मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश « Khabarhub

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ । सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको हो ।

त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थायी वेस स्थापना भएका छन् । सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका १६ स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ । धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थायी वेस स्थापना गरिसकेको छ ।

“यी स्थायी कार्यालय हुन, जुन वर्षैभरि रहन्छन्”, सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले भने, “उपलब्ध स्रोत र साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्नेगरी योजना बनेका छन् ।” यस वर्षको मनसुनजन्य विपद्सँग जुध्नका लागि आठ हजार एक सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्षको मनुसनमा सरदरभन्दा कम वर्षाको आँकलन गरिए पनि मनसुनजन्य विपदबाट देशभर करिब ५१ हजार आठ सय ८६ घरधुरीका करिब दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाएको छ । प्राधिकरणका अनुसार कोशीमा ३८ हजार सात सय ३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जनसङ्ख्या प्रभावित हुने अनुमान छ ।

बाढी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका ८२ वटा ‘¥याफ्ट बोट’ र ५३ वटा ‘मोटर बोट’ तथा विशिष्टकृत तालिमप्राप्त चार हजार ७१० जना दक्ष सशस्त्र प्रहरी र १३४ गोताखोर तालिमप्राप्त जनशक्तिलाई देशभर ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

एक लाख ६८ हजार रहेको विपद् सूचक सञ्जाल तयार

सशस्त्र प्रहरीले विपद्सम्बन्धी सूचना समयमै प्राप्त गर्ने उद्देश्यले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल तयार पारेको छ ।

ती सूचकले आफू नजिकको स्थानमा विपद् भएको अवस्थामा तत्कालै नजिकको सशस्त्र प्रहरीको युनिटमा सूचना दिनेछन् ।

सशस्त्र प्रहरीले विपद्का समयमा उद्धारका लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ एपिएफ–सिएएस प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीबाट हरेक बाहिनी तहमा रहेको परिचालन कक्षमा तत्काल सूचना प्राप्त हुने र शीघ्र परिचालनका लागि आदेश दिइने प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  २ : ४३ बजे

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर