा राखेर कति पटक ‘किन ?’ भनेर रोएकी होली । त्यो प्रश्नको उत्तर अदालतको फैसला वा समाचारको शीर्षकले पूरा दिन सक्दैन । कुनै आमाले आफ्नो बच्चालाई काखमा राखेर कति पटक ‘किन ?’ भनेर रोएकी होली । त्यो प्रश्नको उत्तर कुनै अदालतको फैसला, कुनै शीर्षक वा कुनै समाचारले पूरा दिन सक्दैन ।

त्यसैले म चाहन्छु, तिमी त्यो उत्तर खोज्ने पुस्ताको हिस्सा बन । अनि बाबु, समाज परिवर्तन संसद्‌बाट मात्रै हुँदैन । अदालतबाट मात्रै हुँदैन । परिवर्तन घरको बैठक कोठाबाट सुरु हुन्छ । बाबुले आमालाई कसरी बोल्छन्, छोराले त्यही सिक्छ । महिलामाथि गरिने मजाकमा घरका ठूलाहरू हाँसे भने, त्यो पनि पाठ बन्छ । ‘केटा भएकाले जे गरे पनि हुन्छ’ भन्ने छुटले कहिलेकाहीँ ठूलो अपराधको ढोका खोलिदिन्छ ।

त्यसैले म तिमीलाई अर्को पाठ पनि सिकाउन चाहन्छु- संवेदनशील बन्नू । आँसु लुकाउनु पर्दैन । माया देखाउन लाज मान्नु पर्दैन । कसैलाई सम्मान गर्दा तिम्रो पुरुषत्व सानो हुँदैन । बरु त्यही तिम्रो सबैभन्दा ठूलो परिचय बन्नेछ ।

आज तिमी बालक छौ, चाँडै युवक बन्नेछौ, तिमीले यस्तो युवक बन्नुपर्छ जसको उपस्थितिले कुनै छोरीले बाटो फेरिरहनु नपरोस् । कुनै महिलाले आफ्नो पाइलाको चाल छिटो पार्नु नपरोस् । अनि कुनै बच्चाले तिमीलाई देखेर डरले आमाको काख खोज्नु नपरोस् । बरु तिम्रो उपस्थितिले उनीहरूले सुरक्षित महसुस गरून् ।

तिमी बेलाबेला मलाई भन्ने गर्छौ– ‘म हजुरलाई ठूलो घर बनाएर उपहार दिनेछु ।’ तिम्रो अबोध बालमस्तिष्कले मेरो लागि देखाएको त्यो प्रेमलाई सम्मान गर्दै मैले स्वीकारेकी हुन्छु । तर बाबु, मलाई तिमीले ठूलो घर बनाइदिएको दिनभन्दा धेरै खुसी त्यो दिन हुनेछ, जुन दिन कसैले तिम्रो बारेमा भन्नेछ- ‘ऊ असल मान्छे हो ।’ किनकि संसारलाई सफल पुरुषभन्दा धेरै सम्मान गर्न जान्ने पुरुष चाहिएको छ ।

म फेरि पनि भन्छु– आज तिमी पाँच वर्षका छौ । भोलि किशोर हुनेछौ । एक दिन यो चिठ्ठी आफैँ पढ्नेछौ । त्यो दिन म चाहन्छु, तिमीले बुझ्नू- तिम्री आमाको सबैभन्दा ठूलो सपना तिमीलाई ठूलो मानिस बनाउनु थिएन । मेरो सपना तिमीलाई यस्तो मान्छे बनाउनु थियो, जसको कारण अर्को कुनै आमाले आफ्नी छोरीको सुरक्षाको चिन्तामा रातभर निद्रा गुमाउन नपरोस् ।

बाबु, अर्को कुरा म तिमीलाई विशेष गरी भन्न चाहन्छु । महिलालाई सम्मान गर्नुपर्छ भनेर म शब्दले मात्र सिकाउन चाहन्न । किनकि बच्चाले धेरै कुरा सुनेरभन्दा देखेर सिक्छ । यदि घरमा पुरुषहरूले महिलालाई होच्याएर बोल्छन् भने, तिमीले के सिक्छौ ? यदि आमाले दिनभर घर सम्हाल्दा पनि उनको मेहनतलाई सामान्य ठानिन्छ भने, तिमीले के सिक्छौ ? यदि महिला भएकै कारण उनको विचार र कुरा बीचमै काटिन्छ, उनको इच्छा र निर्णयलाई महत्त्व दिइँदैन, रिस उठ्दा अपमानजनक शब्द प्रयोग गरिन्छ भने तिमीले त्यही व्यवहारलाई सामान्य ठान्न सक्छौ । त्यसैले बाबु, म चाहन्छु- तिमीले घरमा जे देख्छौ, त्यसलाई सही र गलत छुट्याएर बुझ्न सिक ।

कसैले महिला भएकै कारण उनलाई सानो बनाएको देख्यौ भने त्यसलाई पुरुषत्व नसम्झनू । कसैले श्रीमतीलाई अपमान गरेको देख्यौ भने त्यो “घरायसी कुरा” भनेर चुप नबस्नू । कसैले आमाको कामलाई मूल्यहीन बनाएको देख्यौ भने त्यसलाई सामान्य नमान्नु । किनकि महिलालाई सम्मान गर्ने संस्कार किताबको एउटा अध्यायबाट आउँदैन । त्यो घरको वातावरणबाट आउँछ ।

मलाई थाहा छ– तिमीले आज जे देख्छौ, भोलि त्यही सिक्ने सम्भावना हुन्छ । त्यसैले म तिमीलाई यस्तो कुरा सिकाउन चाहन्छु, जुन तिम्रो पुस्ताले हामीले भोगेको धेरै गलत कुरा दोहोर्‍याउन नपरोस् ।

तिमीले आफ्नी आमालाई सम्मान गरेको देखेर तिम्रा साथीहरूले सिकून् । तिमीले आफ्नी दिदीको विचारलाई महत्त्व दिएको देखेर अरू भाइहरूले सिकून् । तिमीले भविष्यमा आफ्नी श्रीमतीलाई बराबरीको साथी बनाएको देखेर तिम्रा छोराछोरीले सिकून् । र कुनै दिन तिमी बुबा भयौ भने आफ्नी छोरीलाई ‘सावधान रहनू’ भन्नुभन्दा पहिले आफ्ना छोरालाई ‘कसैलाई असुरक्षित नबनाउनू’ भन्न सक्ने बुबा बन्नु ।

बाबु, म तिमीलाई महिलाको पक्षमा उभिन मात्र सिकाउन चाहन्न । म तिमीलाई मानिसको पक्षमा उभिन सिकाउन चाहन्छु । कसैलाई कमजोर देखेर फाइदा नउठाउनू । कसैले विश्वास गरेको छ भने त्यो विश्वासको रक्षा गर्नू । कसैले ‘हुँदैन’ भनेपछि रोकिनू । कसैको मौनतालाई सहमति नसम्झनू साथै कसैले तिमीमाथि भरोसा गरेर आफ्नो मनको कुरा सुनायो भने त्यसको मजाक नबनाउनू । किनकि असल पुरुष हुनु भनेको अरूभन्दा शक्तिशाली हुनु होइन, आफूसँग भएको शक्ति कसैलाई चोट नदिई प्रयोग गर्न सक्नु हो ।

आज तिमी पाँच वर्षका छौ । तिम्रा साना आँखाहरूले घरलाई हेरेर संसार बुझ्दै छन् । त्यसैले तिमीले घरमा देख्ने हरेक व्यवहार तिम्रो भोलिको चरित्रको एउटा इँटा हो । म चाहन्छु, ती इँटाले यस्तो मानिस बनाऊ, जसले महिलालाई सम्मान गर्छ, बालबालिकालाई सुरक्षित राख्छ, कमजोरलाई हेप्दैन, आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छ, गल्ती हुँदा माफी माग्न सक्छ, र आफूभन्दा फरक मानिसलाई पनि बराबर मान्न सक्छ ।

म तिमीलाई यस्तो छोरो बनाउन चाहन्न, जसलाई देखेर केवल उसकी आमा गर्व गरून् । म तिमीलाई यस्तो मान्छे बनाउन चाहन्छु, जसलाई देखेर कुनै आमाले आफ्नी छोरीलाई निश्चिन्त भएर भन्न सकून्- ‘ऊ असल मान्छे हो, ऊसँग तिमी सुरक्षित छौ । सायद त्यस दिन मात्र एउटी आमाको डर अलिकति कम हुनेछ । र त्यही दिनदेखि हाम्रो समाज पनि अलिकति राम्रो बन्न थाल्नेछ।’

त्यसैले बाबु, यति कुरा याद राख, बलियो बन्नू, तर कसैलाई दबाउन होइन । ठूलो बन्नू, तर कसैलाई सानो बनाउन होइन । सफल बन्नू, तर सबैभन्दा पहिले एउटा असल मान्छे बन्नू । यही मेरो सबैभन्दा ठूलो आशा हो तिमीबाट ।

तिम्री आमा

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ८ : ३३ बजे

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’