काठमाडौं- गत बिहीबार कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव योगेशकुमार भट्टराईबारेमा कडा टिप्पणी गरे ।
उनले उक्त अन्तर्वार्तामा ‘सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराईले यस पटक जित्ने स्थिति नरहेको’ र ‘बिन्दा पाण्डेको कुनै आधार नभएको’ बताएका थिए।
अर्कातिर काभ्रेली नेता ‘गोकुल बास्कोटाले कार्यकर्ता पंक्तिमा विभाजन ल्याउँदा अप्ठ्यारो स्थिति सिर्जना भएको’ टिप्पणी पनि गरेका थिए । ओलीको यो टिप्पणीले यी नेताहरूमाथि सम्भावित कारबाहीको डन्डा चल्न सक्ने संकेत गरेको थियो । यद्यपि ओलीले उनीहरूमाथि चुनावअघि नै कारबाहीको सम्भावना कमजोर छ ।
उनले योगेश र गोकुलमाथि फागुन २१ को चुनावपछि कारबाही गर्न सक्छन् । ताप्लेजुङ र काभ्रे २ मा एमालेले जिते पनि या हारे पनि ओली यी नेतामाथि कारबाहीको तयारीमा छन् । उनले त्यहीअनुसार आफूनिकट नेताहरूलाई दुई नेतामाथि कारबाहीका लागि उचित राय र आधार संकलन गर्न पनि निर्देशन दिइसकेका छन् ।
ओलीको यो तयारीबीच योगेश, गोकुल, सुरेन्द्र र बिन्दासहितले सार्वजनिक रुपमै कडा टिप्पणी गरिरहेका छन् । नेता पाण्डेले ओलीको अभिव्यक्तिका कारण एमालेका स्वाभिमानी कार्यकर्तालाई चोट पुगेको बताएका छन् ।
उता अर्का नेता बास्कोटाले कसैको प्रतिशोध या बदलाको राजनीतिले कहीँ पनि नपुगिने टिप्पणी गरेका छन् । अर्की नेतृ विन्दाले पार्टी नेतृत्वबाट आएको त्यस किसिमको अभिव्यक्ति स्वीकार्य हुन नसक्ने बताएकी छन् ।
चौतर्फी घेराबन्दी भइरहेका बेला चुनावको मुखमा सबै नेतालाई एक बनाएर लानुपर्ने अहिलेको अवस्थामा ओली आफ्नै दलका नेताहरूसँग भिड्न थालेका छन्। यसले एमाले अर्को सम्भावित दुर्घटनाको डिलमा पुगेको अनुमान नेता-कार्यकर्ताहरूले गरिरहेका छन् ।
टिकट नदिए पनि देशभरको चुनावी अभियानमा उत्रिन पठाउनुपर्ने योगेश, गोकुल, सुरेन्द्र र बिन्दाहरूलाई भीरको टुप्पामा पुर्याएर धकेल्ने ओलीको यो रणनीतिले एमालेमा अर्को संकटलाई इंगित गरिरहेको छ ।
ताप्लेजुङ र काभ्रे २ बाट पहिलो प्राथमिकतामा राखेर सिफारिस हुँदा पनि ओलीले एघारौँ महाधिवेशनमा आफूविरुद्ध उभिएका यी नेतालाई ठेगान लगाउने कोसिस तीव्र बनाएका हुन् ।
ओलीले कारबाहीको डन्डा चलाउने चर्चाबीच योगेश थेबेको मनोनयनका लागि ताप्लेजुङ पुगे। त्यहाँबाट उनी एमालेका जिल्ला उम्मेदवार भेट्न पहाडी जिल्ला घुम्दै सुनसरीदेखि धनकुटासम्म पुगे । उनी अहिले एमाले उम्मेदवारको पक्षमा माहोल बनाउन खटिरहँदा ओली भने उनको कुरा नसुन्न निर्देशन दिइरहेका छन् ।
ओलीले योगेशको कुरा नसुन्न र सुनेर पनि नआउन भन्दै कडा निर्देशन दिएर बसिरहेका छन् । उता काभ्रेली नेता गोकुल बास्कोटालाई पनि ओलीले कारबाहीको तयारी गरेका छन् ।
अशोक ब्यान्जुले जिते पनि हारे पनि बास्कोटामाथि फागुन २१ को चुनावपछि कारबाहीको डन्डा चलाउने योजना ओलीले बनाइसकेका छन् । ‘दुई नेताको भूगोलमा एमालेले जिते पनि हारे पनि कारबाहीको तयारी ओलीले गरिरहनु भएको छ’, उनीनिकट एक नेता भन्छन्, ‘फागुन २१ को चुनावपछि उहाँहरूसहित केही नेताहरूमाथि कठोर कदम चाल्न सक्ने संकेत उहाँले दिनु भएको छ।’
थेबेलाई जिताउन योगेशनिकटको कारबाही फुकुवा
योगेशलाई ठेगान लगाउन अघि बढिरहेका ओलीले ताप्लेजुङका दुई नेताहरूमाथि कारबाही फुकुवा गराएका छन् । खासमा त्यहाँको टिकट योगेशलाई नदिएर आफ्नो वरिपरि रहिरहने क्षितिज थेबेलाई दिएका ओलीले दुई नेतामाथिको कारबाही फुकुवा गराए ।
एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङ जिल्ला कमिटी पूर्वअध्यक्ष एवम् कोशी प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य बलबहादुर साम्सोहाङ र कोशी प्रदेश कमिटी पर्यटन विभाग सचिव मणिशंकर पोमूको कारबाही फुकुवा गरेको छ।
ओलीले कुनै पनि हालतमा थेबेलाई जिताएर पठाउन कडा निर्देशन प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई दिएका छन् । थेबेले जिते पनि, हारे पनि योगेशलाई कारबाही गर्ने रणनीति बनाएका ओलीले बिनाकारण निलम्बन गरिएका दुई नेतालाई पार्टीमा सक्रिय बनाउन भनेका थिए ।
प्रदेश कमिटीले गत मंसिर ११ गते पार्टीभित्रको आन्तरिक द्वन्द्वबारे स्पष्टीकरण सोध्दै निलम्बन गरेर १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको थियो । दुवै नेताले आत्मआलोचनासहित चित्तबुझ्दो स्पष्टीकरण बुझाएको ठहरसहित प्रदेश कमिटीले कारबाही फुकुवा गरेको हो ।
गत पुस ९ गतेदेखि लागू हुने गरी दुवै नेताको निलम्बन फुकुवा गरिएको हो । तर उक्त पत्र माघ १० गते नेता पोमूको सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ । अर्का नेता साम्सोहाङले उक्त पत्र सार्वजनिक गरेका छैनन् ।
एक महिनाअघि नै निलम्बन फुकुवाको पत्र जारी भएको अवस्थामा अहिले सार्जजनिक गराएर एमाले एक रहेको सन्देश दिन खोजिएको एकजना नेताले बताएका छन् । प्रदेश कमिटीले ताप्लेजुङमा एमालेभित्रको असन्तुष्टि घटेर थेबेलाई जित्न सजिलो हुने हिसाब निकालेको छ।
कारबाहीमाथि कारबाही
यसअघि गत वैशाखमा पनि यी दुईमाथि कारबाही गरिएको थियो । पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै प्रदेश कमिटीको बैठकले पूर्वमन्त्री साम्सोहाङ र एमाले कोशी प्रदेश पर्यटन विभाग सचिव पोमुलाई कारबाही गरिएको थियो। कारबाहीमा परेका साम्सोहाङ र पोमुलाई एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिएको थियो।
२०८२ वैशाख १८ गते राष्ट्रिय युवा सङ्घ नेपाल ताप्लेजुङको अधिवेशनबाट संस्थापन पक्षले एकलौटी ढङ्गले जिल्ला कमिटी गठन गरेकोभन्दै साम्सोहाङ पक्षले विरोध गरेका थिए ।
त्यही विरोध गरेको कारण उनीहरू कारबाहीमा परेका थिए । जिल्ला अधिवेशनबाट एकलौटी युवा सङ्घको कमिटी घोषणाको विरोध गरेकै कारण कारबाही गरिएको थियो ।
यता युवा सङ्घको जिल्ला अधिवेशनबाट संस्थापन पक्षका मानिने मानिक तुम्बाहाम्फे अध्यक्ष रहेको जिल्ला कमिटी चयन गरेको थियो ।
सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेशनको बन्द सत्रमा दुई पक्षबीच विवाद भएको थियो।
दुई पक्षीय विवादले उग्र रूप लिँदा अधिवेशनस्थलमा टेबुल, कुर्सीलगायत तोडफोडसमेत भएको थियो। साम्सोहाङ र पोमु एमाले सचिव योगेशकुमार भट्टराईनिकट नेताका रुपमा परिचित छन् ।













प्रतिक्रिया