काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सुनसरीको देवानगञ्ज र हरिनगरमा भएको हिंसात्मक झडप तथा प्रहरीको गोलीबाट नागरिकको मृत्यु भएको घटनाले देशको आन्तरिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्।
सोमबार फेसबुकमा धारणा राख्दै सांसद ओलीले स्थानीय स्तरका सानातिना तनावलाई समयमै पहिचान र व्यवस्थापन गर्न सुरक्षा संयन्त्र सक्षम छ कि छैन भन्ने विषयमा सुनसरी घटनाले गम्भीर चेतावनी दिएको उल्लेख गरेकी छन्।
“एउटा स्थानीय विवादमा केही घण्टामै प्रहरीको गोली चल्ने, नागरिकको ज्यान जाने र पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाउनुपर्ने अवस्थासम्म पुग्नु सामान्य घटना हुन सक्दैन,” ओलीले भनेकी छन्, “यो हाम्रो आन्तरिक सुरक्षा संयन्त्रका लागि गम्भीर चेतावनीको संकेत हो।”
राष्ट्रिय सुरक्षाको पहिलो आधार नागरिकको दैनिक सुरक्षा, सामाजिक सद्भाव, सामुदायिक विश्वास र समयमै द्वन्द्व व्यवस्थापन भएको उल्लेख गर्दै उनले सानो असावधानीले पनि स्थानीय तनावलाई व्यापक साम्प्रदायिक वा राजनीतिक द्वन्द्वमा रूपान्तरण गर्न सक्ने खतरा औंल्याएकी छन्।
गृह मन्त्रालयले यो घटनालाई नियमित प्रशासनिक चुनौतीका रूपमा मात्र नहेरी आन्तरिक सुरक्षाको रणनीतिक प्रश्नका रूपमा लिनुपर्ने उनको भनाइ छ। यस्ता घटना दोहोरिन नदिन प्रारम्भिक सूचना संकलन, जोखिम विश्लेषण, समुदायसँगको समन्वय र संयमित सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन उनले जोड दिएकी छन्।
राप्रपा सांसद ओलीले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आन्तरिक सुरक्षा प्रणालीमा संस्थागत सुधार गर्न सरकारसँग माग गरेकी छन्।












प्रतिक्रिया