कांग्रेसको ‘जरा अभियान’ सकिन हप्ता दिन बाँकी, करिब दुई लाखले गरे अद्यावधिक, ६ लाख बढी अझै बाहिर « Khabarhub

कांग्रेसको ‘जरा अभियान’ सकिन हप्ता दिन बाँकी, करिब दुई लाखले गरे अद्यावधिक, ६ लाख बढी अझै बाहिर



काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने जरा अभियान’ सुरु गर्‍यो। उक्त अभियानको मुख्य उद्देश्य पुराना क्रियाशील सदस्यता डिजिटल्ली (विद्युतीय माध्यमबाट) अद्यावधिक गर्नु थियो। योसँगै नयाँ सदस्यता वितरण तथा नागरिक संवादलगायतका विषय पनि यस अभियानमा समेटिए। योजनाअनुरूप सदस्यता अद्यावधिक नगरिएपछि जेठ २१ गतेसम्मका लागि समय थप गरिएको छ। उक्त समय आउन अब १० दिन मात्रै बाँकी छ। तर, जरा अभियान भने जरासम्म पुग्न सकेको छैन।

‘सदस्यता अद्यावधिक गर्न पार्टीबाट निर्णय भएको छ। हामीले कसरी गर्ने जानेका छैनौँ। ओटीपी नम्बर के–के आउँछ भन्ने हो। नजान्दा अन्योलको अवस्था छ,’ स्याङ्जाको चापाकोट नगरपालिका–६ का वडा सभापति पर्शुराम गिरीले बताए।

उनको उक्त गुनासो सम्बोधन गर्न जेठ ११ गते बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले विभिन्न जिल्लामा १३ जना केन्द्रीय सदस्यलाई सहजकर्ताको जिम्मा दिने निर्णय गरेको छ।

जेन–जी आन्दोलनको रापतापपछि गत पुसमा नेपाली कांग्रेस विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनमा गयो। ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनमा महामन्त्री रहेका गगनकुमार थापा पार्टी सभापति बने। नयाँ युगको चेत र पुरानो पुस्ताले आर्जेको गौरवलाई जोड्न सक्ने दाबी उनको थियो। तर, फागुन २१ मा भएको निर्वाचनको नतिजाले भने उनीसँगै कांग्रेसलाई इतिहासकै लज्जास्पद हार दियो। सो हारबाट टाउको उठाउन नसकेका सभापति थापा महिनादिनपछि मात्रै सक्रिय भूमिकामा फर्किए।

२०७९ को निर्वाचनमा ८९ सिट पाएकोमा ३८ सिटमा साँगुरिएको कांग्रेस सुधार्न उनले सर्वप्रथम केन्द्रमा विभिन्न समिति विस्तार गरे। जेन–जी आन्दोलनको आडमा नेतृत्व परिवर्तनमा होमिएका उनले पार्टीलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै युवा आकर्षण बढाउनु पनि थियो। सोअनुरूप १५ औँ महाधिवेशनको मिति तोक्दै उनले नयाँ क्रियाशील सदस्यता वितरण र डिजिटल अद्यावधिक अभियान कार्यान्वयनमा लगे। जसबाट उनले कांग्रेस प्रविधिमैत्री बनेको सन्देश दिन खोजेको देखिन्छ। चैत १२ को उक्त निर्णयअनुसार महाधिवेशन असोज १६ देखि १९ गतेसम्म चल्नेछ।

उसो त थापाले निर्वाचनमा पार्टीका कार्यकर्ताले नै मत नदिँदा पराजित बन्नुपरेको अवस्था सुधार गर्न उक्त निर्णय गरेको बताइन्छ।

‘आफ्ना वरपरका मान्छेलाई रुखमा भोट हाल्न प्रेरित गर्नुपर्नेमा सदस्य साथीले अन्य पार्टीमा मत हाले। पार्टीका अधिकांश उम्मेदवार पराजित बन्नुपर्‍यो। जरा अभियानमार्फत पार्टीलाई मनैदेखि माया गर्ने कार्यकर्ताको यकिन हुन्छ,’ पार्टी प्रवक्ता देवराज चालिसेले प्रस्ट पारे।

महाधिवेशनअगाडि म्यानुअल्ली (कागजी रूपमा) सदस्यता वितरण तथा नवीकरण गर्ने कांग्रेसको पुरानै अभ्यास हो। १४ औँ महाधिवेशनमा कांग्रेसको सदस्यता सङ्ख्या ८ लाख ५२ हजार ७११ थियो। यस्तै, १५ औँ महाधिवेशनका लागि सदस्यता व्यवस्थापन गर्न तत्कालीन महामन्त्री थापालाई नै जिम्मा दिइएको थियो। सदस्यता व्यवस्थापन समितिका संयोजक सङ्केत रहेका उनले गत असारसम्म ८ लाख ७० हजार क्रियाशील सदस्यता पुर्‍याएको तथ्याङ्क केन्द्रीय समितिलाई बुझाएका थिए। सोअनुरूप पार्टीले प्रतिसदस्य २ जना मतदाता थप हुने आकलन राख्दछ।

२०७९ को निर्वाचनमा २७ लाख मत कांग्रेसको पोल्टोमा परेको थियो। जुन कांग्रेसको अनुमानअनुसार प्रतिसदस्यले आफूसहित थप २ जनाको मत थप्दा प्राप्त भएको आँकडासँग मिल्दोमुल्दो सङ्ख्या हो। यसोगर्दा २५ लाख ५८ हजार १३३ मत गुमेको छ। यसैगरी १५ औँ महाधिवेशनका लागि अद्यावधिक भएको सदस्यता सङ्ख्याअनुसार फागुन २१ को चुनावमा पार्टीले २६ लाख १० हजार मत प्राप्त गर्नुपर्ने हो। तर, त्यसो हुन सकेन। समानुपातिकतर्फ पार्टीले जम्मा १७ लाख ५९ हजार १७२ मत मात्र पायो।

निर्वाचनमा पार्टीका सदस्यबाटै भएको घातबाट वास्तविक सदस्य पहिचान गर्न सभापति थापाले काठमाडौँबाट सदस्यता अद्यावधिक सुरु गर्दै उक्त एकमहिने ‘जरामा जाऔँ अभियान’ सुरु गरेका थिए।

१५ औँ महाधिवेशनका लागि अद्यावधिक भएको सदस्यता सङ्ख्याअनुसार फागुन २१ को चुनावमा पार्टीले २६ लाख १० हजार मत प्राप्त गर्नुपर्ने हो। तर, त्यसो हुन सकेन। समानुपातिकतर्फ पार्टीले जम्मा १७ लाख ५९ हजार १७२ मत मात्र पायो।

जसको विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले विरोध जनाउँदै आएको छ। कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको निर्णयमा ५ बुँदे असन्तुष्टि सार्वजनिक गर्दा सदस्यता अद्यावधिकको विषय पनि समेटेका छन्। यस्तै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विशेष महाधिवेशनअघि थापा स्वयम्ले निर्क्यौल गरेको सदस्यता विवरण लिएरै १५ औँ नियमित महाधिवेशनमा जानुपर्ने अडान राखेका छन्।

तोकिएको समयभित्रै उक्त अभियान सम्पन्न गर्न सभापति थापाको उपस्थितिमा जेठ ११ गते समितिको बैठकले विशेष निर्णय गरेको छ। प्रवक्ता चालिसेका अनुसार हालसम्म उक्त अभियानअन्तर्गत डिजिटल्ली सदस्यता अद्यावधिक गर्ने सदस्यको सङ्ख्या जेठ ११ गते दिउँसोसम्म १ लाख ७२ हजार कटेजस्तो देखिन्छ।

‘अहिलेसम्म पौने २ लाख कटेको छ, आज साँझसम्म यो सङ्ख्या २ लाख पुग्ने अनुमान छ,’ उनले भने।

उनका अनुसार इन्टरनेटका कारणले अद्यावधिकमा समस्या हुन सक्ने पहाडी र हिमाली गरी ३० जिल्लामा फारम पठाइएको छ। यस्तै, अद्यावधिकका लागि एआईमार्फत २४ घण्टे फोन सुविधा, क्यूआर कोड लगायतले त्यस्तो समस्या नहुने उनी बताउँछन्।

‘पार्टीले सहजताका लागि एआई, क्यूआरको सुविधा दिएको छ। त्यसैमाथि केन्द्रका साथीलाई पनि खटाइएको छ, पार्टीलाई भाइब्रन्ट बनाउने कुरा किन नगर्ने ?,’ उनले उल्टै प्रश्न गरे।

यसैबीच सदस्यता अद्यावधिक नगरेका सदस्यको हकमा १५ औँ महाधिवेशनमा उनीहरूलाई सहभागी गराउने–नगराउनेबारे सोधिएको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘पार्टीको निर्णय कसैले नमान्ने? आफ्नो रेकर्ड रहने काम किन नगर्ने? त्यसमा त फाइदै छ, कुनै घाटा हुने कुरा छैन। सबैले गर्नुपर्छ, गर्नुहुनेछ, यो सोच्नुपर्ने विषय होइन। यसरी सोच्नुपर्ने अन्य मुद्दा छन् नि!’

सदस्यता अद्यावधिक गर्दा परिचय खुल्ने कागजात, फोन नम्बर, फोटो लगायतलाई अनिवार्य गरिएको छ। सबैको फोन नम्बरसहितको तथ्याङ्क पार्टीको केन्द्रीय कार्यालयमा रहे पार्टीको धारणा प्रवाहमा सहज हुने उद्देश्य राखिएको उनको भनाइ छ।

सदस्यता अद्यावधिक गर्दा परिचय खुल्ने कागजात, फोन नम्बर, फोटो लगायतलाई अनिवार्य गरिएको छ। सबैको फोन नम्बरसहितको तथ्याङ्क पार्टीको केन्द्रीय कार्यालयमा रहे पार्टीको धारणा प्रवाहमा सहज हुने उद्देश्य राखिएको उनको भनाइ छ।

अद्यावधिकलाई प्रभावकारी बनाउन भौतिक रूपमा उपस्थित हुन नपर्ने व्यवस्था भए पनि रुजु भने वडा सभापतिले गर्नुपर्नेछ। जसका लागि मोबाइल एप, क्यूआर वा पार्टी कार्यालयले उपलब्ध गराएको नम्बरमा सम्पर्क गरेर अद्यावधिक गराउन सकिनेछ।

यस्तै, सभापति थापाले उक्त अभियानमा सहयोग नगर्ने करिब ५० वडा सभापतिलाई उक्त जिम्मेवारीबाट हटाएको इटहरीमा भएको प्रदेशस्तरीय कार्यक्रममा बताइसकेका छन्।

‘हिजो मैले करिब ५० जना वडा सभापतिको ठाउँमा नयाँ साथीलाई क्रियाशीलसम्बन्धी काम गर्न जिम्मेवारी दिएको छु,’ उनले कार्यक्रम सम्बोधन गर्दै भने।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १० : ४८ बजे

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

एजेन्सी– अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी

 विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक

दलित समुदाय : सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर– मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस धनुषा जिल्लामा