गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री « Khabarhub

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा पाँच लाख २५ हजार ७१५ रुपैयाँ आम्दानी गरेको छ । 

पर्यटकीय राजधानी पोखरा–१७ छोरेपाटनमा रहेको सो गुफा अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई टिकट बिक्री गरेर आम्दानी गरेको हो ।

जेठको १० गते आइतबार मात्र गुफामा चार हजार ४७२ जना बाह्य पर्यटक, एक हजार ४८७ आन्तरिक पर्यटक र ११९ जना विद्यार्थी गरी कूल छ हजार ७८ जनाले टिकट काटेर गुफाको अध्ययन अवलोकन गरेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।

गुफाभित्र ५०० मिटरमा अवस्थित प्रकृति निर्मित शिवमूर्तिको दर्शनसँगै लगभग १०० मिटरभित्र पुगेपछि देखिने पातले छाँगो (डेभिजफल) झरनाको दृश्यले पर्यटकको आकर्षण बढाएको बताउँदै उनले भने, ‘गुफा एउटा अलौकिक धार्मिक एवं पर्यटकीयस्थलको रूपमा विकास हुँदै आएको छ ।’

गुफा प्रवेशका लागि आन्तरिक पर्यटकका लागि रु ५०, बाह्य पर्यटकको लागि रु १०० र विद्यार्थीको लागि रु ३५ को टिकट व्यवस्था गरिएको छ । गुफाभित्र निर्माण गरिएको यान्त्रिक कामधेनु गाई र भक्तजनले चढाएको दानबाट पनि राम्रो आम्दानी हुने गरेको छ ।

अध्यक्ष बास्तोलाले भने, ‘तीन दशकदेखि प्रचारप्रसारमा आएको गुफाको आम्दानीबाट गुफाको संरक्षण एवं प्रवर्द्धनसँगै शैक्षिक क्षेत्रमा लगानी गर्दै आएको छ । गुफाले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापना गरी सञ्चालन गर्दै आएको छ जुन क्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।’

गुफाको धर्मशाला हलमा गुरुकुल पनि सञ्चालन गर्दै आएको छ । जस गुरुकुलमा कक्षा ११ सम्मको पढाइ हुने गरेको हाल ४८ जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् भने आसपासका सामुदायिक विद्यालयलाई समेत आर्थिक सहयोग गरेको छ । गुफाले वार्षिक रु छदेखि सात करोडसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ ।

गुफाको टिकटबाहेक कामधेनु गाई, भक्तजनले चढाएको दान, थप आम्दानीको स्रोत बनेको बताउँदै उनले भने गुफा परिसरमा मुस्ताङबाट ल्याइएको १००८ मिलोग्रामको शालिग्राम, बूढानीलकण्ठ मूर्तिका साथै गुफा प्रवेश स्थलमा निर्माण गरिएका नवग्रह आकर्षणको रूपमा रहेका छन् ।

गुफा कार्यालय प्रमुख नारायण पौडेलका अनुसार पछिल्लो समय गर्मी बढेसँगै पोखरामा पर्यटकको चाप बढेको छ । 

पोखरा आउने पर्यटकले गुफा नआईकन फर्के भ्रमण अधुरो रहेको महसुस गर्न थालेको कारणले आकर्षण बढेको छ । छ हजार क्षेमताको गुफामा भीड बढेपछि व्यवस्थापन गर्न समेत धौधौ पर्ने गरेको उनको भनाइ छ । 
 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ११ : ३८ बजे

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली– तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

एजेन्सी– अमेरिका र इरानबीच जारी उच्चस्तरीय वार्ता अन्तिम चरणमा पुगेको

कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण

पर्यटकको रोजाइमा कोशी टप्पु

धरान– आर्थिक वर्ष २०८१-८२ मा  ११ हजार ६०३ पर्यटकले कोशी

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग : उद्घाटनको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर