मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द « Khabarhub

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि लमजुङको ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले आज विद्युत् उत्पादन बन्द गरी टर्वाइनको सफाइ थालेको छ । बेँसीसहर नगरपालिका–१ दलालमा रहेको आयोजनाले आज दिउँसोदेखि विद्युत् उत्पादन बन्द गरी दुईवटै टर्वाइनमा जम्मा भएको बालुवा सफाइको काम थालेको हो ।

आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार मस्र्याङ्दी नदीमा निरन्तर पानीको बहाव बढेसँगै बालुवा बढी आउन थालेपछि विद्युत् उत्पादनमा असर पर्नसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिएर आयोजना ‘सटडाउन’ गरिएको हो । “नदीमा पानीसँगै बालुवा धेरै आइरहेको छ । यसले टर्वाइनमा असर पार्नसक्ने भएकाले आज दिउँसोदेखि आयोजना ‘सटडाउन’ गरेर दुईवटै टर्वाइनमा बालुवा सफाइको काम सुरु गरेका छौँ”, उनले भने । उनका अनुसार टर्वाइनको बालुवा सफाइको काम सम्पन्न गर्न कम्तीमा चारदेखि पाँच घण्टा लाग्नेछ ।

सफाइको काम सकिएपछि अवस्था हेरेर विद्युत् उत्पादन पुनःसञ्चालन गरिनेछ । मध्य–मर्स्याङ्दी लमजुङमा निर्माण भएको पहिलो ठूला जलविद्युत् आयोजना हो । आयोजनामा ३५/३५ मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट कुल ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । यसैगरी, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजनाले पनि आज बिहान करिब तीन घण्टा विद्युत् उत्पादन बन्द गरी दुवै टर्वाइनको सफाइ गरेको छ ।

आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार २५/२५ मेगावाट क्षमताका दुवै टर्वाइन खोलेर पानी निकाली बालुवा सफाइ गरिएको हो । “मर्स्याङ्दीमा बालुवा धेरै आएको र त्यसले गर्दा टर्वाइनमा जोखिम बढ्नसक्ने भएकाले करिब तीन घण्टा विद्युत् बन्द गरेर दुवै टर्वाइन खोली पानी निकालेर बालुवा सफाइ गरेका हौँ”, उनले भने । सफाइको काम सम्पन्न भएपछि अहिले विद्युत् उत्पादन पुनःसञ्चालनमा आइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ५ : ४० बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु