एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’ « Khabarhub

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा तीखो टिप्पणी गरेका छन्।

कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले आन्दोलनका क्रममा भएको विध्वंस, हिंसा र त्यसपछिका राजनीतिक घटनाक्रमलाई जोड्दै त्यसको पछाडि सुनियोजित डिजाइन रहेको दाबी गरेका छन्।

विश्वकर्माले आइतबार सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै जेन–जी आन्दोलनका नाममा देशभर मच्चिएको तोडफोड, आगजनी र मानवीय क्षतिपछि देखिएको राजनीतिक पुनर्संरचनाले धेरै प्रश्नको उत्तर आफैं दिएको बताएका छन्।

‘भदौ २४ गते देशभर विध्वंस मच्चाउनेहरू अहिले एउटै पार्टीमा जोडिनुले त्यसको पछाडि कसको डिजाइन थियो भन्ने पुष्टि भएको छ,’ उनले लेखेका छन्।

उनले घटनाक्रमलाई प्रसिद्ध साहित्यकार बालकृष्ण समको ‘नियमित आकस्मिकता’सँग तुलना गर्दै सुरुमा आकस्मिक र रहस्यमय देखिएका घटनाहरू क्रमशः खुल्दै गइरहेको उल्लेख गरेका छन्।

विश्वकर्माले भदौ २३ गते अवोध स्कुले बालबालिका सुशासनको माग गर्दै माइतीघर मण्डलामा भेला हुनुबाट सुरु भएको घटनाले अप्रत्याशित मोड लिएको बताएका छन् ।

त्यही भीडमा ‘टीओबी’ लेखिएको पोसाक लगाएर बुलेट बाइकमा आएका समूहको प्रवेश, बालबालिकाको जुलुस निषेधित क्षेत्र संसद् भवनतर्फ प्रवेश गर्नु र त्यस दिन सुरक्षाका लागि राखिने बेरिगेट नहुनु गम्भीर प्रश्न भएको उनको भनाइ छ।

उनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी र कर्मचारीहरू स्वयम् पानी वितरण गर्दै हिँड्नु, गोली चल्दा संसद् भवनको कम्पाउण्ड तोड्न खोज्नेहरूभन्दा बाहिर रहेका बालबालिकालाई लागेर ज्यान जानु, सामाजिक सञ्जालको बन्देज हटे पनि स्थिति सामान्य नहुनुजस्ता विषयलाई शंकास्पद रहेको रुपमा उठाएका छन्।

भदौ २४ गते बिहानैदेखि कांग्रेस र एमालेका नेताका घर, पार्टी कार्यालय, राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय तथा निजी व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनीलाई उनले ‘देशलाई खरानी बनाउने दृश्य’को संज्ञा दिएका छन्।

ललितपुरस्थित नख्खु जेल भत्काएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय जुलुससहित बाहिर आउनु र उनीसँगै भागेका हजारौँ कैदीबन्दी अझै फरार रहनुलाई पनि उनले गम्भीर षडयन्त्र भनेका छन् ।

विश्वकर्माले यति ठूलो जनधनको क्षतिको जिम्मेवारी कसैले नलिएको तर आन्दोलनमा नारा लगाउँदै हिँडेकै व्यक्ति प्रधानमन्त्री र मन्त्री बनेको तथ्यलाई गम्भीर विरोधाभासका रूपमा प्रस्तुत गरेका छन्।

चुनाव गराउने उद्देश्यले बनेको नागरिक सरकारले सबैभन्दा पहिले जेल तोडेर भागेका कैदीबन्दीका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्नु झन् आश्चर्यजनक रहेको उनले बताएका छन् ।

उनले भदौ २३ र २४ मा विध्वंस मच्चाउने बालेन साह, सुदन गुरुङ तथा विभिन्न कलाकारहरू एउटै पार्टीमा जोडिनुलाई पनि रहस्यमय भनेका छन् ।

नागरिक सरकारका मन्त्रीहरू पनि रास्वपातिरै जानु र रास्वपाले जेन–जी आन्दोलनको अपनत्व लिने घोषणा गर्नुले घटनाको राजनीतिक पृष्ठभूमि झन् स्पष्ट भएको दाबी उनले गरेका छन्।

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग बयान लिइरहेकै सन्दर्भमा निष्पक्ष र गहिरो अनुसन्धानको माग उनले गरेका छन्।

विश्वकर्मा लेख्छन्

‘देश कसले र किन जलायो? यति धेरै मानिस किन र कसले मार्यो?’ विश्वकर्माले प्रश्न गरेका छन् । उक्त कुराको अझै अनुसन्धान बाँकी रहेको र आयोगले सत्य बाहिर ल्याउनुपर्ने उनले बताएका छन्।

घटनाहरू कुनै पहिल्यै अनुमान गर्न सकिन्छन्, त केही सुरुमा आकस्मिक, अकल्पनीय अर्थात् रहस्यमय देखिन्छन्। प्रसिद्ध साहित्यकार तथा लेखक बालकृष्ण समको ‘नियमित आकस्मिकता’ जस्तै।

गत भदौ २३ देखि नेपालमा घट्दै आएका घटनाहरू सुरुमा आकस्मिक, अकल्पनीय, चमत्कारी र रहस्यमय लाग्थे। तर अहिले ती क्रमशः खुल्दै गइरहेका छन्।

१. भदौ २३ गते अवोध स्कुले बालबालिका सुशासनको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनका लागि भेला हुनु।
२. त्यही भीडमा सयौँको संख्यामा ‘टीओबी’ लेखिएको टी–सर्ट, ज्याकेट लगाएर बुलेट बाइकमा आएर भीडभित्र पस्नु।
३. बालबालिकाको जुलुस बानेश्वरस्थित संसद भवन, अर्थात् निषेधित क्षेत्रमा प्रवेश गर्नु।
४. अन्य बेला भीड रोक्न राखिने सुरक्षा बेरिगेट त्यो दिन नराखिनु।
५. विरोध जुलुसमा महानगरपालिकाको गाडीमा कर्मचारीहरू स्वयं पानी वितरण गर्दै हिँड्नु।
६. गोली चल्नु तर संसद भवनको कम्पाउण्ड भत्काएर भित्र पस्न खोज्नेहरूलाई होइन, बाहिर जुलुसबीच रहेका कलिला बालबालिकालाई लाग्नु र उनीहरूको ज्यान जानु।
७. सामाजिक सञ्जालको बन्देज हटाइनु, गृहमन्त्रीले राजीनामा दिनु तर सोचेजस्तो स्थिति सामान्य नहुनु।
८. २४ गते बिहानैदेखि कांग्रेस–एमालेका नेताका घर, पार्टी कार्यालय, राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतलगायत प्रहरी कार्यालय तथा व्यवसायिक प्रतिष्ठानमा तोडफोड, लुटपाट र आगजनी गरी खरानी पारिनु।
९. जेल भत्काएर रास्वपाका नेता विजय जुलुससहित बाहिर आउनु। उनीसँगै भागेका हजारौँ कैदीबन्दी अझै फरार रहनु।
१०. यत्तिका जनधनको क्षतिको जिम्मा कसैले नलिनु, तर सडकमा नारा लगाउँदै हिँडेकै मानिस प्रधानमन्त्री र मन्त्री बन्नु।
११. चुनाव गर्न भनेर बनेको नागरिक सरकारले सबैभन्दा पहिले त्यही जेल तोडेर भागेका कैदीबन्दीका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्नु।
१२. भदौ २३ र २४ मा विध्वंस मच्चाएर देश खरानी पार्ने बालेन, सुदन गुरुङ, विभिन्न कलाकारहरू सबै एउटै पार्टीमा जोडिनु।
१३. नागरिक सरकारका मन्त्रीहरू पनि सरकार छोडेर उतैतिर जानु।
१४. रास्वपाले ‘जेन–जी आन्दोलन’को अपनत्व लिने घोषणा गर्नु।
१५. कार्की आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग बयान लिनु।

आखिर भदौ २३ र २४ को कहालीलाग्दो नाटक (हरर ड्रामा ) किन र कसले घटायो?
आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै घटनाका पात्रहरूको दैनिक गतिविधिले धेरै कुरा छर्लङ्ग पारिदिएको छ। अझै पनि दिनहुँ नयाँ तथ्य खुल्दै छन्।

देश कसले र किन जलायो?
यति धेरै मानिस किन र कसले मार्यो?
अझै अनुसन्धान बाँकी छ, आयुक्तज्यू!

आजका लागि यत्ति।
धन्यवाद !

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ३ : १० बजे

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी