बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला « Khabarhub

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

रविले भने : तपाईंहरूलाई थाहै छ, हामी मिलाउन लागेका छौँ



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि बढ्दै गर्दा संसदीय दल र केन्द्रीय समिति फिका सावित भएका छन्।

बिहीबार बसेको यी दुई अलग कमिटीको बैठकमा बालेनलाई संसदीय दलको नेता चयन गर्ने निर्णय सर्वसम्मत भयो । सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र दलको नेता हुँदै गर्दा उनले पार्टी कमिटीमा सरकारको कुनै खाका प्रस्तुत गरेनन्। बैठकमा रविको प्रस्ताव सर्वसम्मत पारित भयो । उनैले बालेन्द्रलाई बधाई तथा शुभकामना दिए, अरू नेताहरूले ताली र घण्टी बजाए ।

तर वरिष्ठ नेताको नेतृत्वमा बन्न लागेको नयाँ क्याबिनेटबारे केन्द्रीय समिति र संसदीय दलको बैठकमा सहभागी नेताहरू बेखबर रहन पुगे । बैठकमा बालेनको क्याबिनेटबारे कुनै औपचारिक छलफल भएन । बालेनले पनि दलको नेता बन्दै गर्दा बैठकलाई सम्बोधन गर्न आवश्यक ठानेनन् । नेताहरूका नयाँ क्याबिनेटबारेको छलफल रवि र बालेनभन्दा तल आएकै छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलाइदिँदा अन्य नेताहरू भने अन्योलमा देखिएका छन् । केन्द्रीय समिति र संसदीय दलको बैठकमा लामिछाने र बालेन्द्र दुवैले सरकारबारे मुख खोलेनन्।

करिब २० मिनेट बसेको संसदीय दल र केन्द्रीय समिती बैठकमा पार्टी लामिछाने मात्रै बोले। लामिछाने बोल्दा सुरुमै सरकारमा पठाउने व्यक्तिहरूबारे दुईजना बसेर छलफल गरिरहेकाले विज्ञता र क्षमताको आधारमा चयन गर्ने आश्वासन दिए । उनले अन्य नेतालाई यतातिर ध्यान नदिन आग्रह गरे।

बैठकमा सहभागी सांसदहरूका अनुसार सुरूमै रविले सबैको मुखमा बुझो लगाइदिए। ‘यहाँहरूलाई चासो होला अब सरकार कस्तो बन्छ ? वरिष्ठ नेताज्यू र म निरन्तर छलफल गरिरहेका छौं। तपाईंहरू सबैको योग्यता, क्षमता र दक्षता हामीलाई थाहा छ। त्यहीअनुसार हामी सरकारमा पठाउँछौं,’ रविले बैठकमा भने, ‘यसपटक हामीलाई जनताले के गर्छन् भनेर हेरिरहेका छन्। डेलिभरी दिनेलाई सरकारमा पठाउने तयारी गरेका छौं। गृहकार्य गरिरहेकाले सानो मन नगर्नुहोला, कसैलाई पक्ष र विपक्षमा पार्दैनौं।’

अर्का सांसदका अनुसार रविले यसो भनेपछि अरू नेताहरू कोही पनि बोलेनन्। वरिष्ठ नेता बालेनले पनि सभापतिको कुरा सुनेर प्रतिक्रिया जनाएनन्। ‘आजको बैठकमा सभापतिमात्रै बोल्नुभयो। अरू कसैले बोल्ने अवसर मिलेन,’ ती सांसद भन्छन्, ‘वरिष्ठ नेतासहित दुईजना उपसभापति र महामन्त्रीले पनि कुरा सुन्ने मात्रै काम गर्नु भयो । अरू सबैजना चुप लाग्यौँ।’

यता पार्टी सचिवालय एकजना नेताले एजेन्डामै नराखिएको विषयमा नेताहरूले नबोलेको जवाफ दिए । सरकारबारे दुई नेताबीच सकारात्मक वातावरणमा छलफल भइरहेको उनी बताउँछन्। मन्त्री पनि दुवै नेताले तय गर्ने जवाफ उनले खबरहबलाई दिए ।

बालेन्द्र र रविको सचिवालयका अनुसार दुवै नेताले रातभर सरकारमा पठाउने व्यक्तिको टुंग्याउने गरी छलफल गर्दैछन्। अहिलेसम्म उपसभापति तथा महामन्त्रीसहित अरू नेतालाई दुई नेताको छलफलमा राख्ने सम्भावना छैन।

