मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान « Khabarhub

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ । 

यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ ।

पूर्वी तराईको सबैभन्दा बढी जनघनत्व भएको जिल्ला झापाको कूल क्षेत्रफल एक हजार ६०६ वर्ग किलोमिटर रहेको छ । तर वन क्षेत्र भने १८ हजार ६५ हेक्टरमा मात्र सीमित छ । यो जिल्लाको कूल भूभागको ११.२४ प्रतिशत हो । 

वन क्षेत्रको यो अनुपात राष्ट्रिय औसतभन्दा कम रहेको छ । आन्तरिक बसाइँसराइका कारण यहाँको जनसङ्ख्याको चाप निरन्तर बढिरहेको छ । बढ्दो बस्ती विस्तारका कारण वन क्षेत्रमाथिको दबाब बढ्दै जाँदा वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । यसको प्रत्यक्ष असर मानव र वन्यजन्तुबीच हुने द्वन्द्वमा देखिन थालेको छ ।

नेपाल सरकारले सन् २०३० सम्म वन विनाशलाई शून्यमा झार्ने तथा देशको वन क्षेत्र ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । डिभिजन वन कार्यालय झापाका वन अधिकृत रामभक्त यादवका अनुसार हाल देशको वन क्षेत्र ४६ प्रतिशत नाघेको छ । तर झापाको भौगोलिक अवस्था, सीमित वन क्षेत्र र तीव्र शहरीकरणका कारण उक्त राष्ट्रिय लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिएको छ ।

वन अधिकृत यादवका अनुसार मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै हरियाली विस्तार गर्ने उद्देश्यले यस वर्ष करिब ५० हेक्टर खाली जमिनमा वृक्षरोपण गरिनेछ । यो कार्यक्रम सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयमा सञ्चालन हुनेछ । उनका अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत १५ हेक्टर क्षेत्रमा तारबारसहित वृक्षरोपण गरिनेछ । त्यसैगरी नमूना वृक्षरोपण कार्यक्रममार्फत २० हेक्टर, प्रदेश सरकारको वन विकास तथा जडीबुटी प्रवर्द्धन कार्यक्रमअन्तर्गत चार हेक्टर तथा कृषि वन प्रवर्द्धन कार्यक्रममार्फत थप चार हेक्टर क्षेत्रमा बिरुवा रोपिनेछ ।

वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका पाँच स्थानमा नर्सरी सञ्चालन गरिएको वन अधिकृत यादवले बताए। डिभिजन वन कार्यालय चन्द्रगढी, मेची बहुवन उपडिभिजन, जलथल उपडिभिजन रङ्गियाडाँडा, दमक उपडिभिजन झिलझिले तथा कन्काई उपडिभिजन सुरुङ्गास्थित नर्सरीमा विभिन्न प्रजातिका करिब दुई लाख बिरुवा उत्पादन गरिएको उनले जानकारी दिए । यसका साथै वन कार्यालयले करिब १० लाख बराबरका बाँसका बिरुवा र करिब १० लाख बराबरका फलफूलका बिरुवा खरिद गरी निःशुल्क वितरण गर्ने तयारी छ । 

विशेषगरी जङ्गली हात्तीको आवतजावत हुने क्षेत्रमा बाँसका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ । यसले हात्तीको प्राकृतिक आहार र आवरणको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

वन अधिकृत यादवका अनुसार यस वर्ष पहिलोपटक श्रीखण्डका बिरुवासमेत वितरण गरिनेछ । आर्थिक तथा वातावरणीय दुवै हिसाबले महत्वपूर्ण मानिने श्रीखण्डको प्रवद्र्धनले स्थानीय समुदायलाई दीर्घकालीन रुपमा आम्दानीको अवसर सिर्जना गर्नुका साथै वनको जैविक विविधता संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

वन क्षेत्र विस्तारसँगै वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले अघि बढाइएको वृक्षरोपण अभियानलाई झापामा दीर्घकालीन वातावरण संरक्षणको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ५ : ०७ बजे

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट तासी शेर्पा, सीतावादी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा