काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
यस अवधिमा ३० वटा विपद्का घटना दर्ता भएका छन्, जसमा सर्पदंशका घटनाले सबैभन्दा बढी मानवीय क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार ७ जिल्लामा भएका ११ वटा सर्पदंशका घटनामा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । यस्तै, ४ जिल्लामा भएका ४ वटा पहिरोका घटनामा परी १ जनाको ज्यान गएको छ ।
प्राधिकरणका अनुसार आगलागीका ५ वटा घटनामा १ जना घाइते भएका छन् । यसबाहेक वन डढेलोका ३, चट्याङका ३, हावाहुरीका २, बाढी र जनावर आक्रमणका १–१ वटा घटना दर्ता भएका छन् । विपद्का यी घटनाबाट देशका २४ जिल्ला प्रभावित भएका छन् । घटनाबाट अनुमानित १४ लाख ४८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
राहत, खोज तथा उद्धार कार्यका लागि देशभर १२७ जना प्रहरी परिचालन गरिएको छ । आगलागीका घटनामा ३७ जना, सर्पदंश प्रभावित क्षेत्रमा ३३ जना तथा पहिरो प्रभावित क्षेत्रमा २७ जना प्रहरी परिचालन गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।












प्रतिक्रिया