‘सबै अधिकार लिएर दुई नेतालाई नै टुंग्याउने भन्दै उहाँहरू जुट्नु भएको। अहिलेसम्म अरू नेता जोडिने जानकारी छैन,’ बालेनको सचिवालयका एक सदस्यले भने, ‘दुई नेताबीचको कुराकानी केही पनि बाहिर आएको छैन। नमिलेका कुरा पनि उहाँहरूले आफैं मिलाउनुहुन्छ।’

दुई नेताहरूबीच कुरा नमिल्दा केन्द्रीय समिति र सचिवालयलाई टुंग्याउने अधिकार नदिएको बताउँछन्। ‘दुई नेताहरूबीच कुरा नमिल्दा सचिवालयले मिलाउने अधिकार हुनुपर्ने हो, तर अहिले दुई नेताले नै निर्णय गर्ने अधिकार लिनु भएको छ,’ पार्टीका एक शीर्ष नेताले भने, ‘यस पटक नयाँ अभ्यास गर्न खोजिएको छ। आशा गरौँ उहाँहरूले परिपक्व निर्णय गर्नुहुन्छ।’

कसैलाई छैन जानकारी

रास्वपामा शीर्ष नेताका रुपमा चारजनालाई सम्बोधन गरिन्छ। सभापति लामिछाने, वरिष्ठ नेता बालेन्द्र तथा दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याल। सभापति र वरिष्ठ नेतापछि उपसभापति, महामन्त्री र अन्य नेताहरू पर्दछन्। अहिलेसम्म कुनै नेतालाई दिने मन्त्रालय टुंगिएको थाहा छैन । मन्त्री बन्ने चर्चा भएका सांसद पनि अलमलमा छन् ।

‘हाम्रो पार्टीमा बिल्कुल नयाँ अभ्यास भइरहेको छ। कुन सांसदले कुन मन्त्रालय पाउँछ भन्ने जानकारी दुई नेतालाई मात्रै छ,’ एक नेताले भने, ‘सभापतिज्यूले केही नेताहरूसँग अनौपचारिक कुरा गर्नुभए पनि वरिष्ठ नेताज्यू कसैसँग सम्पर्कमा हुनु हुन्न। अहिलेसम्म दुवै नेताबीच नै टुंगिन बाँकी छ। मन्त्रालय टुंगिएको भए हामीलाई जानकारी छैन।’

सरकार बालेनको, पार्टी रविको

अहिले रास्वपामा ‘पार्टी रविले चलाउने र सरकार बालेन्द्रले चलाउने’ सहमति बनेको चर्चा छ। रास्वपा कोषाध्यक्ष लिमा अधिकारी र महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि यसबारे समझदारी रहेको बताएका छन्। नेताहरूका अनुसार सरकारमा पठाइने छनोट गर्दा एकले अर्कालाई हस्तक्षेप नगर्ने नीति बनेको छ।

केही नेताहरूका अनुसार बालेन्द्रले सरकारको जिम्मेवारी आफूले सम्हाल्ने र सभापतिले पार्टी सञ्चालन गर्ने प्रस्ताव राखेका छन्। ‘वरिष्ठ नेताज्यूले सरकार म चलाउँछु, पार्टी तपाईं चलाउनुहोस् भन्नुभएको छ,’ एक नेताले भने, ‘तर यसलाई एकल निर्णयका रूपमा बुझ्नु हुँदैन। दुवैबीच राम्रो समन्वय छ।’

यद्यपि अन्तिम समयसम्म जानकारी नदिँदा पार्टीभित्र रवि र बालेन्द्रको एकलौटी शासन हुने चिन्ता देखिएको नेताहरू बताउँछन् । ‘हामीकहाँ पुराना पार्टीजस्तो अन्तिममा मात्रै जानकारी दिने अभ्यास नहोस् भन्ने चाहना छ,’ एक नेताले भने, ‘भोलिसम्म स्पष्ट हुने अपेक्षा गरेका छौं।’

शपथबारे बेखबर

बालेन्द्रले शुक्रबार प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्। उनीसँगै मन्त्रिपरिषद् पनि गठन हुने भएको छ। मन्त्रिपरिषद् १५ देखि १८ सदस्यीय बनाउने विषयमा छलफल भइरहेको छ । तर अझैसम्म सहमति भइसकेको छैन।

स्रोतका अनुसार प्रारम्भमै सबै मन्त्री नियुक्त गरेर केहीलाई एकभन्दा बढी मन्त्रालय दिने तयारी छ। ‘मन्त्रालयको संरचना शुक्रबार नै परिवर्तन हुँदैन, तर एक मन्त्रीलाई दुईवटा जिम्मेवारी दिन सकिन्छ,’ स्रोतले भन्यो, ‘अबको मन्त्रिपरिषद् बैठकबाट कानुनी प्रक्रिया पूरा गरेर मन्त्रालयको आकार घटाउने योजना छ।’

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ८ : १५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको