गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू) « Khabarhub

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ । जैमिनी नगर समितिले श्रम शिविरका रूपमा जैमिनी–५ बिनामारे चनौटेमा ३३ रोपनी खेत भाडामा लिएर यस वर्ष धान खेती गरेको हो ।

बसाइँसराइँले रित्तिन थालेको गाउँमा खेतीयोग्य जमिनको सदुपयोग गर्न श्रम शिविरमार्फत सामूहिक खेती गरेको पार्टीका नगर समिति सल्लाहकार केबी थापाले बताए । अहिले थोरै क्षेत्रबाट खेती सुरू गरेको सुनाउँदै अब क्षेत्र बिस्तार गर्ने उनको भनाइ छ । ‘हामी गाउँका कुनै पनि खेतबारी बाँझो नरहुन् भन्ने चाहन्छौँ । खाली रहेका जमिनलाई सदुपयोग गर्ने र उत्पादन बढाउने हाम्रो नीति हो,’ उनले सुनाए ।

अहिले कार्यकर्तालाई धान भित्र्याउने चटारो छ । बिहानैदेखि कार्यकर्ता खेतमा पुग्छन् । उनीहरूलाई खाना खाजा पार्टीले व्यवस्था गर्छ । पारिश्रमिक भने कसैले लिँदैनन् । यस वर्ष करिब ६० देखि ८० मुरी धान उत्पादन हुने उनीहरूको अनुमान छ । 

पछिल्लो आठ दिनदेखि धान काट्ने, चुट्ने काममा निरन्तर खटिएका उनीहरू अब दुई दिनभित्र सबै सक्ने गरेर कस्सिएका छन् । धान भित्र्याउन पालिकाभरका नेता–कार्यकर्ता स्वतस्फूर्त सहभागी भएका छन् । खेतमा धान रोप्ने, गोड्ने र भित्राउँदासम्म ४ सय ५० नेता कार्यकर्ताले श्रमदान गरेका छन् ।

गत वर्ष फागुनमा बैठक बसेर नगरसमितिले सामूहिक खेती गर्ने निर्णय गरेको थियो । सोहीअनुसार खाली जग्गा खोजेर कार्यकर्ताले असारमा धान खेती गरे । धान खेती गर्दा पारिश्रमिक दिएर एक जना पनि खेताला नलगाएको सल्लाहकार थापाले दाबी गरे । उत्पादन भएको धान बिक्रीबाट पार्टी संचालन गर्ने र आवश्यक पर्ने क्षेत्रमा लगानी गर्दै जाने उनको भनाइ छ । यस्तो नीति सबै पार्टी र सरकारले लागू गर्न आवश्यक रहेको उनको सुझाव छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले बागलुङका धेरै पालिकामा बसाइँसराइँले गर्दा बिगौँबिगा जमिन खेर गएकाले सामूहिक खेती आवश्यक रहेको औँल्याए । जैमिनीमा जनमोर्चाले सुरू गरेकोमा अन्य पालिकामा अरू पार्टीले गर्न सके उत्पादन बढ्ने र आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ ।

‘जनमोर्चाले जैमिनीमा राम्रो सुरुवात गरेको छ । यो खालको खेती सबै ठाउँमा गर्न जरूरी छ । किनकी जिल्लाभरका पालिकामा बसाइँसराइ समस्या बन्दै छ । जसका कारण खेती गर्ने खेतबारीहरु झाडी बन्दै छन्,’ उनले थपे, ‘त्यसलाई रोक्नका लागि स्थानीय सरकार, पार्टीहरु र नागरिकको सामुहिक पहलमा खेती गर्न जरूरी छ ।’

उत्पादन भएको धानमध्ये पार्टीले ६५ प्रतिशत राख्ने र खेत धनीलाई ३५ प्रतिशत उपलब्ध गराउने सहमति छ । गाउँमा जनशक्ति नपाइँदा खेतपाती गर्न निकै गाह्रो भएको बेला पार्टीलेनै धान खेती गरेपछि धेरै सहज भएको खेत धनी खमबहादुर क्षेत्री बताए । गत वर्षसम्म परिवारले धेरै दुःख गरेर खेती गर्दै आएको उनले सुनाए ।

अहिले श्रम शिविरका रूपमा काम गरेपछि खेतबारी बाँझो हुनबाट जोगिएको र उत्पादन पनि राम्रो भएको क्षेत्रीको भनाइ छ । ‘गाउँमा एक जना पनि कामदार पाइन छोड्यो । यति धेरै खेतबारीमा कसरी खेती गर्ने ? निकै समस्या थियो, छरछिमेकको बारी बाँझो हुँदै गएको छ । यस वर्ष पार्टीले हामी गर्छौँ भनेपछि उहाँहरूलाई जिम्मा दिएको हुँ,’ क्षेत्रीले भने, ‘उहाँहरूले धेरे मेहनत गर्नु भएको छ, धेरै ठाउँबाट आएर काम गर्नु भएको छ, जसले गर्दा उत्पादन पनि राम्रो भएको छ ।’ परिवारले मात्रै खेती गर्दा मल पुर्‍याउन नसक्दा उत्पादन बढाउन नसकेको उनको भनाइ छ ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : ०० बजे

सामा-चकेवा समापन (तस्बिरहरू)

काठमाडौं- दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ बागमती विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेट खेलमा

युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु : कसरी खुल्यो रहस्य ?

काठमाडाैँ – युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।