एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा « Khabarhub

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

नयाँ र पुराना दलका उम्मेदवारीबीच हुन सक्छ कडा प्रतिस्पर्धा



काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई निर्वाचन जित्नै संकट पर्ने देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँगको १२ दिने संगतले संकटमा पारेको हो ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले नयाँ शक्तिहरू एकजुट हुनुपर्ने सन्देश दिएको र पुराना राजनीतिक शक्तिलाई चुनौती दिन नयाँ शक्ति निर्माण गर्ने भन्दै दुई पार्टीबीच एकता भएको थियो ।

गत पुस १४ गतेको अचानकको एकतापछि शक्ति बाँडफाँट र पदीय भागबण्डा नमिल्दा दुई पार्टीहरू १२ दिनमै अलग्गिए । तर यो निर्णयबाट सबैभन्दा झट्का कुलमानले भोगेका छन् । ५० हजार रुपैयाँ शुल्क तिरेर बन्दसूचीको नाम बुझाइसकेको उज्यालो नेपालले १४ गते नाम फिर्ता लिएर रास्वपासँग सहयात्रा गर्दा कुलमानले सयौँ नेता कार्यकर्ता गुमाए ।

समानुपातिकको समय घर्किएपछि कुलमान झन्डै घरका न घाटका भए । उनले समानुपातिकका उम्मेदवारसँगगै कयौँ नेता पनि गुमाए । आइतबार मात्रै १५ जना केन्द्रीय सदस्यले उज्यालो नेपाल छाडे । त्यसअघ इलामका डकेन्द्र थेगिमहरू पनि बिदा हुँदा कुलमानलाई दबाब बढेको छ ।

जेन-जी अभियन्ता सुदन गुरुङको सक्रियतामा पुस १४ गते उज्यालो नेपाल र रास्वपाबीच फिल्मी शैलीमा एकता भएको थियो । हतारमा एकता गरेका दुई पार्टीहरूबीच सहमति पालना नसक्दा एकता भङ्ग भएको कुलमानले स्वीकार गर्दै आएका छन् ।

रास्वपाका नेताहरूको अपरिपक्वताका कारण भद्र एकता तोडिएको उनी पक्षका नेता महेन्द्र लावती बताउँछन् । एकता परिपक्व नहुनाले टिक्न नसकेको भन्दै नेताहरूले सुरुवातबाट नै एकता भङ्ग गरेर अगाडि बढ्न सुझाव दिए पनि कुलमानले अन्तिमसम्म मिल्ने प्रयत्न भने गरिरहेका थिए ।

तर, रास्वपाका सभापति रवि लामिछानेपछिका नेताहरूले मिल्न नदिएको कुरा कुलमानले सार्वजनिक रूपमै आरोप लगाउँदै आएका छन् । यता रास्वपा उपसभापति डिपी अर्यालले भने आज एउटा कुरा गर्ने र भोलि अर्को कुरा गर्ने कारण कुलमानसँगको सहयात्रा टुटेको दाबी गर्छन् । दुवै पक्षका नेताहरू तत्कालका लागि एकता टुटे पनि भविष्यमा सहकार्य हुने दाबी गरिरहेका छन् ।

त्यसपछि कुलमानले समानुपातिकमा बाँसुरी चुनाव चिह्नलाई सघाएर प्रत्यक्षमा देशभर आफ्ना उम्मेदवार उठाएको छ । तर उम्मेदवारहरूलाई आँकलन गर्दा कुलमान र केही उम्मेदवारबाहेक कसैले जित्ने सम्भावनासम्म देखिँदैन ।

कुलमान नआत्तिने

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिकमा बाँसुरी चुनाव चिह्नमा मतदान गर्नेछ । बाँसुरी चुनाव चिह्नबाट केन्द्रमा राजेश पोर्तेल सभापति छन् । उज्यालो नेपालले आमजनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि सहकार्य गर्न खोजेको थियो । तर, अहिले लो प्रोफाइलमार्फत् अगाडि बढ्ने एजेण्डासहित बाँसुरी चुनाव चिह्नमा मतदान गर्ने गरी अगाडि बढेको कुलमाननिकट नेता महेन्द्र थापा बताउँछन् ।

थापा भने अहिले तत्काल केही उपलब्धि नभए पनि भविष्यमा आफ्नो पार्टीलाई जनताले नेतृत्वदायी तहमा पुर्‍याउने दाबी गर्छन् । ‘खहरेको भेलसँग बग्ने गरी अगाडि बढे पार्टीको विकास हुँदैन भन्ने कुरालाई मध्यनजर गर्दै हामीले विस्तारै अगाडि बढ्ने सोच बनाएका हौँ’, थापाले अगाडि भने, ‘हामीमाथि १२ दिनसम्म झुलाएर निकै घात गरिएको छ । तर त्यसको जवाफ समयले दिनेछ ।’

कुलमानको सचिवालय पनि अहिले नआत्तिई अघि मुडमा रहेको बताउँछन । उनको सचिवालयका सदस्य भन्छन्, ‘उहाँको गृहजिल्ला रामेछाप हो । तर उहाँ क्षेत्र नम्बर ३ बौद्धमा बस्नुहुन्छ । यहाँका आदिवासी जनजातिलगायत उहाँलाई बलियो साथ दिनुभएको छ । हामीले चारपाँच वटा कारणले यस क्षेत्रबाट कम्फर्टेबल जितिने विश्वाससहित उम्मेदवारी दिएका हौँ । हामीमाथि ठूलो षड्यन्त्र र घेराबन्दी छ तर निर्वाचन जितिन्छ ।’

यस्ता छन् आधार

१. काठमाडौं-३ को बौद्ध र महाकाल क्षेत्रमा कुलमानको बसोबास भएकाले यहाँका आदिवासी जनजातिको ठूलो मत कुलमानलाई जान्छ । विशेषतः काठमाडौंका नेवार, तामाङ मगरलगायत समुदायले कुलमानबाहेक अरूलाई भोट हाल्दैनन् ।

२. कुलमानले ऊर्जा मन्त्रालय सम्हाल्दा र विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हुँदा काठमाडौंको यस क्षेत्रका बासिन्दासँग निरन्तर सहकार्य र संवाद गरेका थिए । यहाँका रैथाने र सुकुम्बासीसँग कुलमानले काम गरेका छन् ।

३. २०७४ को निर्वाचनमा पहिलो पटक एमालेका उम्मेदवारले जितेको यस क्षेत्रमा विकास निर्माणको कामले खासै गति लिन सकेन । एमालेबाट निर्वाचित कृष्ण राईलेले यहाँको समस्या समाधान गर्न सकेनन् ।

०७९ को निर्वाचनमा विजय भएका कांग्रेसका सन्तोष चालिसेले पनि यहाँको जनताको समस्यालाई सम्बोधन नगरेको मतदाताको गुनासो छ । यस पटक देशले चिनेको पलपुर व्यक्तिलाई जिताउने पक्षमा यहाँका जनता छन् ।

४. रास्वपाका तर्फबाट काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेलाई यहाँबाट उठाइएको छ । पाण्डे र एमाले वा कांग्रेसका उम्मेदवारभन्दा कुलमानको लोकप्रियता र छवि उच्च छ ।

५. कुलमानले रामेछापबाट उम्मेदवारी दिने तयारी गरे पनि यहाँको बौद्ध र गोकर्णेश्वर नगरपालिका क्षेत्रका जनजातिले काठमाडौं क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिन आग्रह गरेपछि कुलमानले रामेछापको च्याप्टर क्लोज गरेको उल्लेख गरिन्छ ।

कस्तो छ विगतको गणित

०७९ को निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका सन्तोष चालिसेले १५ हजार १५८ मत प्राप्त गरी विजयी भएका थिए । दोस्रो हुनेमा नेकपा एमालेका कृष्णबहादुर राई थिए, उनले ११ हजार १९६ मत पाए ।

०७९ को निर्वाचनमा यो क्षेत्रबाट प्रदेशसभामा पनि दुवै क्षेत्रमा कांग्रेस नै विजय भएको छ । प्रदेशसभा सदस्य (क) तर्फ छिरिङदोर्जे लामा र प्रदेशसभा (ख) मा विमल ठकुरी विजयी भएका हुन् ।

०७४ को निर्वाचनमा भने काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई सांसद निर्वाचित भएका थिए । त्यसबेला उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाएकी थिइन् ।

वैकल्पिक शक्तिको रूपमा उदाएको विवेकशील साझा पार्टीकी उम्मेदवार सुमित्रा सिंह लामाले २ हजार ५ मत पाइन् । त्यसबेला ५३ हजार ८२४ मतदाता रहेको यस क्षेत्रबाट ३९ हजार ३ मत खसेको थियो ।

संविधानसभाको पहिलो चुनावमा नेपाली कांग्रेसका चक्रबहादुर ठकुरी काठमाडौं ३ बाट विजयी भएका थिए । निरन्तर रूपमा कांग्रेसले जित्दै आएको यस क्षेत्रमा ०७४ को निर्वाचनमा भने नेकपा एमालेले जितेको थियो ।

फागुन २१ को तयारी

फागुन २१ को निर्वाचनमा यो पटक कुलमान घिसिङ, रास्वपाका उम्मेदवार राजु पाण्डे र नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालबीच कडा प्रतिस्पर्धा हुने धेरैले आँकलन गरेका छन् । कुलमानलाई टक्कर दिने किसिमले उठेका राजु पाण्डे काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् ।

रास्वपाका वरिष्ठ नेता बालेन साहसँग जोडिएर उनीको चर्चा हुने गरे पनि काठमाडौंबासीलाई सडक संरचना हटाउन लगाएर सास्ती दिएको आरोप पाण्डेमाथि छ । काठमाडौंबासीकै पनि सडक किनारमा पर्ने संरचना हटाउने अभियानमा बालेनलाई साथ दिएका पाण्डेलाई यहाँका स्थानीयले राम्रोसँग नहेर्ने आँकलन कुलमानको छ ।

तर बालेनले केही दिनमात्रै काठमाडौँ क्षेत्र नम्बर ३ मा पाण्डेलाई साथ दिएमा उनले कम्फर्टेबलले चुनाव जित्ने उनको सचिवालयको दाबी छ । ‘हाम्रो वरिष्ठ नेताको लिगेसीसँग जोडिएका पाण्डे सरलाई जिताउने अभियानमा खट्छौँ’, बालेनको सचिवालयका ती सदस्य भन्छन्, ‘काठमाडौँ ३ मा हामीलाई गाह्रो छैन ।’

पार्टी संगठन र पकड क्षेत्र भएको हिसाबले कांग्रेसको पनि यहाँ सम्भावना निकै प्रबल देखिन्छ । जेन-जी आन्दोलन पछाडिको परिस्थितिले गर्दा कांग्रेसलाई केही धक्का लागेको स्थानीयवासी सन्तोष महर्जन बताउँछन् ।

कांग्रेस सभापतिमा गगन थापा आएपछि यहाँका उम्मेदवार रमेश अर्याललाई पनि स्थानीय जनताले चासोका साथ हेरेकोले यसै भन्न नसकिने अवस्था रहेको महर्जनको दाबी छ ।

‘कांग्रेसमा गगन थापा सभापति भएपछि रमेशजीलाई पनि चासोका साथ हेरिएको छ’, स्थानीय व्यवसायी रहेका महर्जन भन्छन्, ‘कुलमानजीको उम्मेदवारीले गर्दा यसपालि रमेशजीलाई गाह्रै अवस्थामा छ । पहिला त यहाँ सन्तोष दाईको अवस्था पनि राम्रै थियो तर उहाँले केही गर्न सक्नुभएन ।’

यहाँबाट एमालेले रामेश्वर फुयाँललाई अगाडि सारेको छ । २०७४ को बागमती प्रदेश सभामा निर्वाचित उनी ०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका हुन् । स्थानीय नेता रहेका उनलाई एमालेले अगाडि सारे पनि यहाँ एमालेको संगठन राम्रो देखिँदैन ।

यता युवा उम्मेदवार आउनुपर्छ भन्ने कुरालाई अगाडि सार्दै नेकपाले जनयुद्ध लडेका लडाकु निरज लामालाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ । युवामाझ लोकप्रिय र स्थानीयवासी उम्मेदवार भएकाले निरजले पनि केही भोट काट्न सक्ने दाबी गरिन्छ ।

कुलमान या राजुलाई कुनै न कुनै दलले सघाएको खण्डमा यी दुवैको जित सुनिश्चित हुने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग कांग्रेस र नेकपाको सहकार्य नहुने अवस्था देखिएको पार्टीका शीर्ष नेता बताउँछन् । कुलमानले एमालेसँग सहकार्य गर्ने अवस्था आए उनको जित सुनिश्चित हुने देखिन्छ ।

तर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा कुलमानमाथि एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिशोध साँधेका कारण उनीहरूबीच सहकार्य गर्ने अवस्था टुटेको छ । स्रोतका अनुसार कुलमानसँग कांग्रेसका केही नेताहरू संवादमा भए पनि सहकार्यको लागि उचित सहमति भएको छैन ।

काठमाडौं-३ का मतदाता अहिलेसम्म अलमलमा छन् । उनीहरूले नयाँ उम्मेदवार र दललाई रोज्छन् या पुरानालाई, त्यो फागुन २१ को निर्वाचनपछि थाहा हुनेछ । काठमाडौं-३ नयाँलाई जिताउने तयारीमा रहेको देखिन्छ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : २५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।