किमको दोहोरो सन्देश : धम्की र संवाद « Khabarhub

किमको दोहोरो सन्देश : धम्की र संवाद


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा खतरा भए आफ्नो देशले दक्षिणलाई ‘पूर्ण रूपमा नष्ट’ गर्न सक्ने चेतावनी दिएको छ ।

तर त्यससँगै उनले संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि ढोका खुला रहेको संकेत पनि दिएको छ । यसले प्योङयाङको रणनीतिमा दबाब र संवाद दुवैलाई समानान्तर अघि बढाउने सन्देश दिएको छ ।

सत्तारूढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलनको समापन गर्दै किमले आगामी पाँच वर्षका नीतिगत लक्ष्य सार्वजनिक गरे। उनले आफ्नो आणविक क्षमता र नयाँ हतियार प्रणाली विकासलाई तीव्र बनाउने घोषणा गर्दै पानीमुनिबाट प्रक्षेपण गर्न सकिने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल, सामरिक आणविक हतियार र छोटो दूरीका क्षेप्यास्त्रहरूको भण्डार विस्तार गर्ने लक्ष्य प्रस्तुत गरे। 

उनका अनुसार पछिल्ला वर्षहरूमा भएको तीव्र हतियार विकासले उत्तर कोरियाको आणविक राष्ट्रको हैसियत ‘स्थायी रूपमा स्थापित’ गरिसकेको छ ।

यद्यपि किमले अमेरिकाले उत्तरप्रति अपनाएको ‘शत्रुतापूर्ण नीति’ त्यागेमा संवाद सम्भव रहेको बताए।

‘शान्तिपूर्ण सहअस्तित्व होस् वा स्थायी द्वन्द्व, हामी दुवैका लागि तयार छौँ’, उनले भने, ‘छनोट अमेरिकाको हातमा छ ।’

 उत्तर कोरियाले लामो समयदेखि अमेरिकी प्रतिबन्ध र आणविक निशस्त्रीकरणको मागलाई ‘शत्रुतापूर्ण नीति’ का रूपमा व्याख्या गर्दै आएको छ ।

विश्लेषकहरूका अनुसार किमको दक्षिणप्रति कडा भाषण प्रत्यक्ष युद्धको सङ्केतभन्दा बढी आफ्नो क्षेत्रीय प्रभाव र शक्ति दाबी गर्ने प्रयास हो । मस्को र बेइजिङसँग नजिकिँदो सम्बन्ध तथा बढ्दो आणविक शस्त्रागारको पृष्ठभूमिमा उनले सियोलसँगको कूटनीति लगभग अस्वीकार गरिसकेका छन् । 

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने प्योङयाङले सम्बन्धलाई निरन्तर शत्रुतापूर्ण रूपमा चित्रण गरिरहेकोप्रति खेद व्यक्त गर्दै शान्ति स्थापनाका प्रयास धैर्यपूर्वक जारी राख्ने जनाएको छ ।

सम्मेलनपछि राजधानी प्योङयाङमा सैन्य परेड गरिएको सरकारी समाचार एजेन्सीले जनाएको छ । करिब १३ वर्षीया छोरी किम जु एसँग परेड अवलोकन गर्दै किमले आफ्नो सेना कुनै पनि शत्रुतापूर्ण खतरा विरुद्ध ‘तुरुन्त र पूर्ण बदला’ लिन सक्षम रहेको दाबी गरे। यद्यपि सबैभन्दा शक्तिशाली हतियारहरू प्रदर्शन गरिएको विषयमा तत्काल विवरण सार्वजनिक गरिएको छैन ।

किमले सन् २०२४ यता दक्षिणसँगको शान्तिपूर्ण पुनर्मिलनको पुरानो लक्ष्य औपचारिक रूपमा त्याग्दै दक्षिणलाई स्थायी शत्रु घोषणा गरेका छन् । उनले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको संवाद प्रस्तावलाई ‘छल’ भन्दै अस्वीकार गरे । उत्तरले दक्षिणलाई साझा राष्ट्रको अवधारणाबाट ‘स्थायी रूपमा अलग’ गरेको उल्लेख गरे। उनका अनुसार दक्षिणले आफूलाई नउक्साए सुरक्षित रूपमा बस्न सक्नेछ ।

यसैबीच, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच हुने वार्षिक संयुक्त सैन्य अभ्यासले अर्को महिना तनाव थप बढ्न सक्ने देखिन्छ । प्योङयाङले यस्ता अभ्यासलाई आक्रमणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै प्रायः आफ्ना हतियार परीक्षण तीव्र पार्ने गरेको छ ।

पछिल्ला वर्षहरूमा उत्तर कोरियाले ठोस इन्धनयुक्त आइसिबिएम, सामरिक आणविक प्रणाली र कथित हाइपरसोनिक हतियार परीक्षण गरेको छ । सन् २०२३ मा पहिलो सैन्य उपग्रह प्रक्षेपण गरेको दाबी गरिएको थियो भने आणविक ऊर्जाचालित पनडुब्बी निर्माणमा प्रगति भएको पनि जनाएको छ । 

नयाँ लक्ष्यअन्तर्गत किमले कृत्रिम बौद्धिकता (एआई) युक्त आक्रमण ड्रोन, उन्नत जासुसी उपग्रह र इलेक्ट्रोनिक युद्ध क्षमता विस्तार गर्ने योजना प्रस्तुत गरे।

यसरी, प्योङयाङले एकातिर सैन्य शक्ति प्रदर्शन गर्दै दक्षिणप्रति कठोर अडान दोहोर्‍या ेएको छ भने अर्कोतिर वासिङ्टनसँग सर्तसहित संवादको सम्भावना खुला राखेको छ । किमको यो दोहोरो सन्देशले कोरियाली प्रायद्वीपमा तनाव र कूटनीति सँगसँगै अघि बढ्ने संकेत दिएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ४ : ५७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष