क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा « Khabarhub

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहलहरू सार्वजनिक गर्दै क्वाड सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरेका छन् । नयाँदिल्लीमा भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्कर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी र अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङबीच भएको उच्चस्तरीय वार्तापछि यी पहलहरू सार्वजनिक गरिएको हो ।

बैठकमा चारै देशले क्षेत्रीय स्थिरता, आपूर्ति शृङ्खला र रणनीतिक सहकार्यलाई प्राथमिकतामा राख्दै साझा कार्यक्रम अघि बढाउने सहमति जनाएको बताइएको छ । वार्ता सम्पन्न भएपछि अमेरिकी विदेशमन्त्री रुबियोले इन्डो–प्यासिफिक समुद्री निगरानी पहलको घोषणा गरे । यसअन्तर्गत चार देशबीच निगरानी क्षमताको एकीकरण र वास्तविक–समय सूचना आदान–प्रदानलाई सुदृढ पारिनेछ । साथै, प्रशान्त टापु राष्ट्र फिजीसँग सहकार्य गर्दै बन्दरगाह पूर्वाधार स्तरोन्नति गर्ने पहिलो संयुक्त क्षेत्रीय परियोजना पनि अघि बढाइने उनले जानकारी दिए ।

त्यसैगरी, ऊर्जा आपूर्ति प्रणालीलाई सुरक्षित र स्थिर बनाउन इन्डो–प्यासिफिक ऊर्जा सुरक्षा पहल सुरु गरिएको छ । अमेरिकी पक्षले यसै वर्ष क्वाड इन्धन सुरक्षा फोरम आयोजना गर्ने तयारीसमेत गरेको रुबियोले बताए । उनका अनुसार यो साझेदारी अमेरिकी विदेश नीतिको प्रमुख आधारमध्ये एक हो र यसलाई अझ व्यावहारिक तथा परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । क्वाड समूह अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक सहकार्य संरचना हो ।

यसले समुद्री सुरक्षा, आपूर्ति शृङ्खला र क्षेत्रीय रणनीतिक सन्तुलनमा सहकार्य गर्दै आएको छ । चीनले इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो सैन्य तथा आर्थिक प्रभाव विस्तार गरिरहेकै सन्दर्भमा यो समूहको सक्रियता बढ्दै गएको देखिन्छ । समूहले बारम्बार दक्षिण चीन सागरमा चीनको सैन्य गतिविधि र क्षेत्रीय दाबीलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ ।

चीनले भने आफ्ना गतिविधिलाई रक्षात्मक र सार्वभौमिक अधिकारको संरक्षणका रूपमा व्याख्या गर्दै क्वाडलाई आफ्नो आर्थिक तथा रणनीतिक प्रभाव नियन्त्रण गर्ने प्रयासका रूपमा चित्रण गर्ने गरेको छ । यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणपछि केही दिनमै भएको हो र अन्तर्राष्ट्रिय समुदायले यसलाई वासिङ्टनको चीन नीतिमा सम्भावित परिवर्तनको सङ्केतका रूपमा नजिकबाट नियालिरहेको छ ।

वार्ताअघि रुबियोले क्वाडलाई केवल संवादको मञ्च नभई ठोस कार्यान्वयन गर्ने संरचनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनका अनुसार महत्त्वपूर्ण खनिज, समुद्री सुरक्षा र रणनीतिक आपूर्ति शृङ्खलाजस्ता क्षेत्रमा थप व्यावहारिक कदम आवश्यक छन् । उनले यसै वर्ष चार नेताहरूको शिखर सम्मेलनका लागि तयारी भइरहेको भए पनि मिति भने तय नभएको जानकारी दिए ।

यसअघि गत वर्ष भारतमा हुने भनिएको क्वाड शिखर सम्मेलन व्यापार शुल्कलगायत अमेरिका–भारत सम्बन्धमा देखिएको तनावका कारण स्थगित भएको थियो । भारतका विदेशमन्त्री जयशङ्करले यस बैठकलाई ‘उच्च मूल्यको अभ्यास’ भन्दै क्षेत्रीय समुद्री व्यापार, ऊर्जा, मल आपूर्ति र महत्त्वपूर्ण खनिज विषयमा गहिरो छलफल भएको बताए । उनका अनुसार इन्डो–प्यासिफिकमा आर्थिक गतिविधि तीव्र रूपमा बढ्दै जाँदा क्वाडको जिम्मेवारी पनि सोही अनुपातमा विस्तार भइरहेको छ, जसका लागि चारै देश तयारी अवस्थामा रहनुपर्ने आवश्यकता छ ।

बैठकमा इरानसँग सम्बन्धित द्वन्द्व र हर्मुज जलघाँटी हुँदै हुने ऊर्जा आपूर्तिमा देखिएको अवरोधबारे पनि छलफल भएको बताइएको छ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो आर्थिक तथा रणनीतिक दबाबप्रति चिन्ता व्यक्त गर्दै कुनै पनि अवरोध वा शुल्क प्रणालीले क्षेत्रीय ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिइन् । उनले जलमार्गको स्वतन्त्रता कायम राख्नुपर्ने आवश्यकता दोहोर्‍याउँदै इरानद्वारा सम्भावित शुल्क वा नियन्त्रण योजनाप्रति असहमति जनाइन् । उनले क्वाडलाई स्वतन्त्र, खुला र नियम–आधारित इन्डो–प्यासिफिक निर्माण गर्ने साझा प्रतिबद्धता भएको संरचना भन्दै चार राष्ट्रबीच बढ्दो रणनीतिक समन्वयले क्षेत्रीय स्थायित्वमा योगदान दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ५ : ०४ बजे

वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर

काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारोको क्यान्सर देखिएको

हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

दाङ– रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

युद्धविराम कोसिसबीच अमेरिका, इरान र इजरायलले के भने ?

काठमाडौं- अमेरिका, इरान र इजरायलको तनावबीच तीनै पक्षबाट महत्वपूर्ण भनाइहरू

रास्वपा महामन्त्रीले भने- प्रधानमन्त्री एक हप्ताभित्रै संसद्‌मा आउनुहुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा नै सरकारी कामकाजी

फिक्कल– इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको