कांग्रेसको कलह : एकताको हलो अड्काएर एकअर्कालाई चुनौती दिँदै दुवै पक्ष « Khabarhub

कांग्रेसको कलह : एकताको हलो अड्काएर एकअर्कालाई चुनौती दिँदै दुवै पक्ष



काठमाडौं- गत पुस अन्तिम भएको दोस्रो विशेष महाधिवेशनयता नेपाली कांग्रेस अशान्त छ । निर्वाचन आयोग र अदालतले विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई मान्यता दिइसकेको छ। तर फागुन २१ गतेको निर्वाचनमा ठूलो धक्का व्यहोरेपछि विशेष महाधिवेशनबाट बढारिएको इतर पक्षले दबाब बढाउने मौका पाएको छ ।

अर्थात् तत्कालीन संस्थापनबाट एउटा समूहमा परिणत भइसकेको शेरबहादुर देउवा र पूर्णबहादुर खड्कहरूको असन्तुष्टि साम्य भएको छैन ।

यतिबेला पक्ष आपसी छलफलभन्दा पनि समानान्तर गतिविधिमार्फत् शक्ति प्रदर्शनमा तल्लीन छन् । इतर समूहका मुखिया तथा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का कर्णाली प्रदेशमा आयोजित भेलामा सहभागी हुन गृह जिल्ला सुर्खेत पुगेका छन् ।

यता संस्थापन सभापति थापा पनि पार्टीका विभिन्न कार्यसमितिका बैठक तथा प्रदेशस्तरीय भेलामै व्यस्त छन् । इतर समूहलाई समेट्न उनले हालसम्म गम्भीर प्रयास गरेका छैनन् । इतर समूह पार्टी मिलाउने कुरामा सभापति थापाको परिणाममुखी प्रयास नभएको आरोप लगाउँछन् ।

यस्तैबीच सभापति थापाले नेता डा. शेखर कोइराला र पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षबाट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरे ।

देउवा निकटस्थ उमेश श्रेष्ठलाई कोषाध्यक्षमै दोहोर्‍याए । उनको यो निर्णयलाई पार्टी एकताभन्दा इतर पक्षलाई कमजोर पार्न गरिएको प्रयासका रुपमा टिप्पणी भएको छ।

संस्थापन पक्षले एकतार्थ इतर समूहसँग विभिन्न पदसहित प्रस्ताव गरेको चर्चासमेत कांग्रेस वृत्तमा छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले नेता डा. कोइरालालाई गरेको उक्त प्रस्तावमा इतर पक्ष राजी भएन ।

यसबारे पार्टी प्रवक्ता देवराज चालिसेले जवाफ दिएका छन् । उनले उक्त कुरा पार्टीको औपचारिक निर्णयभन्दा व्यक्तिगत प्रयासका रुपमा रहेको टिप्पणी गरे।

‘हिजो एकै कार्यसमितिमा बसेर काम गरेका साथीहरू हौँ । विचार भिन्न हुँदा अहिले एकै ठाउँमा छैनौँ । फरक विचारको कांग्रेसले जहिले पनि सम्मान गर्छ । साथीहरूले त्यसमा साझा भावना बनाउन व्यक्तिगत रूपमा विभिन्न प्रयास गरिरहनुभएको छ । उक्त कुरा पनि त्यही भेट हो,’ उनले प्रष्ट पारे ।

खबरहबकर्मीसँगको कुराकानीको क्रममा उनले इतर नेता डा. कोइरालासँग महामन्त्री पौडेलले उक्त प्रस्ताव लिएर गएको स्वीकारे । उनका अनुसार पूर्वउपसभापति खड्कासँग वार्ता भएको छैन ।

व्यक्तिभन्दा समग्र कांग्रेसकेन्द्रित भएर विचार गर्न सकेमा सबै एकै छानामुनि अटाउन व्यवधान नरहने उनको तर्क छ।

‘व्यक्तिभन्दा पार्टी सेन्ट्रिक भएर सोचिए समाधान छ । हरेक व्यक्तिका अडानले एक हुँदैन,’ पार्टी विधानअनुरूप चल्ने हुँदा त्यसबाहिर गएर कसैको लागि कांग्रेसले निर्णय नगर्ने उनले बताए। ।

अग्रज नेताहरूको मर्यादा कायम गर्न कहिल्यै कन्जुस्याइँ नगर्ने उनले बताए । ‘नेताले पार्टी र देशप्रति गरेको देनको कांग्रेसले सधैँ सम्मान गर्छ । यो हाम्रो कर्तव्य र दायित्व पनि हो,’ उनी थप्छन्, ‘विशेष महाधिवेशनबाट बनेको कार्यसमिति बाहिर रहेकाको हकमा पनि त्यही कुरा लागू हुन्छ ।’

यस्तै, निवर्तमान केन्द्रीय सदस्य मीन विश्वकर्माले कोइरालाले राखेका पाँच बुँदे प्रस्ताव नै निवर्तमान सभापति खड्काले पनि अघि सार्ने पक्का रहेको खुलाए ।

‘पूर्ण दाइसँग उहाँहरूको भेट भएको छैन । शेखर दाइसँग भेट भएको मैले पनि सुनेँ । सुन्दा शेखर दाइ र पूर्ण दाइले गर्ने रेस्पोन्स एउटै छ,’ उनले प्रष्ट पारे ।

पूर्वकार्यवाहक सभापति खड्का गृहजिल्लामा रहेकाले फर्किएपछि दुई पक्षबीच भेटवार्ता हुने उनले आशा व्यक्त गरे ।

‘पूर्ण दाइ परिवारमा शोक परेर सुर्खेत जानुभयो । कर्णालीको सभा सकेर १२ गते फर्किनुहुन्छ । १४/१५ तिर भेट हुन सक्ला,’ उनले भने ।

सबै समितिमा सभापति थापाकै नेतृत्वको वर्चस्व स्वीकार गर्ने इतर समूहको तयारी रहेको उनले बताए । ‘सभापतिकै बहुमत राखेर गर्ने परम्परा छ, त्यही गर्नुपर्छ । मूलभूत कुरा चौधौँ महाधिवेशनका साथीहरू थापा नेतृत्वको कार्यसमितिमा बस्न चाहेमा नछुटुन्, जबरजस्ती अनुपस्थित गराउने काम नहोस् भन्ने उहाँ दुईको कुरा हो,’ उनले खुलस्त पारे ।

संस्थापन पक्षले इतर समूहलाई समेट्ने हो भने महाधिवेशन हुँदासम्मको मितिका लागि कुनै पद सिर्जना गर्न जरुरी नरहेको उनले सुझाए ।

‘अहिले कुनै पद सिर्जना गर्ने विषय होइन, पार्टी एकताको कुरा हो । कार्यसमिति मर्ज गर्ने, कार्यसम्पादन समिति बनाउने, अधिवेशनको तिथिमिति तोकेर सदस्य व्यवस्थापन गर्ने, त्यसपछि मर्यादाक्रमको विषय स्वाभाविक आउँछ, अहिले छलफल गर्न जरुरी छैन,’ उनले भने ।

यसबारे प्रवक्ता चालिसेले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कसैलाई मनाउन कम्युनिस्टले जस्तो कमिटी भंग गर्ने काम नहुने बताए ।

‘विधान सबैले मान्नुपर्छ । अहिलेको नेतृत्वले पनि विधानअनुरूप नै काम गर्नुपर्छ, गरेको छ । विधानत: बनाएका कमिटी भंग गर्ने, नयाँ बनाउने कम्युनिस्ट पार्टीको जस्तो हुँदैन,’ उनले भने ।

भागबण्डा अडानमा इतर पक्ष सहमतिमा आउन नचाहेको भन्ने टिप्पणीबारे प्रश्न गर्दा उनले भने, ‘शीर्ष नेताबारे मर्यादाक्रमको कुरा हुन्छ होला । मुख्य कुरा कन्टेन्टमा जानुपर्‍यो । त्यो भनेको दुई समिति मर्ज गर्ने, बाँकी सन्तुलित बनाउने हो ।’

यस्तै, उनले दुवै पक्षको भेला छलफलमा पार्टी एकताबारे समान सवालजवाफ भइरहेकाले त्यसमा दुबै पक्षले ध्यान दिनुपर्ने बताए ।

‘संस्थापनलाई २/४ जना सदस्य मनोनीत गरिदिएपछि इतर कमजोर हुन्छ भन्ने लागेको होला । इतर ठूलो भेला सम्मेलनमा धेरैको सहभागिता देखाउन सके संस्थापन कमजोर हुन्छ र बार्गेनिङ गर्न पाइन्छ भन्ने होला । यो राजनीतिमा वार्ताको वातावरण बनाउने दाउपेच नै हो । त्यसलाई स्वाभाविक मान्छौँ । वार्ताका क्रममा दुवै पक्षका भेलामा साथीहरूले मिल्नुपर्ने बताउँदै आउनुभएको छ, त्यसमा ध्यान पुगे कांग्रेस बलियो हुन्छ,’ उनले भने ।

उनका अनुसार पार्टी एकताका लागि भएको प्रयासमा संख्या नै तोकेर दुवै पक्षबाट प्रस्ताव गरिएको छैन ।

‘५०/६० जना साथीहरू गइसक्नुभएको छ । केही नेताले विश्राम पनि लिनुहुन्छ, केही जान चाहनु हुन्न । करिब ९०/९५ जना साथीहरू बाहिर भएकाले पद सिर्जना भन्दा सन्तुलित र सम्मानजनक सहभागिता पक्का गरौँ,’ उनले भने । उक्त विषयमा सभापति थापासमेत सकारात्मक रहेको उनको बुझाइ छ ।

सभापति थापाको बाह्य अभिव्यक्तिले पार्टी मिलानको सन्देश दिएकोमा उनी आशावादी बने । ‘सभापतिले कार्यक्रममा बोलेका कुरा सकारात्मक छन्, अब त्यसलाई नेताहरूसँग बसेर १, २, ३, ४ के गर्ने भनिसकेपछि आधार बन्छ,’ उनले आशा व्यक्त गरे ।

यस्तै, पूर्वपरराष्ट्रमन्त्री तथा केन्द्रीय कार्यसमिति सदस्य एनपी साउदले दुई पक्षबीच परिणाममुखी वार्ता हुन नसक्दा पार्टी एकता लम्बिएको दाबी गर्छन् ।

‘विवाहको जन्ती जाँदा बाटोमा भएको भेटको गफलाई दुई पक्षसँग वार्ता भयो भन्न मिल्दैन । पार्टी सभापतिले निवर्तमान कार्यवाहक सभापतिसँग २ पटक भेटवार्ता गर्नुभएको छ । यस्तै, वरिष्ठ नेता डा. शेखर कोइरालासँग पनि भेटघाट गर्नुभएको छ । तर त्यसको प्रतिफल केही ननिस्किएकाले फलदायी वार्ता भएको छैन,’ उनले भने ।

छिट्टै समाधानको विकल्प नखोजिए पार्टी अहिलेकै दुई समूह जाने उनको चेतावनी छ । ‘सबैलाई सम्मान हुने अवस्था बनेपछि महाधिवेशनमा जान २/४ महिनालाई कसैले पद मागेको होइन । नयाँ व्यवधान सिर्जना गरेर पार्टी अगाडि बढाउन खोजिए एउटा ग्रुपको मात्रै हुन्छ,’ यसमा सभापति थापा थप जिम्मेवार हुनुपर्छ।

सभापति थापा र पूर्वउपसभापति खड्काले ६ र १९ वैशाख गरी जम्मा दुई पटकमात्रै भेटवार्ता गरेका छन् । तर ठोस निकास निकालेका छैनन्।

यस्तै ११ जेठमा सभापति थापाको उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन समितिले सातै प्रदेशमा पदाधिकारी खटाएर तोकिएकै मितिभित्रै क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय गरेको छ ।

यसबारे इतर समूहले भने १४औँ महाधिवेशनका लागि संकलित विवरणबाटै अघि बढ्नुपर्ने अडान राखेको छ । नेता डा. कोइरालाको पाँच बुँदे निर्णयमा पनि त्यो विषय समेटिएको छ ।

‘पार्टीलाई समयानुकूल डिजिटल बनाउने निर्णय किन नमान्ने ? आफ्नो रेकर्ड रहने काम किन नगर्ने ? त्यसमा त फाइदा छ, कुनै घाटा हुने कुरा छैन । यो सोच्नुपर्ने विषय होइन । यसरी सोच्नुपर्ने अन्य मुद्दा छन् नि !,’ पार्टी प्रवक्ता चालिसेले भने ।

उनका अनुसार १ वैशाखदेखि सुरू गरिएको क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक तथा वितरण अभियानमा हालसम्म २ लाख बढी सहभागी भइसकेका छन् ।

त्यस क्रममा पार्टीले उक्त काममा असहयोग गर्ने वडा तथा जिल्ला सभापतिलाई जिम्मेवारीबाट मुक्त गरेको छ भने उनीहरूको ठाउँमा नयाँ प्रतिनिधि नियुक्त गरिएको छ ।

‘मैले करिब ५० जना वडा सभापतिको ठाउँमा नयाँ साथीलाई क्रियाशीलसम्बन्धी काम गर्न जिम्मेवारी दिएको छु,’ सभापति थापाले इटहरीमा भएको प्रदेशस्तरीय कार्यक्रम सम्बोधन गर्दै भनेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ६ : ४० बजे

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ

‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक

काठमाडौं – गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को ट्रिजर

निजी क्षेत्रलाई निर्धक्क भएर व्यवसाय गर्न सरकारको आग्रह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी